कञ्चनपुरका ३ निर्वाचन क्षेत्र : कहाँ को बलियो ?

काठमाडौं । देशैभर आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको माहोलले छोएको छ । राजनीतिक पार्टी उम्मेदवार सिफारिस र चयनतर्फ होमिएका छन् । दलहरु चुनाबी अभियान, घोषणापत्र लेखनसहित निर्वाचन तयारीसँगै दिनहुँ छलफलमा केन्द्रित छन् ।

त्यससँगै एकातिर दलभित्र नेताहरु आन्तरिक रुपमा टिकटको लबिङमा छन् । उनीहरु स्थानीयदेखि केन्द्रीय तहसम्म टिकटका लागि शक्तिकेन्द्र धाइरहेका छन् । पटक–पटकका निर्वाचनमा उम्मेदवार बन्ने होडबाजी र निर्वाचनमा पराजित हुँदा पछिल्लो पिँढीले नेतृत्वप्रति असन्तुष्ट हुँदै वैकल्पिक राजनीति धार रोज्ने क्रम पनि बढ्दो छ ।

यतिबेला सरकारमा सहभागि दललाई सिट बाँडफाँटको मोडालिटी तय गर्न पेचिलो बन्दै गएको र उम्मेदवारको व्यवस्थापन गर्न सकस भइरहेका बेला स्थानीय स्तरमा टिकट कसले पाउला र कस्ले जित्न सक्छ भन्ने चर्चाको आँकलन हुन थालेको छ ।

आगामी राजनीतिको मियो कतातिर घुम्छ त्यो आगामी निर्वाचनको मत परिणामले नै बताउला । तर, ३ वटा प्रतिनिधि र ६ वटा प्रदेश सभामा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कुन दलको बलियो पकड छ, भन्ने विषय सन्दर्भमा केही तथ्यगत आधारलाई नियालौं ।

कञ्चनपुरमा २०४८ मा २ वटा निर्वाचन क्षेत्र थिए । त्यसयता, २०५१ पछिका संसदीय निर्वाचनमा ३ वटा क्षेत्र निर्धारण गरिएको थियो ।

कञ्चनपुर १ लाई फर्केर हेर्दा

कञ्चनपुर–१ मा २०४८ सालको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसका वासुदेव भट्ट १५ हजार ३६७ मत ल्याएर निर्वाचित भएका थिए । २०५१ मा भने, नेकपा एमालेका रामकुमार ज्ञवाली ११ हजार ४२५ मत ल्याएर निर्वाचित भए भने, नेपाली कांग्रेसका अमरसिंह थारुले ९ हजार २५४ मतसहित पराजित भए ।

२०५६ को आम निर्वाचनमा भने, नेपाली कांग्रेसले आफ्नो विरासत जोगायो, उक्त निर्वाचनमा नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउदले १३ हजार १०१ मत ल्याउँदै निर्वाचित भए, उनलाई नेकपा एमालेका उम्मेदवार रामकुमार ज्ञवालीले ९ हजार २१९ मतसहित पछ्याए । तेस्रो राजनीतिक शक्तिका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रामऔतार रानाले ६ हजार ३९७ मत ल्याएका थिए ।

त्यसयता, संविधान सभा निर्वाचन २०६४ मा नेकपा (माओवादी) का उम्मेदवार पुरन रानाथारु १४ हजार ७६५ मत विजय हुँदै माओवादी नयाँ राजनीतिक शक्तिका रुपमा उदायो भने, नेपाली कांग्रेसका अमरसिंह रानाले ११ हजार ७८१ मत ल्याएर पछि परे । दोस्रो संविधान सभा निर्वाचन, २०७० मा भने, कांग्रेसले फेरि आफ्नो अस्तित्व जोगायो ।

नेपाली कांग्रेसका दिवानसिंह विष्टले १० हजार २९४ मत ल्याएर निर्वाचित भए । नेकपा एमालेका लालबहादुर विश्वकर्माले ९ हजार २३६ मत ल्याएर दोस्रो भएभने, नेकपा माओवादीकी बीना मगर ९ हजार १५१ मतसहित तेस्रो भइन् । यसरी विगतको परिणामलाई हेर्दा २०४८, ०५६ र ०७० गरी ३ पटक नेपाली कांग्रेस संसदीय निर्वाचन जितेको थियो ।

भने, २०५१ पछिका निर्वाचन नेकपा एमाले ‘कमब्याक’ हुन सकेन । २०६४ र ०७४ मा नेकपा माओवादी केन्द्रले आफ्नो सिट सुरक्षित गरेको थियो । अहिले दलहरु पाँच दलीय गठबन्धनको मोर्चामा उभिएर सिट भागबण्डाको गृहकार्य भइरहँदा कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा माओवादीले दाबी गर्दै सिट सुरक्षित गर्न खोजिरहेको छ ।

गठबन्धनभित्रकै नेकपा (एकीकृत समाजवादी) ले समेत सिटमा दाबी गरिरहेको छ । यहाँको राजनीतिमा निकै हलचल तथा उतारचढाब आएको नियाल्न सकिन्छ ।

कञ्चनपुर १ मा को बलियो ?

सुदूरपश्चिममा राजनीतिक प्रभाव क्षेत्रका रुपमा हेर्ने गरिएको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा आगामी मंसिर ४ मा हुने निर्वाचनको सरगर्मीले छोएको छ । यस क्षेत्रमा आगामी संघ र प्रदेश निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । विभिन्न राजनीतिक दलबाट केन्द्रीय तहमा राम्रो छवि बनाएका प्रभावशाली नेताको क्षेत्रका रुपमा यहाँ सबैको नजर केन्द्रित छ ।

गठबन्धन दलभित्र टिकट र सम्भावित उम्मेदवारको नामको चर्चा भइरहँदा २०७४ कै चुनाव क्षेत्रमा फेरि पनि दोहोरिएर उम्मेदवार बन्ने होडबाजीमा छन् । कञ्चनपुर नम्बर १ मा अघिल्लो संघीय निर्वाचन २०७४ मा बाम गठबन्धन तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उम्मेदवार बीना मगरले ३८ हजार ४६७ मत ल्याएर निर्वाचित भएकी थिइन् ।

नेपाली कांग्रेसका देवानसिंह विष्टलाई दोब्बर मतान्तरले हराउँदै मगर विजयी भएकी थिइन् । विष्टले १९ हजार २ सय १९ मत प्राप्त गरेका थिए । राष्ट्रिय जनमोर्चाका लोकेन्द्रप्रसाद लम्सालले ८७१ मत ल्याएका थिए । अन्य दलहरु राष्ट्रिय जनता पार्टी नेपाल, विवेकशील साझा पार्टी, नयाँशक्ति पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, स्वतन्त्रसहितले १ हजार ७०६ मत ल्याएका थिए ।

यसक्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी बीना मगर यसपटक पुनः चुनावी मैदानमा उत्रिने चर्चा छ । यहाँ २०७० सालको निर्वाचनमा भने विष्टसँग बीना पराजित भएकी थिइन् । यस क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका वडाध्यक्षले १८ हजार ७७३ मतसहित अघि छन् ।

त्यस्तै, नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १८ हजार ७३२ मत प्राप्त गरेका छन् भने, नेकपा माओवादी केन्द्र १५ हजार २७९ मतसहित तेस्रोमा छ । नेकपा (एकीकृत समाजवादी) ३ हजार ५२१ मतसहित चौंथो स्थानमा रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्षका उम्मेदवारले २ हजार ६९२ मत प्राप्त गरेका प्राप्त गरेका थिए ।

के छ कञ्चनपुर २ को अवस्था ?

यहाँ २०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसका तारिणीदत्त चटौत निर्वाचित भएका थिए । २०५१ को आम निर्वाचनमा भने, उनी नेकपा एमालेका भोजराज जोशीसँग पराजित भए । जोशीले ११ हजार ८६३ ल्याउँदा नेपाली कांग्रेसका तारिणीदत्त चटौतले ७ हजार २०२ मत ल्याएका थिए ।

त्यसबेला राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो शक्तिका रुपमा पुग्यो । राप्रपाका उम्मेदवार विनोद विष्टले ५ हजार २६० ल्याए भने, स्वतन्त्रतर्फ प्रेमबहादुर विष्टले २ हजार ३५ मत ल्याएका थिए । २०५६ को आम निर्वाचनमा भने, नेपाली कांग्रेसले आफ्नो विरासत जोगायो । उक्त निर्वाचनमा नेपाली कांग्रेसका तारिणीदत्त चटौतले १३ हजार १०९ मत ल्याए ।

चटौतसँग नेकपा एमालेका उम्मेदवार चन्द्रलाल चौधरी ले १० हजार २८२ मत ल्याएर पराजित हुन पुगे । तेस्रो राजनीतिक शक्तिका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद विष्टले ६ हजार ४७ मत ल्याएका थिए । नेकपा एमालेका भोजराज जोशी ३ हजार ८१७ मत प्राप्त गरे ।

त्यसयता, संविधान सभा निर्वाचन २०६४ मा नेकपा माओवादीका उम्मेदवार देवीलाल चौधरी १८ हजार २८४ मत ल्याएर निर्वाचित भएका थिए । उनीसँग नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउदले ११ हजार २०२ मत ल्याए हार व्यहोर्नु पर्यो । त्यसबेला, राष्ट्रिय प्रजातन्त्र पार्टी रामऔतार रानाले ५ हजार ६२३ ल्याए भने उनीसँगै नेकपा एमालेका मायाराम चौधरी ४ हजार ६४३ मत प्राप्त गरे ।

नेकपा (एकीकृत) रामबहादुर विष्ट १ हजार ८७३ मत ल्याउँदै पाँचौ शक्तिका सीमित भयो । दोस्रो संविधान सभा निर्वाचन, २०७० मा भने कांग्रेसले फेरि आफ्नो ‘पोजिशन’ बदल्यो । नेपाली कांग्रेसका तर्फबाट नारायणप्रकाश (एनपी) साउद १३ हजार ४१५ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिस्पर्धीका रुपमा नेकपाका तारा लामा तामाङ ९ हजार ६७६ मत ल्याएर पराजित भएका थिए ।

त्यतिबेला एकीकृत नेकपा (माओवादी) का अमिनप्रसाद दहित ८ हजार १९३ मत ल्याएर तेस्रो भएका थिए । नेपाल लोकतान्त्रिक फोरमबाट अमरसिंह राना ४ हजार ७८३, तराई मधेस सद्भावना नेपाल रामऔतार राना १ हजार ३३१ ल्याए भने, राष्ट्रिय प्रजातन्त्र पार्टी भुवनराज भट्ट १ हजार ३२८ ल्याएका थिए । यसरी विगतको परिणामलाई हेर्दा २०४८, ०५६ र ०७० गरी ३ पटक नेपाली कांग्रेस संसदीय निर्वाचन जितेको थियो ।

भने, २०५१ र २०७४ को निर्वाचन नेकपा एमालेले आफ्नो पकड कायम गर्यो । २०६४ मा नेकपा माओवादी केन्द्रले आफ्नो सिट सुरक्षित गरेको थियो । आगामी निर्वाचनका लागि यो क्षेत्रमा नेपाली कांग्रेसले दाबी गरेको छ । अहिले कांग्रेसको बलियो आधार क्षेत्रका रुपमा यस क्षेत्रलाई मानिएको छ । यहाँ, कांग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश (एनपी) साउदले टिकट पाउने चर्चा छ ।

०७४ को निर्वाचनमा भने यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले ३३ हजार २२० मत प्राप्त ल्याएर विजयी भएका थिए । धामीसँग नारायणप्रकाश (एनपी) साउद २४ हजार ८९३ मत प्राप्त गरी पराजित भएका थिए । साउँद ८ हजार ३२७ मतान्तरले पराजित भएका थिए ।

यहाँ, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, विवेकशील साझा पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल दलित पार्टी र नेपाली कांग्रेस (बीपी) सहितका ६ राजनीतिक दलले १ हजार ४११ मत ल्याएका थिए । यस क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २२ हजार ३७९ मतसहित अग्रस्थान कायम गरे ।

नेकपा एमालेका वडाध्यक्षले १८ हजार ८२८ मत ल्याएका छन् । भने, नेकपा माओवादी केन्द्र १२ हजार ५७२ मतसहित तेस्रोमा छ । नेकपा (एकीकृत समाजवादी) ४ हजार १६१ मतसहित चौंथो स्थानमा रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्षका उम्मेदवारले ३ हजार ३५३ मत प्राप्त गरेका प्राप्त गरेका थिए ।

कञ्चनपुर ३

कञ्चनपुर–३ मा २०५१ मा भएको संघीय संसदको निर्वाचनमा नेकपा एमालेका उर्वादत्त पन्त ११ हजार १०० मतसहित विजयी भएका थिए, उनीसँग नेपाली कांग्रेसका नारायणप्रसाद (एनपी) साउद ६ हजार ४५३ मतसहित पराजित भएका थिए । स्वतन्त्र उम्मेदवार मानबहादुर सुनार ५ हजार ७६९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज जोशीले ४ हजार ४२७ र अर्का स्वतन्त्र उम्मेदवार प्रतापराम लोहार २१२ मत ल्याएका थिए ।

त्यस्तै, २०५६ मा नेपाली कांग्रेसका रमेश लेखकले १३ हजार ५२७ मत ल्याएर निर्वाचित भए भने, राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) का इन्द्रबहादुर खत्रीले ८ हजार ३३६ मत ल्याएका थिए । नेकपा एमालेका उर्वादत्त पन्तले ७ हजार ५०३, नेकपा मालेका लिलाध्वज बस्नेतले २ हजार ७८१ मतसहित तेस्रो भए भने, राष्ट्रिय प्रजातन्त्र पार्टीका पदम ठकुराठीले २ हजार ४९८ सहित पाँचौ दलमा पुग्यो ।

त्यसपछिका २०६४ को संविधान सभा निर्वाचनमा नेकपा (माओवादी) ले आफ्नो पकड कायम गर्यो । उक्त निर्वाचनमा नेकपा (माओवादी) टेकेन्द्रप्रसाद भट्टले १५ हजार ७६ मतसहित विजय हासिल गरे । उनीसँग नेपाली कांग्रेसका बहादुरसिंह थापाले ९ हजार २७३ मतसहित पराजित भए ।

नेकपा एमालेका गोविन्दप्रसाद कलौनीले ५ हजार ६६७ मत ल्याएर तेस्रो शक्तिका रुपमा देखा परे भने, राष्ट्रिय प्रजातन्त्र पार्टीका तीर्थराज चटौतले १ हजार ६५९ मत ल्याए । त्यसबेला राष्ट्रिय जनशक्ति पार्टीका धीरेन्द्रबहादुर डंगौराले १ हजार ५४९ मत ल्याएका थिए । दोस्रो संविधान सभा निर्वाचन २०७० मा नेपाली कांग्रेसका बहादुरसिंह थापाले १२ हजार ८३६ मतसहित कांग्रेसको राजनीतिक अस्तित्वलाई जोगाएको थियो ।

नेकपा एमालेका नरबहादुर धामी ९ हजार ६४३ मत सहित दोस्रो भए भने, नेकपा (माओवादी केन्द्र) टेकेन्द्रप्रसाद भट्ट ६ हजार ३०० मत ल्याउँदै तेस्रो दल हुन पुग्यो । त्यसबेला, थरूहट तराई पार्टी नेपालकी ईश्वरीदेवी चौधरी ले १ हजार ९३५ मत ल्याएकी थिइन् ।

यो निर्वाचन क्षेत्रमा अघिल्ला निर्वाचन २०५१ र ०७४ मा नेकपा एमालेले २०५६ र ०७० मा नेपाली कांग्रेसले दुई/दुई पटक, र २०६४ मा नेकपा माओवादीले एक पटक जित हासिल गरेको थियो । यो क्षेत्रमा यसपटक पनि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले टिकट पाउने चर्चा छ ।

कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिएका नेता लेखक अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा नेकपा एमालेतर्फबाट डा.दीपकप्रकाश भट्टसँग २५८ मतान्तरले पराजित भएका थिए । भट्टले २६ हजार ३६४ मत प्राप्त गर्दा लेखकले २६ हजार १०६ मत पाएका थिए ।

विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरम नेपाल, नेपाल दलित पार्टी र स्वतन्त्रतर्फका उम्मेदवारले १ हजार ५९ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?