छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनाबाट चार जनाको मृत्यु

लोकपथ
35
Shares

काठमाडौं । सल्यान, तनहुँ र मकवानपुरमा भएका सवारी दुर्घटनाबाट चार जनाको मृत्यु भएको छ ।

सल्यानको शारदा नगरपालिका–१० नयाँगाउँमा रा.१ ह २२१९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा अटोमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा कालिमाटी गाउँपालिका–१ बस्ने ७० वर्षीया कमला पुन र ३० वर्षीया धनी पुन रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका ५ जनामध्ये २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने अन्य ३ जनालाई थप उपचारका लागि मेडिकल कलेज नेपालगंजमा पठाइएको छ ।

त्यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका–८ लालिमस्थित सडकमा ग.१० प ६४५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका–१० बस्ने २५ वर्षीय चेतमान सिंह आलेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिपि कोईराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ कठाएत चोकमा ना.५ च २९९ नम्बरको गाडिले बा.४४ प ३८०२ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका–१ बस्ने ३१ वर्षीय धर्मेन्द्र राम थारुको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?