नेपालको अर्थतन्त्र सिमित व्यापारिक घरानाको नियन्त्रणमा : वर्षमान पुन

लोकपथ
98
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपालको अर्थतन्त्र सिमित व्यापारिक घरानाको नियन्त्रणमा रहेको औंल्याएका छन् ।

त्रिभूवन विश्वविद्यालय अर्थशास्त्र विभागमा भिजिटिङ प्रोफेसरका रूपमा विद्यार्थीलाई कक्षा लिने क्रममा उपमहासचिव पुनले यस्तो औंल्याएकाहुन् । पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले अर्थतन्त्रको ठूलो हिस्सा सिमित घरानाका मुठीमा रहनुले मुलुकको आर्थिक विकासमा चुनौती खडा गरेको बताए ।

उनले अर्थतन्त्रको ठूलो हिस्सा सिमित घरानाको एकाधिकार हुन नहुने बताए । पुनले सिमित घेरामा मात्रै नभएर सबैमा प्रतिष्पर्धी बनाउनुपर्ने बताए । उनले नेपालमा अहिलेको लागि मिश्रित अर्थनीति नै राम्रो हुने बताए । पुनले राज्यले सकेसम्म एकाधिकार खालको पुँजीलाई नियन्त्रण कम गर्नुपर्ने बताए ।

उनले भने,‘मुलुकको अर्थतन्त्र एउटा सानो घेराले मात्रै सञ्चालन गरेर उनीहरुको स्वार्थमा अर्थमन्त्रीलाई सफल र असफल बनाउने खालको काम सानो समूहले खेल्छ भन्नेछ । तर त्यस्तो एकाधिकार हुनुहुँदैन । यसलाई प्रतिष्पर्धी नै बनाउनु पर्छ । हाम्रो लागि मिश्रित अर्थनीति राम्रो हो । यो अवस्थामा निजी क्षेत्रलाई पुँजी निर्माण गर्न प्रेरित गर्नुपर्छ । सरकारले करमा छुट दिने र सरकारले लोककल्याणकारी कामहरु गर्नुपर्छ । त्यसो गर्दा मात्रै ब्यालेन्स हुन्छ । सरकारले अरुलाई नियन्त्रण गर्ने भन्दा पनि सरकारले गर्नसक्छु भन्ने पुष्टि गर्नुपर्छ । राज्यले सकेसम्म एकाधिकार खालको पुँजीलाई नियन्त्रण कम गर्नुपर्छ ।’

पुनले नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएका विषय सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने बताए । उनले राष्ट्रपतिसँग बुधवार शीतल निवासमा भएको भेटमा अध्यक्ष पुष्पकमल दाहालसहित आफूहरूले नागरिकता विधेयकबारे पार्टीको धारणा स्पष्ट गरेको बताए ।

उनले वैवाहिक अंगीकृत नागरिकतामा महिला र पुरूषलाई बराबरी गर्न संविधान संशोधन गर्नुपर्ने बताए । पुनले संविधानमै नभएको विषय नागरिकता विधेयकमा आउनुपथ्र्यो भन्नु जायज नभएको बताए। उनले नेपाली पुरूषले विवाह गरेर ल्याएका विदेशी महिलाले अंगीकृत नागरिकता पाउने व्यवस्था भएपनि महिलाले विदेशी पुरूष विवाह गरेर ल्याउँदा के गर्ने भन्नेमा संविधान मौन रहेको उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?