फौजीलाई के चाड के पर्व !

कोही दिदीबहिनी तीज आयो भनी रम्छन् बरिलै…
हामी दिदीबहिनी भने सुरक्षामा खट्छौं बरिलै…
सारी चुरा पोते लाउने हाम्लाई नि रहर छ
हामी नभई शान्त बस्ने कुन चाहिँ सहर छ
नाच दिदीबहिनी…

यो गीति अंश ‘नाच दिदीबहिनी’ बाट लिइएको हो । जसका हरफमा महिला प्रहरीहरुलाई लक्षित गरि शब्दहरु उनीएका छन् । गीतमा मेलिना राईको स्वर छ भने अञ्जली अधिकारी लगायतका कलाकारहरुले प्रहरी भेषमा अभिनय गरेका छन् । गीतले तीज जस्तो पर्वमा पनि ड्युटीमा खटिनुपर्दाको परिवेशलाई उतारेको छ । गीत र अभिनयको कुरा यत्तिमात्र ।

हो, आज हरितालिका तीज । महिलाहरुको महान पर्व । रातो सारी, चुरा, पोतेमा सजिएर तीजका भाकासँगै नाच्ने रहर कुन चाहिँ चेलीलाई नहोला र ! तर, त्यो भेष र रौनकताबाट टाढा छिन् ट्राफिक प्रहरी प्रभाग थापाथलीकी प्रमुख प्रसिद्धिका कँडेल । शिरमा सेतो टोपी, निलो रङको सर्ट, गाढा निलो रङकै पाइन्ट अनि टलक्क टल्कने कालो बुट बजार्दैै, सिट्टी फुक्दै ट्राफिक व्यवस्थापनमै व्यस्त छिन्, उनी यतिबेला ।

मनै त हो । चोकमा सवारी रोकेर तीजको भेषमा सजिएका नारीहरुलाई बाटो कटाउँदै गर्दा होस् वा सडक किनारामा साथीसंगी रमाइलो गर्दै हिँडेको लस्कर देख्दा कता–कता मन त कुँडिन्छ नै । तर, उनी आफूमाथि रहेको राष्ट्र र सुरक्षाको जिम्मेवारीले सम्हालिन्छिन् अनि कर्ममा कठिबद्ध भएर लाग्छिन् ।

हुन त भित्तेपात्रोका आजको मितिमा सानो अक्षरले ‘हरितालिका तीज महिला कर्मचारीका लागिमात्र बिदा’ लेखेको छ । सरकारले पनि महिला कर्मचारीका लागि विदा दिएको छ । तर, महिला प्रहरीहरु भने अपवादमा पर्छन् ।

प्रसिद्धिकाले प्रहरी सेवामा झण्डै पाँच वर्ष बिताइसकिन् । यी पाँच वर्षका तीज प्रहरीको भेषमै बित्यो । उनलाई भने यसमै गर्व छ । ‘सुरुसुरुका वर्षहरुमा तीजमा आफ्ना सैंसाथी रमझममा हुँदा आफू ड्युटीमा निस्कनुपर्दा दुःख लाग्थ्यो,’ उनी भन्दै थिइन्, ‘अब त बानी परिसक्यो चाडपर्वभन्दा पनि ड्युटी गर्दा नै रमाइलो लाग्छ ।’

थापाथली वृत्तमा ४६ जना महिला प्रहरी छन् । हिजो यी ४६ दिदीबहिनीकै माझमा प्रसिद्धिकाले पनि दर खाइन् । ‘हामीलाई पनि आफ्नो संस्कृतिको माया छ नि, त्यसैले हिजो कार्यालयमै सबैजनाले दर खायौं एकछिन रमाइलो पनि गर्यौं,’ प्रसिद्धिका योजना सुनाउँदै थिइन्, ‘आज पनि म पनि व्रत बसेकी छु, अरु साथीहरु पनि व्रत बस्नुभएको छ ड्युटी सिध्याएपछि एकैछिन रमाइलो गर्ने योजनामा छौं ।’

त्यसैले घरमा तीज मनाउन नपाएपनि कर्मघर (कार्यालय)मै तीज पर्व मनाउने गरेको उनको भनाइ छ । तर, कहिलेकहिँ घरपरिवारले पनि छोरी सँगै भइदिए हुन्थ्यो भन्ने आशा राख्दा भने उनको मन भकानिन्छ । तर, निमेषभरमै उनमा खुशीका तरंग आइरहन्छ । किनकि उनी राष्ट्रसेवक हुन् । ‘बुबाआमालाई त चाडपर्वमा आफ्ना सन्तान सबै वरिपरि भइदिए हुन्थ्यो भन्ने लाग्दो हो नि,’ प्रसिद्धिका गम्भीर हुँदै भन्छिन्, ‘देश र जनताको सुरक्षामा खटिने राष्ट्रसेवक कर्मचारीका लागि के चाड के पर्व ! तैपनि यसमै छ गर्व ।’

त्यस्तै, जिल्ला प्रहरी परिसर, भक्तपुरमा कार्यरत प्रहरी निरीक्षक लक्ष्मी खनालले पनि चौकीमै तीज मनाएको वर्षौं बिते । ०७० बाट प्रहरीमा भर्ती भएकी लक्ष्मीका पनि तीजमा बिदा बसेको अनुभव छैन । रहर नभएको होइन जिम्मेवारीले ती रहरलाई थिचेको हो भन्दा अत्युक्ति नहोला । ‘चाडपर्वमा घर जानुको मज्जा त बेग्लै हुन्छ नि तर काँधमा जिम्मेवारी पुरा गर्नैपर्छ,’ लक्ष्मी भन्छिन्, ‘चाडपर्वमा बिदा पाइएन भनेर दुःख लाग्दैन ।’

उनी पनि आज व्रतमा छिन् । बिहान नित्यकर्म गरेर उनी प्रहरी भेषमा यतिबेला प्रहरी परिसरमा ड्युटीमा छिन् । ‘जब बर्दी पहिरिन्छु नि बेग्लै उर्जा आउँछ,’ उनी भन्दै थिइन्, ‘हामी सुरक्षामा खटिएका छौं र त आम नागरिकले ढुक्क भएर हिँड् पाएका छन् भन्ने कुरा मनमा आउँछ जसले झनै काममा खटिन प्रेरणा मिलिरहन्छ ।’

जागिर सुरु गरेको सुरुवाती वर्षमा लक्ष्मीलाई पनि घरको धेरै याद आउँथ्यो । तर, अहिले सबै सामान्य लाग्न थालिसके । ‘हामी महिला प्रहरी सडकमा बसेर सुरक्षार्थ खटिइरहेका छौँ त्यसैगरी महिला सञ्चारकर्मी, स्वास्थ्यकर्मीहरुको पनि कथा व्यथा उस्तै छ,’ मन बुझाउँदै लक्ष्मी भन्दै थिइन्, ‘कतिपय कुरामा हामीले अरुसँग तुलना गरेर पनि खुसी हुनु पर्ने रहेछ, सञ्चारकर्मी र स्वास्थ्यकर्मी लगायत अन्य महिलाहरु पनि त काममा नै भएको कुराले कता कता हौसला दिने गर्दछ ।’

तिजको दिन आफू ड्यूटी गरेर आफू जस्तै महिलाहरुको सेवा गर्दा पक्कै पनि यो समाज र देशका लागि केही गरिरहेको अनुभूति हुने उनी सुनाउँछिन् । ‘महिला दिदि बहिनीहरुकै सेवामा खटिन पाउदा धेरै रमाइलो लाग्छ,’ उनी भन्छिन्, ‘उहाँहरु धर्म गर्न विभिन्न मठ मन्दिरमा पूजा आराधना गर्नुहुन्छ हामी उहाँहरुको सेवामा निरन्तर खटिन्छौंँ ।’
लक्ष्मी यहाँनिर सेवा नै धर्म हो भन्ने सर्वव्यापी मान्यतालाई पुष्टि गर्न खोज्छिन् । त्यसो त, उही भावले उनमा जाँगर आउँछ, ड्यूटी गर्दाका सबै थकान हराउँछन् ।

प्रसिद्धिका र लक्ष्मी त प्रतिनिधि पात्र मात्र हुन् । प्रहरीसँगै सेना र सशस्त्रमा पनि थुप्रै महिला कर्मचारीहरु छन् । जो महान पर्वमा पनि आफ्नो कर्म पुरा गरिरहेका छन् । मन आएका रहरलाई कुल्चिएर कर्ममा लाग्ने ती महान नारीहरुलाई तीजको शुभकामना !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?