रत्नपार्कको जस्तै देशभर ५१ वटा विद्युतीय चार्जिङ स्टेसन बनाउँछौं : कुलमान घिसिङ

लोकपथ
143
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताएका छन् । मंगलवार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा मंगलवारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले निजी क्षेत्रका चार्जिङ स्टेशनले १५ रुपैयाँसम्म चार्ज शुल्क लिने गरेको पाइएकोले प्राधिकरणले तोकेबमोजिम हुनुपर्ने बताए । कार्यकारी निर्देशक घिसिङले देशभर ५१ वटा चार्जिङ स्टेसन बनाउने तयारीमा लागेको बताए । उनले देशका विभिन्न क्षेत्रमा विद्युतीय चार्जिङ स्टेसन बनाउनको लागि प्राधिकरणले निजी क्षेत्रलाई पनि सहमति दिने बताए ।

घिसिङले निजी क्षेत्रले बनाएका स्टेसनमा प्राधिकरणले भन्दा २० प्रतिशत थप गरेर शुल्क लिन पाउने पनि बताए । उनले रत्नपार्कको चार्जिङ स्टेशन १२० किलोवाट डीसी क्षमता रहेको बताए । उनले विद्युतीय सवारी एक घण्टाभित्र चार्ज पूर्ण गर्न सकिने बताए । उनले चार्जिङ स्टेसनमा विद्युतीय सवारी चार्ज गर्दा औसत प्रति किलोमिटरमा ७० पैसा लाग्ने र माइक्रोबसमा ९० पैसा र ठूला बसहरुमा १ रुपैयाँ २० पैसा लाग्ने बताए ।

उनले भने, ‘रत्नपार्कमा चार्जिङ स्टेसन जस्तै देशभर ५१ वटा चार्जिङ स्टेसन बनाउँछौं । यो स्टेसनमा बाहिरबाट आउनेहरुको लागि पनि खुला गर्छौं । देशभर यस्तै चार्जिङ स्टेसन बनाउनेछौं । निजी क्षेत्रलाई पनि विद्युतीय चार्जिङ स्टेसन राख्न इच्छा हुनेहरुलाई प्राधिकरणले सहमति दिन्छ । प्राधिकरणको भन्दा २० प्रतिशत थप गरेर निजी क्षेत्रले लिन सक्नुहुन्छ । यो स्टेसनको १२० किलोवाट डिसि क्षमता हो ।’

उनले विद्युतीय बस तथा माइक्रोबसको चार्जिङ सस्तो भएपछि भाडा पनि सस्तो हुने बताए । ‘विद्युतीय सवारीमा चढेको भाडा पनि सस्तो हुनुपर्छ । विस्तारै त्यसलाई पनि नियन्त्रण गर्छौं । हिजोसम्म विद्युतीय चार्जिङ स्टेसनको कुरा सोच्न समेत सक्ने थिएनौं । यो ठूलो परिर्वतन हो ।’
प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाअनुसार पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसन धमाधम जडानको काम भइरहेको छ ।

चार्जिङ स्टेसन जडानका लागि सिभिल पूर्वाधार निर्माणको काम लगभग सकाएर जडान भइरहेको बताइएको छ । केही समयभित्रै ५१ वटै स्थानमा चार्जिङ स्टेसन जोडिसक्ने प्राधिरकणको लक्ष्य छ । प्राधिकरणले देशभरका राजमार्ग र मुख्य शहरका बसपार्क, सार्वजनिक जग्गा लगायतका स्थानमा चार्जिङ स्टेसन जडान गर्न लागेको हो ।

विद्युत खपत प्रवद्र्धन गर्नका लागि विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले देशका प्रमुख शहर तथा राजमार्गहरुमा द्रुत सवारी चार्जिङ स्टेसनहरुको स्थापना गर्ने अभियानमा प्राधिकरण रहेको छ । प्राधिकरणले नेपालमै पहिलो पटक सरकारी तहबाट विद्युतीय गाडी चार्ज गर्नका लागि स्टेसन सञ्चालनमा ल्याएको हो । चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?