काठमाडौं । हाम्रो समाजमा तीज महिलाहरुले मनाउने एउटा महत्वपूर्ण पर्व हो । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बि नारीहरुले आफ्नो शौभाग्य र परिवारको सु–स्वास्थ्य अनि दिर्घायूकालागि व्रत बस्ने दिन हो भने अविवाहित नारीहरुले आफूले भनेजस्तै वर पाइयोस भनेर व्रत–आराधना गर्ने दिन हो ।
तीजलाई महिलाहरुको चाड भनेर भनिएपनि पुरुष र महिला दुवैका लागि यो पर्व निकै महत्वपूर्ण मानिन्छ । श्रीमान श्रीमती तथा अविवाहितहरुको लागि एक अर्काप्रतिको विश्वास र प्रेमसँग सम्बन्धीत पर्वको रुपमा तीजलाई लिइन्छ ।
तृतीया तिथिको दिनमा दिनभर भोकै (निराहार) र निर्जला व्रत बसिने भएकाले द्वितीया तिथिको राति दर खाने चलन छ । महिलाहरूले भोलिपल्ट तृतीयाको दिनमा जलाशयमा स्नान गरी पवित्र भई शुद्ध मनले निराहार व्रत बस्छन् । तीजको दिनमा पानीसम्म नखाइ निराहार र निर्जला व्रत बस्नाले भगवान शिव खुसी हुने र परिवारमा सुखसमृद्धि छाउने जनविश्वास रहि आएको छ ।
धार्मिक आस्था सँग-सँगै व्रतको विषयमा शारिरिक स्वास्थको कुरा पनि आउँछ । हिन्दूशास्त्रले बालक, वृद्ध, गर्भवती र रोगीले व्रतको नाममा भोको नबस्न भनेको छ । त्यस्ताले भगवानलाई मनैबाट सम्झे पनि फल पाउने बताइएको छ ।
शास्त्रमा खासै रुची नभएका तथा नजानेका व्यक्तिहरुलाई डाईटिसियन अनुश्री आचार्य पनि यही सल्लाह दिन्छिन् । उनको सल्लाह अनुसार सुगर, प्रेसरका बिरामी, थाइराइड, डायलासिस गरेका, नियमित औषधीको प्रयोग गर्नेहरु व्रत नबस्दा पनि हुन्छ ।
यस्ता व्यक्तिहरु व्रत बस्दा शरीरमा शक्ति एकदमै कम हुनुको साथै शरीरमा ब्लड सेल्स कम हुने र हेमोग्लोबिन कम हुने कारणले रिंगटा लाग्ने, गाह्रो हुने र बेहोस हुन सक्ने चेतावनी उनको छ ।
व्रतकै विषयमा युवा पण्डित सुरज दाहाल भन्छन्, ‘आस्था, विश्वास र परम्पराभन्दा पहिले स्वास्थ्य हो । हामी स्वस्थ भयौँ भने हाम्रा परम्परालाई राम्रोसँग निर्वाह गर्न सक्छौँ । हाम्रो शरीर नै कम्जोर छ भने परम्पराको नाममा गरिएको त्यस्तो व्रतले हामीलाई नै हानी गर्छ ।’ कुनै पनि हिन्दू शास्त्रले जबरजस्ती व्रत बस्नुपर्ने विषयलाई प्राथमीकता नदिएको पनि दाहाल बताउँछन् ।
कतीपय महिलाहरु तीजमा पानी पनि नखाइ व्रत बस्छन् । स्वास्थ्यको हिसाबले यसरी व्रत बस्दा समस्या हुने डाईटिसियन आचार्यको भनाइ छ । उनी भन्छिन्, ‘हामी ग्यास्ट्रिकको समस्या नभएका नेपाली कमै छौँ, यसरी पानि नखाइ व्रत बस्दा एक दिनको व्रतले महिनौँ समस्या निम्तने हुँदा शरीरको अवस्था अनुसार व्रत बस्नुपर्छ । खाने कुरा नखाई बस्न नसक्नेले व्रत नबस्दा राम्रो हुन्छ ।’
स्वाथ्यमा समस्या नभएका अथवा सामान्य अवस्थमा भएका व्यक्तिहरुले व्रत बस्नु शरीरलाई फाइदाजनक मानिन्छ । तर, आफ्नो स्वास्थ्यको ख्याल नगरी व्रत बस्दा यसले नकारात्मक असर पनि पार्छ ।
व्रत समापन भइसकेपछि पनि पालना गर्नुपर्ने सामान्य विषयको बारेमा डाईटिसियन आचार्यको अर्को सुझाव छ ।
दिनभरी निर्जला व्रत बसेका कारण पेटले एकैचोटि हेभी फूड लिन सक्दैन । शरीरले हेभी लोड लिन सक्ने अवस्थामा हुँदैन । कतिपयको व्रत सकियो अब एकैचोटी खाना खान्छु भन्ने सोच हुन्छ र पूजा गसिसकेपछि खाना खाने चलन पनि छ । तर, त्यो गलत बानी भएको र यस्तो बानी नगर्न उनी सुझाउँछिन् ।
वर्षमा एक दिन शरीरलाई बढी भार पर्ने किसिमले निराहार व्रत बस्नु भन्दा नियमित व्रत बस्नु उचित हुन्छ। एकैचोटि पूर्ण निराहार व्रत बस्नुपूर्व आंशिक बस्नु उचित हुन्छ । आंशिक व्रत बसेपछि निराहार व्रत बस्दा शरीरले व्रत बस्ने बानी पर्ने भएकाले आंशिक व्रत बसेपछि निराहार व्रत बस्नु उचित हुने उनको सुझाव छ ।
हिन्दू परम्परा र संस्कृतिअनुसार हेर्ने हो भने पनि फलफूल, पानी, दुध खाएर मात्र व्रत तोड्ने चलन रहेको छ ।
वास्तवमा तीज पर्वलाई व्रत बस्नुसँग मात्र लिएर नभई सामाजिक सांस्कृतिक रुपमा भेटघाट गर्ने दुःख, सुखका कुरा गर्ने रमाइलो गर्ने, हाँस खेल गर्नेजस्ता विभिन्न पक्षलाई हेर्दा बहुआयामिक देखिन्छ ।
व्रत बस्दा फाइदा बेफाइदाहरु दुवै हुन्छन् । धार्मिक हिसावले मात्र नभई सामाजिक साँस्कृतिकसँगै स्वास्थ्यको हिसाबले पनि कतिपय सन्दर्भमा यसलाई राम्रो मानिन्छ । सधै खाना खाँदै गर्दा बेलाबेला पाचन यन्त्रलाई पनि आरामको आश्यकता हुन्छ । यो हिसाबले पनि व्रत स्वास्थ्यको लागि लाभदायक देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया