रोल्पा जिप दुर्घटनामा बेपत्ता चालक नुवाकोटका बुद्धिबहादुर मृत भेटिए

लोकपथ
588
Shares

काठमाडाैं । रोल्पाको माडी खोलामा शुक्रबार राति भएको जिप दुर्घटनामा परी बेपत्ता भएका नुवाकोट ककनीका चालक ३१ वर्षीय बुद्धिबहादुर तामाङ मृत फेला परेका छन् ।

बा७च ५००२ नम्बरको जिप शुक्रबार राति शहीद मार्गअन्तर्गत माडी गाउँपालिका–४ सिस्ने बजार नजिकै सडकबाट माडी खोलामा खस्दा चालक ककनी गाउँपालिका–४ जगरेका तामाङ बेपत्ता भएका थिए ।

घटनाको तीन दिनपछि मंगलबार खोजी कार्यमा संलग्न प्रहरी टोलीले तामाङको शव घटनास्थलदेखि करिब दुई किलो मिटर तल खोला किनारमा फेला पारेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । तामाङ काम गर्ने निर्माण कम्पनीका प्रोपाइटर सिद्धार्थ तामाङले शव बुद्धिबहादुरकै भएको पहिचान गरेको सापकोटाले उल्लेख गरे ।

प्रजिअ सापकोटाले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लिवाङ ल्याउने तयारी भइरहेको बताए ।

यसैबीच हराएका चालक तामाङ मृत फेला परेको विषयमा प्रजिअ सापकोटाले नुवाकोट क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य एवं माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य हितबहादुर तामाङलाई जानकारी गराएका छन् ।

आफ्नो जिल्लाका नागरिक रोल्पामा सडक दुर्घटनामा परी बेपत्ता भएको जानकारी पाएपछि सांसद तामाङले प्रजिअ सापकोलाई टेलिफोन गरी उनको खोजीमा तदारुकता देखाउन आग्रह गरेका थिए । ‘रोल्पाका प्रमुख जिल्ला अधिकारीले मलाई फोन गरेर हराएका चालक मृत भेटिएको जानकारी गराउनुभएको छ’, सांसद तामाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?