डोटीमा गठबन्धनलाई सकस : आले, बलायर कि भट्ट ?

प्रकाश पुडासैनी

सत्तारुढ गठबन्धनको कार्यदललाई सिट बाँडफाँट टुङ्ग्याउन हम्मे–हम्मे परेको छ ।

१६५ प्रत्यक्ष निर्वाचन क्षेत्र ६ दलको भागमा लगाउनुपर्नेछ । तर, दलहरुले आ–आफ्नै दाबी प्रस्तुत गरिरहँदा यसले पूर्णता पाउन सकेको छैन ।

अघिल्लो निर्वाचनमा धेरै स्थानमा बाम गठबन्धन र कांग्रेसबीच प्रतिष्पर्धा भएका धेरै नेताहरु हाल एकै मोर्चामा छन् । त्यसबेला जितेका वा पराजित भएका दुई मध्ये एकले एमालेसँग मुख्य प्रतिष्पर्धा गर्ने दाउमा छन्् । जसकारण धेरै जिल्लामा गठबन्धनलाई सिट बाँडफाँटमा समस्या हुने संकेत देखिएको छ ।

त्यसैमध्यैको जिल्ला हो– डोटी । एउटा मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा अघिल्लो निर्वाचनमा तत्कालिन वाम गठबन्धनका उम्मेदवार एमालेका प्रेमबहादुर आले विजयी भएका थिए । आलेले तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बलायर पराजित भएका थिए ।

उनले ३२ हजार ५ सय १० मत ल्याएका थिए भने, बलायरले ३० हजार ८ सय ७८ मत प्राप्त गरेका थिए ।

तर, हाल दुवै नेताहरु एउटै गठबन्धनमा छन् । आले तत्कालिन नेकपा विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा आवद्ध रहेका छन् । उनी आगामी निर्वाचनमा पनि प्रतिनिधि सभामा लड्ने तयारीमा छन् ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापति समेत रहेका बलायर पनि आगामी निर्वाचनमा संघीय सांसद बन्ने दौडमा छन् । अघिल्लो निर्वाचनमा तत्कालिन बाम गठबन्धनसँग २ हजारको मात्र मतान्तरसहित पराजित उनी आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् ।

त्यसो त अघिल्लो निर्वाचनमा दुई प्रदेश निर्वाचन क्षेत्रमध्ये एउटामा बाम गठबनधनको उम्मेदवारलाई हराउँदै कांग्रेसले जित निकालेको थियो । सो कारण पनि डोटीमा कांग्रेस बलियो रहेको बताउँदै गठबन्धन नै नगरी मित्रवत प्रतिष्पर्धा गर्नुपर्ने कतिपयको तर्क छ ।

यता एकीकृत समाजवादीले आलेलाई नै संघीय सांसदको रुपमा सिफारिस गरेको छ । मतका आधारमा कांग्रेस धेरै अघि भए पनि गठबन्धनको भागबण्डाको आधारमा आले नै आउनसक्ने कतिपयको बुझाइ छ ।

तर, आले मन्त्री हुँदा होस् या अन्य समयमा विवादित छवी बनाएका कारण गठबन्धनबाट टिकट पाउँदै गर्दा पनि त्यति सहज भने छैन ।

बलायर र आलेबीच संघीय निर्वाचनमा को उम्मेदवार बन्ने भन्ने होड चलिरहँदा गठबन्धनकै अर्का पात्र माओवादी केन्द्रका त्रिलोचन भट्ट पनि टिकटको दाबीसहित अघि आउने तयारीमा छन् । हाल सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसमेत रहेका भट्ट २०७४ को निर्वाचनमा डोटीको प्रदेश सभा ‘ख’ बाट ३ हजारको मतान्तरसहित विजयी भएका थिए । भट्टले तत्कालिन वाम गठबन्धनको तर्फबाट १६ हजार ९१ मत ल्याइरहँदा उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका योगेन्द्रबहादुर शाहीले १३ हजार ४ सय ९५ मत प्राप्त गरेका थिए ।

निर्वाचनको मिति नजिकिँदै गर्दा भट्टले समेत संघीय निर्वाचनमा आफू अघि बढ्ने दाबी प्रस्तुत गरेका छन् । प्रदेशमा नलड्ने अडानमा रहेका भट्ट आफूलाई माओवादी केन्द्रले अघि बढाउने आशामा छन् ।

त्यसो त गठबन्धनमा सरिक हुँदा सहज रुपमा जित हासिल गर्न सकिने भएसँगै नेताहरुले दाबीलाई दर्बिलो बनाइरहेका छन् । जसको कारणले पनि गठबन्धनमा टिकट वितरणमा समस्या देखिन्छ ।

डोटीमा गत स्थानीय निर्वाचनको नतिजालाई हेर्दा कांग्रेसको पकड देखिन्छ । ९ स्थानीय तह रहेको डोटीमा कांग्रेस एक्लैले ७ वटा पालिकामा जित हासिल गरेको छ । यता गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्रले एउटा र नेकपा एमालेले एउटा तहमा जित हासिल गरेको छ । भने, एकीकृत समाजवादीले कुनैपनि स्थानीय तहमा जित निकाल्न सकेको छैन ।

वडाध्यक्षहरुले पाएको मतका आधारमा कांग्रेस धेरै मतान्तरसहित अघि छ । डोटीमा कांग्रेसका वडाध्यक्षहरुले पाएको कुल मत ३४ हजार ४७ देखिन्छ ।

त्यस्तै, दोस्रो स्थानमा रहेको नेकपा एमालेले २४ हजार ९ सय १६ मत प्राप्त गरेको छ । यता गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्रले ७ हजार ७ सय ८९ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीका वडाध्यक्षहरुले पाएको मत जम्मा ३ हजार २ सय ५ मत मात्रै रहेको छ ।

मतको आधारमा पनि चौंथो स्थानमा रहेको एकीकृत समाजवादीले संघीय निर्वाचनमा आफ्नो दाबीलाई प्रस्तुत गरिरहँदा अन्य दलहरुले सहजै स्विकार्ने अवस्था नरहला भन्न सकिन्न ।

आलेले चाल्न सक्ने कदम

दुई–दुई पटक मन्त्रीसमेत भइसकेका आलेको पृष्ठभूमि विवादित छ । बहालवाला मन्त्री हुँदा अपशब्द प्रयोग गरेको अडियो सार्वजनिक होस् या मन्त्रालयका कर्मचारीमाथि कुटपिट । आम जनमानसमा उनको छवी गतिलो छैन । तत्कालिन नेकपा एमालेको विभाजनपछि मन्त्री बन्नकै लागि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा आएका उनी गठबन्धनबाट संघमा टिकट नपाए चुप लागेर नबस्ने कतिपयको बुझाइ रहेको छ ।

उसो त तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै ७ मन्त्रीले सामूहिक राजीनामा दिएसँगै वन मन्त्रालयको जिम्मेवारी आलेले पाएका थिए । वन विनाशको अभियोग लागेका आलेलाई ओलीले वन मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै ठूलो आलोचनासमेत भएको थियो ।

छोटो समय मन्त्री बनेका उनी देउवा प्रधानमन्त्री भएसँगै एमालेमा रहन चाहेनन् । उनले बूढानिलकण्ठ पुगेर आफूले सरकारलाई साथ दिने प्रतिवद्धता व्यक्त गरे । मन्त्री बन्ने सर्तमा एकीकृत समाजवादीमा आएका उनलाई देउवा सरकारले संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिएको थियो ।

त्यसपछि उनले एक्सन मन्त्रीको पहिचान बनाएका आले आगामी निर्वाचनमा गठबन्धनले टिकट नदिएको अवस्थामा अन्य दलबाट भए पनि सांसद बन्ने बाटोमा नलाग्लान् भन्न सकिएला र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?