एमाले उपमहासचिव गुरुङ फेरि प्रदेश सभामै उम्मेद्वार बन्ने

लोकपथ
0
Shares

लमजुङ । नेकपा एमालेका उपमहासचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङ पुनः प्रदेश सभा सदस्यका लागि उम्मेद्वार सिफारिस भएका छन् ।

२०७४ को निर्वाचनमा लमजुङबाट प्रदेश सभा (ख) बाट चुनाव जितेर गण्डकी प्रदेशका मुख्यमन्त्री भएका गुरुङलाई शनिवार सम्पन्न एमाले लमजुङको बैठकले प्रदेश क्षेत्र (ख) बाट प्रदेश सभाको उम्मेद्वारमा सिफारिस गरेको हो ।

एमाले लमजुङका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी पनि गुरुङसँगै प्रदेश सभा सदस्यको उम्मेद्वारका लागि सिफारिस भएका छन् ।

प्रदेशसभा (क) तर्फ वर्तमान प्रदेशसभा सदस्य एवम् नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी, बेसीसहर नगर कमिटीका अध्यक्ष राजकुमार विष्ट र जिल्ला कमिटीका उपसचिव जितबहादुर गुरुङको नाम सिफारिस भएको छ ।

लमजुङमा प्रतिनिधि सभामा एउटा मात्रै निर्वाचन क्षेत्र छ । प्रदेश सभातर्फ प्रेमबहादुर घले, मोहनहरी पौडेल, महेन्द्रलाल श्रेष्ठ, बमबहादुर थापा, फूलबहादुर थापा, नन्दराम विक, रञ्जित कुमाल, अमृत तामाङ, रामहरि दवाडी, गणेश पाण्डे, लक्ष्मी अधिकारी, यशोदा रिमाल, शान्ता भुजेल, लोका अधिकारी र राममाया थापा मगर सिफारिस भएका छन् ।

एमाले लमजुङले प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि संविधानसभा सदस्य जमीन्द्रमान घले र जिल्ला सचिव सुवास पौडेलको नाम सिफारिस गरेको छ ।

यस्तै, प्रतिनिधि सभाको समानुपातिकतर्फ संविधानसभा सदस्य टुकाभद्र हमालसहित कल्पना थापा र प्रेम दुरा सिफारिसमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?