अनौठो मनोरोग: कन्भर्सन सिअर्डर (Conversion Disorder)

डा. समिर लामा
मनमा रहेका आन्तरिक मानसिक पीडाहरु विभिन्न शारीरिक लक्षणका रुपमा बाहिर देखिने रोगलाई कन्भर्सन डिसअर्डर (Conversion Disorder) भनिन्छ । हाम्रो समाजमा महिलाहरु खुल्लारुपमा आफ्नो समस्याहरु बताउन नसक्नु र पीडा सहेर बस्ने गर्नाले महिलाहरुमा यो रोग बढि देखिन्छ । त्यसो त पुरुषमा पनि यस्तो समस्या नदेखिने होइन । हाम्रो वर्षाैदेखिका तीतामिठा अनुभवहरु मस्तिष्कमा जम्मा भई बसेका हुन्छन् । कतिपय यस्ता समस्याहरु मनमा खुल्लारुपमा भने देखिदैनन् तर सपनामा वा अदृश्य रुपमा बोलीमा यी कुराहरु निस्कन्छन् । वास्तवमा यी बेहोसी मस्तिष्क (Subconscious mind) मा रहेका पीडादायी कुराहरु बिरामीलाई बाहिरी रुपमा थाहा नहुन पनि सक्छ । त्यसैले अचानक यी पीडादायक कुराहरु एकाएक शारीरिक लक्षणका रुपमा देखिन थाल्छन् । जस्तैः अचानक बोली रोकिने, अचानक हातखुट्टा नचल्ने, काम्ने र देवता चढेको जस्तो बक्ने आदी ।

यो रोग आफैंमा अनौठो मानिन्छ । किनभने बिरामीले केही समयको लागि अनौठो लक्षणहरु देखाउँछ र १÷२ घण्टामा बिरामी जस्ताको तस्तै हुन्छ । 

कतिपय यस्ता विरामीलाई बोक्सी लाग्यो भन्ने, कुखुरा, बोका बलि दिने चलन पनि छ, जुन ठिक होइन र एउटा अन्धविश्वास मात्र हो।

यो रोगका विरामीहरु कस्ता–कस्ता लक्षणहरु लिइ अस्पताल आउँछन् ?

यो रोगका लक्षणहरु विभिन्न थरिका हुनसक्छन । विरामीले ‘म अब फेन्ट हुनलागें भनेर अरुलाई बोलाउने र बेहोस हुने’, उ बोल्न नसक्ने हुने तर अन्य जाँचहरु गर्दा सबै ठिक हुने । विरामी काम्ने, अर्कै मानिस, देवता जसरी बोल्ने, सिकिस्त विरामी जस्तै हुने, अहिले नै ज्यान जाला जस्तो गर्ने गर्छन् । फेरी केही समयपछि जस्ताको तस्तै हुने । कोही विरामी अचानक आँखा नदेख्ने भएको बताउँछन् । कोही विरामी हात वा खुट्टा नचल्ने, हिंड्न नसक्ने भएको बताउँछन् । कोही विरामी शरीरको संवेदना थाहा पाउँदैनन् । जस्तै हातखुट्टामा छोएको थाहा नहुने । कोही बोल्न सक्दैनन् र इशारामा कुरा गर्छन् । कोही दमको रोगीको जस्तो छिटोछिटो श्वास फेर्छन् । कोही विरामी केही समयका घटनाका बारेमा केही थाहा नभएको बताउँछन् अर्थात् स्मरण हराएको भन्छन् । कोही विरामी अचानक अर्कै ठाँउमा पुग्छन् र त्यहाँ कसरी आएँ भन्ने कुनै जानकारी हुदैंन । कोही विरामी भने उल्टो कुरा गर्ने गर्छन् । सोधिएको प्रश्नलाई बंगाएर उत्तर दिने सजिलो प्रश्नको उत्तर नदिने तर गाह्रो प्रश्नको उत्तर दिने झुटो बोलेको जस्तो गर्ने गर्छन् ।

यो रोग किन हुन्छ ?

मानसिक तनावहरु विभिन्न शारीरिक लक्षणहरुमा परिणत हुने (psychological stress converts to physical symptoms ) भएकोले यसलाई कन्भर्सन डिसअर्डर (Conversion Disorder)भनिएको हो । यो रोग मनमा धेरै कुरा राख्ने र मनको कुरा अरुलाई नभन्ने मानिसमा बढि पाइन्छ । प्रेशर कुकरमा हावा भरिएर चाप बढि भइ अचानक सिट्ठी बजेजस्तै मानिसमा हुने मानसिक तनावले पनि बाहिर निस्कने बाटोको रुपमा शारीरिक लक्षणहरु देखिन्छन् । बेहोसी मस्तिष्क Subconscious mind वा भित्री मनमा रहेको अन्तरद्धन्द घटाउन गरिएको उपायको रुपमा यो रोगको लक्षणहरुलाई लिइन्छ । यो रोगले तत्कालीन तनावका साथै धेरै वर्ष अघिका तनावले पनि ल्याउन सक्छ ।
पहिले यो रोगलाई हिस्टेरिया Hysteria भनिन्थ्यो र यौनकुण्ठाका कारण यस्तो समस्या हुन्छ भनिन्थ्यो । तर यो कुनै पनि प्रकारका मानसिक तनावका कारण हुनसक्छ र महिलामा मात्र नभई पुरुषमा पनि यस्तो समस्या देखिनसक्छ । पुरै स्कुलका विद्यार्थीहरु अचानक बेहोस् हुन थालेको, देउता चढेको जस्तो बोल्न थालेको घटनाहरु बेला बेलामा समाचारमा सुन्न पाईन्छ, ती घटनाहरु यही रोगका कारण भएका हुनसक्छन ।

यो रोगको कसरी उपचार गरिन्छ ?

यो रोगको उपचार निकै चुनौतीपूर्ण हुनेगर्छ । विरामीको लक्षणलाई ध्यान दिईरहँदा त्यो अझै बढ्न जान्छ । यो रोगका लक्षणहरु देखिएको बेलामा विरामीको वरिपरि बसी आत्तिएमा लक्षणहरु अझै बढ्न जान्छन् । त्यसैले विरामीलाई अन्य कुरा गरी दिमाग र सोचाइ अन्ततिर मोड्नुपर्छ । विरामीलाई मनका कुरा खुल्ला रुपमा भन्न प्रोत्साहन गर्नुपर्छ । विरामीले रोगको सिकायत गर्छ, बढि हेरचाह खोज्छAttention seeking behavior भने त्यसलाई महत्व दिनु हुदैंन र निरुत्साहित गर्नुपर्छ । विरामीसँग सकेसम्म थोरै मानिस बस्नुपर्छ । विरामीलाई तत्काल अस्पताल लगी उपचार गराउनुपर्छ । यसरी विरामीको लक्षणलाई बेवास्ता गर्दा रोग निको हुन सहयोग गर्छ । साथै विभिन्न प्रकारका मानसिक अन्तरद्धन्द कम गर्ने औषधीहरुको पनि प्रयोग गर्ने गरिन्छ । साइकियाट्रिस्ट र साइकोलोजिस्टहरुसँग यो रोगको उपचार गराउनुपर्छ ।

यो रोग बारे जान्नैपर्ने कुराहरु :

यस्ता विरामीलाई कहिलेकाहीं अचानक श्वास फेर्न गाह्रो हुने, कहिले पूरै निको हुने र कहिले अत्यधिक बढ्ने हुन्छ । विरामीसँग धेरै मानिसको भीड गर्नुहुदैंन, विरामीको लक्षणलाई वास्ता गर्नुहुदैंन नत्र लक्षणहरु झन बढेर जान्छ । कति विरामीहरुमा यो समस्या बारम्बार दोहोरिन सक्छ । तर नआत्तिकन लगातार उपचार गराइरह्यो भने २÷३ हप्तामा यो समस्या विस्तारै निको हुन्छ । कतिपय विरामीलाई भूत चढेको, भनी बोक्सी लागेको भनी कुटपीट गर्ने, सजाय दिने गरिन्छ, जुन शतप्रतिशत गलत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?