रोजगारीकाे स्राेत बन्दै सिजीकाे सीपमूलक तालिम

लोकपथ
195
Shares

नवलपरासी । चौधरी ग्रुपको सीपमूलक तालिम सञ्चालनले स्थानीय युवाहरूको दैनिकीमा परिवर्तनसँगै ठूलो संख्यामा रोजगारी सिर्जना भएको छ ।

पूर्वी नवलपरासीको देचवुली नगरपालिका वडा नम्बर दुईमा रहेको चौधरी उद्योग ग्राम परिसरमा २०६६ सालमा सुरु गरिएको सीप प्रशिक्षण तालिम सञ्चालन भएसँगै सिंगो नवलपुर र यस बाहेकका अन्य जिल्लाका युवा युवतीहरूले पनि यस तालिममा सहभागी भएर सीप आर्जन र सिकेका सीपलाई व्यवहारमा उतारी आफ्नो दैनिकी चलाइ रहेका छन् ।

०६६ सालमा मेकानिकलबाट सुरु गरेको सीप मूलक तालिम २०६७ सालमा सीटिइभिटीसँग समन्वय गरी सीटिइभिटी कै मान्यताका अनुरूप सिजी पोलीटेक्नीकल सञ्चलन गरिएको हो । उद्योग परिसरको छुट्टै भवनमा हुने तालिममा इलेकट्रोनिक,उद्योगमा सञ्चालन हुने विभिन्न हेभी मेसिन मर्मत लगायतका धेरै प्रकारका विशेष गरी उद्योगसँग सम्बन्धित सीप प्रशिक्षण प्रदान गर्दे आएको छ ।

सिजी पोलीटेक्नीकलको मुख्य उद्देश्य उद्योग र आफूलाई दैनिक जीवनमा आवश्यक पर्ने सामान्य सीको विकास र स्वदेश तथा विदेशमा रहेका ठुला उद्योगमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नु नै हो । ‘हाम्रो मुख्य उद्देश्य भन्नु नै उद्योगका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नु हो,’ पोलिटेक्नीकल तालिमका प्रिन्सिपल शिवहरी ढकालले भने ।

ढकालका अनुसार चौधरी उद्योग ग्राममा नै सञ्चालित तालिममा सहभागी विद्यार्थीहरूलाई प्राविधिक विषयमा आवश्यक प्रयोगशाला , औजारहरू पर्याप्त मात्रामा उपलब्ध गराइएको बताउँछन् ।

‘तालिममा सहभागी हुन आउने विद्यार्थीहरूलाई आवश्यक सबै औजार र सीप विकासका लागि आवश्यक पर्ने शिक्षक देखि प्रयोगात्मकका लागि आवश्यक पर्ने सबै विषय वस्तुहरू हामी नै दिन्छौ,’ प्रिन्सिपल ढकालले भने ।

बाह्र वर्ष अघिदेखि सञ्चालन हुँदै आएको उक्त सीप विकास तालिममा सहभागी विद्यार्थीहरूका लागि ६ महिना सम्म सीप सिकाइन्छ । सिटीइभिटी र चौधरीको लोगो अन्तर्राष्ट्रिय स्तरमा परिचित भएको हुँदा हरेक वर्ष प्रदान गरिने तालिममा विद्यार्थीहरूको संख्या बढ्ने गरेको प्रिन्सीपल ढकाल बताउँछन् ।

‘यहाँ तालिम लिन आउने विद्यार्थीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सजिलै रोजगार पाउने गरेका छन् । चौधरी ग्रुपको लोगो र सिटीइभिटी मान्यता भएकै कारण तालिम लिन आउनेहरूले सहज महसुस गरेका छन्,’ प्रिन्सीपल ढकालले भने । उनका अनुसार आर्थिक वर्ष २०६६/०६७ देखि हाल सम्म दुई हजार २ सय ६३ जनाले तालिम लिई सकेका छन् ।

सिजी पोलिटेक्नीकलको तालिममा सहभागी हुने विद्यार्थीहरूले विशेष त सीप मूलक तालिम नै सिक्ने गरेका छन् । जसमा क्षमता विकास, विकासात्मक, पूर्वाधार विकास, अनुसन्धान विकास, बजार विकास र व्यापार विकास लगायतका विषयमा तालिम प्रदान गर्ने गरेको पोलिटेक्नीकल सीप प्रदान गर्ने टोलीले जनाएको छ ।

तालिम लिएपछि पन्ध्र सय युवा-युवति स्वरोजगार

सिजी पोलिटेक्नीकलबाट सीप सिकेका दुई सय जना हाल सोही चौधरी उद्योगमा कार्यरत छन् । चौधरी ग्रुपकै सीप मूलक तालिम केन्द्रमा सीप लिएकाहरू अहिले दुम्कौलीस्थित चौधरी उद्योग ग्राममा दुई सय, दुम्कीबासस्थित सिजी सिमेन्ट उद्योगमा र अन्य उद्योगमा सजिलै रोजगार गरी आफ्नो दैनिकी चलाउँदै आएका छन् ।

देवचुली नगरपालिका वडा नम्बर २ का दिनेश पौडेलले २०७१ सालमा मेशिन सञ्चाल सम्बन्धी सीप सोही सिजी पोलिटेक्नीकलमा सिके सीप सिकेको करिब एक वर्षमा उनले सोही चौधरी उद्योगको कार्टुन उत्पादन गर्ने क्षेत्रमा रोजगार पाए र अहिले सोही रोजगारबाट मासिक ३५ हजार सम्म आम्दानी गरेका छन् ।

‘२०७१ सालमा चौधरी उद्योगकै परिसरमा सीप सिके, सीप सिके पछि मेशिन चलाउन सकियो अहिले सोही सीप अनुसारको काम पाएको छु,’ सीप सिकेर स्वरोजगार बनेका दिनेश पौडेलले भने । उनी मात्र होइन उनी जस्ता धेरै विद्यार्थीहरू सीप सिकेर देश र विदेशका विभिन्न प्रतिष्ठित उद्योगहरूमा रोजगार गरी आर्थिक आयआर्जन गर्दै आएका छन् ।

आगामी दिनमा थप कक्षा सञ्चालन गर्ने योजना

आगामी दिनमा युवायुवतीहरूका लागि अहिले आवश्यक पर्ने र बढी माग भएको सीप अन्तर्गत हाउसकिपिङ्ग, मोबाइल, कम्प्युटर मर्मत, मोटर साइकल मर्मत, वेटर लगायतका तालिमहरू प्रदान गर्ने योजना रहेको छ ।

यस्तै सिजी पोलिटेक्नीकलले आयुर्वेद, योगा लगायतका विषयमा पनि तालिम प्रदान गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?