काठमाडौं । हरितालिका तीजका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रमा सर्वसाधारण दर्शनार्थीको भीड लागेको छ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिनमा मनाइने तीजलाई हर्षौल्लासका साथ मनाइएको हो ।
सो अवसरमा भगवान पशुपतिनाथको दर्शन गर्न आएका सर्वसाधारण दर्शनार्थीलाई सहज होस् भनेर मन्दिरका सबै चार ढोका खुलाइएको छ । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वी महिलाले महादेवको पूजा आराधना गरेर यो पर्व मनाउँदैछन् । श्रीमानको दीर्घायूको कमना गर्दै यस दिन नेपाली महिलाले निलाहार व्रत बस्ने गर्छन् । व्रत बसेकै अवस्थामा शिवालयहरूमा नाचगान र रमाइलोसमेत गर्ने गर्छन् ।
काठमाडौंको पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरुमा व्रतालु महिलाहरुको भीड लागेको छ । पशुपति नाथको पूजा, आराधनाका लागि पशुपतिनाथमा पनि भक्तालु एवं व्रतालु महिलाको घुइँचो लागेको छ । भगवान शिवको पूजा, आराधना गर्दै हर्षोल्लासपूर्वक मनाइने तीज पर्वमा आज पशुपति नाथमा रातो सारी र गरगहनाले सजिएका महिलाहरु पशुपतिनाथको दर्शनका लागि लाइनमा बसेका छन् ।
मन्दिर आसपासमा महिलाहरु नाचगान गर्दै रमाईलो गरिरहेको देख्न सकिन्छ । अन्य वर्षहरुको भन्दा यस पटक पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन राम्रो गरेको व्रतालु महिलाहरु बताउँछन् । अन्य समय दर्शनका लागि घण्टौं कुर्नुपर्ने समस्या भएको तर यस पटक भने १५/२० मिनेटमा नै दर्शन गर्न सकिएको भन्दै खुशी प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया