जबराले उठाए संसदीय प्रणाली र महाभियोग समितिमाथि नै प्रश्न

लोकपथ
17k
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दोस्रो दिन आज महाअभियोग सिफारिस समितिको कार्यकक्षमा उपस्थित भएर बयान दिएका छन् ।

जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका विषयमा बुधवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठक कक्षमा उनीमाथि बयान लिइएको थियो । दोस्रो दिन बयान दिँदै जबराले महाअभियोग सिफारिस समिति तथा संसद्माथि नै प्रश्न उठाएका छन् ।

समितिले सोधेको प्रश्नको जवाफ दिँदै उनले संसदीय समितिले महाभियोग प्रस्ताव गर्ने, आफै छानबिन गर्ने, निर्णय र समिति नै प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको तर्क गरे । न्याय सम्पादन गर्न नसकेको तथा भ्रष्टाचारमा मुछिएकोबारे समितिले सोधेको प्रश्नमा जबराले समिति र संसद्माथि प्रतिप्रश्न गरेका थिए । जबराले महाभियोग प्रस्ताव गर्नेहरु नै समितिमा बस्न मिल्छ ? भन्दै प्रश्न गरे ।

जबराले राजनीतिक बलमा आफूविरुद्ध षड्यन्त्रपूर्वक अभियोग लगाइएको भन्दै न्यायाधीश, बार पदाधिकारी र राजनीतिक दलका नेतामाथि गम्भीर आरोप लगाए । बुधवार समितिमा उठाइएका प्रश्नको जवाफ दिने क्रममा जबराले आफ्ना सहकर्मी कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की न्यायाधीशहरु प्रकाश राउत र हरिकृष्ण कार्कीको चर्को आलोचना गरे । कामु प्रधानन्यायाधीश कार्कीले आफू प्रधानन्यायाधीश हुनका लागि अनेक चलखेल गरेको जबराको तर्क थियो ।

समितिका सदस्यहरुले आज उनलाई चार वटा प्रश्न सोधेका थिए । योसहित ४३ मध्ये ६ वटा प्रश्न सोधिएको छ । समितिले १९ भदौ बिहान ११ बजे उनलाई बयानका लागि बोलाएको छ । बुधवारबाट उनको बयान सुरु गरिएको हो ।

गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाअभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले उनको बयान लिन थालेको हो । बुधवार करिब साढे ३ घण्टा चलेको पहिलो दिनको बयानमा जबराले आफूमाथि लागेको आरोपको चर्को प्रतिवाद गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?