पहिरोको उच्च जोखिममा पिपल चौर

लोकपथ
70
Shares

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–४ को पिपल चौरका प्रेमबहादुर रावल ठूलो पानी परे रातभर सुत्न पाउँदैनन् । निदाएको बेला घरमाथिको पहिरो खसेर बगाउने पो हो की भनेर जाग्रामै रात कटाउँछन् । उनले भन्छन्, ‘मेरो घर मात्रै होइन बस्ती नै पहिरोको जोखिममा छ ।’ बस्ती नजिकैको गाँरेखोलाको कटान तथा पहिरोले एक साथ क्षति गर्न थालेपछि पिपल चौर बस्ती उच्च जोखिममा परेको हो ।

पहिरो तथा खहरे खोलाको कटानले गर्दा बस्ती पिपल चौर बस्ती जोखिममा परेको स्थानीय रवीन्द्र गौतमले बताए । कालीमाटी–सिक्रे सडक निर्माण गर्दा यसको असर यहाँका ५० घरधुरीमा परेको गौतमको भनाइ छ । पहिरो रोकथाम तथा नियन्त्रण समयमै नगरिए ठुलो क्षति पुग्ने उनीहरूको भनाइ छ ।

पहिरो रोकथाम तथा नियन्त्रणमा कतैबाट पनि पहल हुन नसकेको पिपल चौरका राजेन्द्र रावलले बताए । यो पहिरो रोकथाम गरिएन भने यसबाट यहाँको उब्जाउ जमिन बगेर जाने खतरा रहेको उनको भनाइ छ । पहिरोले गर्दा यहाँका मानिस निकै त्रासमा छन् ।

वडा अध्यक्ष बद्री पन्तले पहिरोका कारण स्थानीयको घरजग्गा निकै जोखिम रहेको बताए । यो सबै जथाभावी सडक निर्माणका कारण भएको पन्तको भनाइ छ ।

नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले वडा तथा नगर सरकारले पिपल चौर पहिरोको विषयमा आवश्यक पहल गर्ने बताए । यसका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समेत माग गर्ने प्रमुख रावतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?