चेम्बरद्वारा ब्यापार प्रर्वद्धन एवम् लगानीका लागि राजदूतहरुसँग आग्रह

लोकपथ
39
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ब्यापार प्रर्वद्धन एवम् लगानीका लागि राजदूतहरुसँग आग्रह गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा राजदूतहरुसँग भएको छुट्टाछुट्टै भेटवार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो ।

दक्षिण कोरीयाका लागि नवनियुक्त राजदूत डा.ज्योति प्याकुर्‍याल समक्ष चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक रुपमा समृद्ध कोरीयाबाट लगानी प्रर्वद्धन गर्न आग्रह गरे । नेपालमा लगानीसँगै कोरीयाको उच्चस्तरीय प्रविधि भित्र्याउनका लागि समेत पहल गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

इपीएस मार्फत कोरीयामा ७७ हजार नेपाली युवाहरु कार्यरत रहेको भन्दै अध्यक्ष मल्लले नेपालीहरुकै सीप र लगानीलाई प्रर्वद्धन गर्न सकियो भने मुलुकले धेरै फाईदा लिन सक्ने बताए । उनले भने, ‘नेपाल हाउसको अवधारणा अन्तर्गत स्वदेशी उत्पादनहरुको प्रर्वद्धन गर्ने प्रचुर सम्भावना छ । पछिल्लो समय पस्मिना, हस्तकलाका सामाग्री, जडिबुटी, भिरमहलगायतको माग कोरीयामा बढ्दो छ, ।’

कोरीयाली बहुराष्ट्रिय कम्पनीहरु नेपालमा स्थापनका लागि पहल गर्न पनि अध्यक्ष मल्लले राजदूत डा. प्याकुर्‍यालको ध्यानाकर्षण गराए ।
भेटवार्तामा राजदूत प्याकुर्‍यालले पनि आफ्नो कार्यकालमा लगानी प्रवृद्धन र दुई पक्षीय ब्यापार नै पहिलो प्राथमिकता रहेको बताईन । उनले भनिन, ‘एसियाको महत्वपुर्ण आर्थिक शक्तिराष्ट्र दक्षिण कोरीयाबाट नेपालमा लगानी भित्र्याउन मेरो मुख्य प्राथमिकता रहनेछ । ’

यस्तै, चेम्बर अफ कमर्सका पदाधिकारीले नेपालका लागि स्लोभाकियाका राजदूतसँग पनि चेम्बर भवनमा भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपालमा लगानीको सम्भावना एवम् दुई पक्षीय ब्यापारबारे छलफल भएको छ । अध्यक्ष मल्लले स्लोभाकियामा नेपालको हस्तकलाका सामानहरु कपडा, कार्पेट लगायतको निर्यातमा सहजिकरण गर्न राजदूत रोबर्ट म्याक्सिएनसँग आग्रह गरे ।

सूचना प्रविधि एवं पर्यटन क्षेत्रमा पनि लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरे । स्लोभाकियाबाट हाल बार्षिक ५ हजारको हाराहारीमा पर्यटक नेपाल आईरहेको भन्दै यो संख्या अझै वृद्धि गर्नमा सहयोग गर्न अध्यक्ष मल्लले राजदूत म्याक्सिएनसँग आग्रह गरे ।

जवाफमा राजदूत म्याक्सिएनले नेपालसँग उच्चस्तरीय आर्थिक सम्वन्ध बिस्तार गर्न आफू प्रतिवद्ध रहेको बताए । यसका लागि आफूले सरकारीस्तरमै पहल गरिरहेको राजदूत म्याक्सिएनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?