नारायणहिटी संग्राहलयलाई ऐतिहासिक महत्व झल्किने गरी विकास गरिनुपर्छ : माधव नेपाल

लोकपथ
49
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नारायणहिटी दरबार संग्राहलयलाई नेपालको ऐतिहासिक महत्व झल्किने संग्राहलयको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

बुधवार पार्टीको केन्द्रीय पर्यटन विभागले काठमाडौंमा आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौतीहरु’ विषयक गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले नारायणहिटी संग्राहलयलाई इतिहासदेखि राजतन्त्रको समाप्तिसम्मको कालको मात्रै संग्रहालय बनाउनुपर्ने बताए ।

सो संग्राहलयमा नेपालमा हालसम्म शासन गरेका विभिन्न वंशका राजाहरुको पालाको अवस्था झल्किनुपर्ने उनले बताए । अध्यक्ष नेपालले गणतन्त्रको संग्राहलय छुट्टै बनाउनुपर्ने पनि बताए । उनले नेपालमा विभिन्न जातजाति र भाषाहरु रहेको भन्दै तिनलाई जनाउने जातीय संग्राहलय पनि बनाउनुपर्ने बताए ।

उनले हिन्दु धर्मको पनि खुला संग्राहलय खोल्नुपर्ने उल्लेख गरे । अध्यक्ष नेपालले भने, ‘नारायणहिटी संग्राहलयलाई हामीले एउटा ग्रयान्ड संग्राहलयको रुपमा विकास गर्नुपर्छ । त्यो ग्रयान्ड संग्राहलयको रुपमा नेपालको इतिहासको सुरुदेखि लिएर नेपालको आजसम्मको इतिहासको खासगरी राजतन्त्रको समाप्ति भएसम्मको कालको जम्मै चिजहरु त्यहाँ देख्न पाइयोस् ।’

उनले सबै राजा, महाराजाहरुको शासनकालका झलकहरु देखिने गरी संग्राहलयको विकास गरिनुपर्ने बताए । उनले भने, ‘अब एउटा हिन्दु धर्मको पनि संग्राहलय खोल्नुपर्छ खुल्ला संग्राहलय भन्ने मलाई लागेको छ । खुला संग्राहलय कस्तो हुनुपर्दछ भने महादेव, देवीहरुको जति स्वरुपहरु ति सबै स्वरुपहरु राख्ने ।

के कारणले प्रसिद्ध, ऐतिहासिक छ ? यो भनेर नेपालीहरु र विदेशीहरुलाई पनि आकर्षित गर्न सकिन्छ । देवीदेवताको एउटै साझा थलोमा हामी जम्मैको प्रतिमूर्ति बनाउन सक्दछौँ । प्रतिमूर्ति बनाएर आकर्षणको थलो बनाउन सक्दछौँ ।’

अध्यक्ष नेपालले विकास निर्माणको काममा अदालतले अवरोध गर्ने गरेको बताए । कामलाई अदालतले रोकिदिने र सरकार निरिह हुने अवस्था रहेको उनले उल्लेख गरे । उनले अदालत विकासप्रेमी हुनुपर्ने बताए ।

उनले भने,– ‘एउटाले कहाँ समस्या खडा गर्दिन्छ । अर्कोले कहाँ समस्या खडा गर्दिन्छ । ठ्याक्क जान्छ अदालत अदालतले ठ्याक्क रोकिदिन्छ । अनि सरकार निरिह भएर बसेको हुन्छ । अदालत विकासप्रेमी हुनुपर्दछ ।’

अध्यक्ष नेपालले नेपालमा विकास निर्माणको काम गर्दा सम्भाव्यता अध्ययन नगरी गर्ने गरिएको बताए । उनले विकास निर्माणको काममा अध्ययन तथा अनुसन्धान नगर्ने प्रवृति रहेको भन्दै त्यस्तो प्रवृतिको अन्त्य हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?