विश्वविद्यालयको समस्या समाधारबारे बोले प्रधानमन्त्री देउवा

लोकपथ
91
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

शुक्रवार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले शैक्षिक विकासको लागि सरकार सदैव प्रतिवद्ध रहेको पनि बताए ।

उनले गुणस्तरीय शिक्षा समाजको विकासको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै शंकरदेव क्याम्पसलाई नजिकैको खालि रहेको समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाए । उनले क्याम्पसलाई अध्ययनको लागि ठाउँको कमी भएको कुराप्रति मन्त्रिपरिषद्मा छलफल गर्ने र जग्गा उपलब्ध गराउने बताए । उनले विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै तालाबन्दी र हट्तालले विश्वविद्यालयका समस्या समाधान नहुने उल्लेख गरे ।

उनले भने, ‘विकासको लागि नेपाल सरकार सदैव प्रतिवद्ध छ । गुणस्तरीय शिक्षा समाजको विकासको महत्वपूर्ण पक्ष हो । ठाउँको कमी छ, जग्गा चाहियो भन्ने करा उठाउनु भयो । यो जायज कुरा हो । समाज कल्याण परिषद्को जग्गा छ भन्ने सुनेको छ, मन्त्रीपरिषद्मा छलफल गरेर त्यो जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाउनु चाहन्छु । विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिएका छन् । तालाबन्दी र हट्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन । राजनीति आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गर्न जरुरी छ ।’

प्रधानमन्त्री देउवाले शैक्षिक क्षेत्रको उन्नयनको लागि सरकार र आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?