चोलेन्द्रको बयान–‘रन्जन कोइरालाको फैसलाबारे क्षमा चाहान्छु, मलाई प्रायश्चित भएको छ’

लोकपथ
78
Shares

काठमाडौं । महाअभियोगको सामना गरिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतवार पनि महाअभियोग सिफारिस समितिसमक्ष बयान दिएका छन् । सिफारिस समितिमा आज तेस्रो दिन उनले बयान दिएका हुन् ।

प्रतिनिधिसभाले गठन गरेको समितिले आइतवार जबरासँग पाँचवटा प्रश्न सोधेको थियो । ४३ वटा प्रश्न तयार गरेको समितिले यसअघिका दुई बैठकमा ६ वटा प्रश्न सोधेको थियो ।

आइतवार समितिले श्रीमतीको हत्यापछि प्रमाण नष्ट गर्न जलाएको अभियोगमा जेल सजाय भोगिरहेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रन्जन कोइरालालाई सजाय कम गर्नेगरी गरेको फैसलाबारे प्रश्न गरेको थियो । जवाफमा जबराले उक्त फैसलाप्रति माफी माग्दै आफूले प्रायश्चित गरेको बताए ।

रन्जन कोइरालालाई कम सजाय गरियो भन्ने आरोपलाई अस्वीकार गर्दै उनले भने, ‘यो आरोप शतप्रतिशत गलत छ । कर्तव्य ज्यान गरेको भन्ने नै सदर गरेको हो । जन्मकैद मुलुकी व्यवस्थाअनुसार सजायमा विवेक प्रयोग गर्ने अधिकारको प्रयोग भएको हो ।

पारिवारिक कुरा र नाबालक छोरा भएको र बच्चाहरुलाई ख्याल गरेर २० बर्ष कैद सजाय भएकोमा ८ वर्ष ६ महिना बसिसकेको अवस्थामा दुई जना बच्चाको लागि न्यायाधीशले विवेक प्रयोग गरेको हो ।’ यस फैसलाप्रति जनतासँग माफी चाहने र आफूलाई प्रायश्चित लागेको जबराको बयान छ ।

‘कोइरालालाई कम सजाय तोकिँँदा विवेक प्रयोग गर्दा गल्ती भएको यसलाई महाअभियोग लगाइएको हो भने जनतासमक्ष क्षमा चाहान्छु र यसप्रति मलाई प्रायश्चित भएको छ,’ बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै जबराले भने । समितिको अर्काे बैठक २५ भदौमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?