एमाले चुनावी गठबन्धनको पक्षमा छैन, तालमेल गरेर जान सदैव खुला छ : महासचिव पोखरेल

लोकपथ
21
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीे स्थानीय तहमा तालमेल गरेर जान सदैव खुला रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित ‘पत्रकारसँग अन्तरसम्वाद’ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी स्थानीय तहमा तालमेल गरेर जान खुला रहेको बताएका हुन् । तर, कुनैपनि प्रकारको चुनावी गठबन्धनको पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ थियो ।

राजनीतिक दलहरुले चुनाव आफ्नो नीतिको आधारमा लडनुपर्ने तर्क गर्दै महासचिव पोखरेलले आफ्नो पार्टी गठबन्धन गरेर निर्वाचनमा जाने पक्षमा नरहेको पटकपटक दोहो¥याए । उनले भने, ‘आगामी निर्वाचनको लागि गठबन्धनको सन्दर्भमा हाम्रो स्पष्ट नीति छ । हामी कुनैपनि प्रकारको गठबन्धनको पक्षमा छैनौं ।

हामी आफ्नो नीतिको आधारमा निर्वाचनमा प्रस्तुत हुन गईराखेको छौं । स्थानीय तहमा तालमेल हुन सक्छ । तालमेलमा बारेमा हामी सदैव खुला छौं । तर चुनाव आफ्नो नीतिको आधारमा लड्नुपर्छ भन्ने मान्यताको पक्षमा छौं । त्यसकारण कुनै राजनीतिक दलसँग गठबन्धनको कुरा गरेको छैनौं । चुनावी तालमेलको कुरा गरेका छौं ।’

महासचिव पोखरेलले नागरिकता विधेयकसँग जोडेर राष्ट्रपतिले राजनीतिमा दिने कुरा अतिरञ्जनामात्रै भएको टिप्पणी गरे । उनले सो विधेयक राष्ट्रपति कहाँ पुगिनसकेको अवस्थामा त्यसबारेमा राष्ट्रपतिले के गर्ने भन्ने विषयमा टिप्पणी गर्न आवश्यक नरहेको स्पष्ट पारे ।

महासचिव पोखरेलले भने, ‘नागरिकता विधेयकसँग जोडेर सम्मानीय राष्ट्रपतिको राजीनामा भन्ने कुराको प्रश्न चाहीँ एक प्रकारले बजारमा अतिरञ्जना सृजना गर्ने प्रयास हो भन्ने मलाई लाग्छ । किनकी, विधेयक अन्तिम रुपमा राष्ट्रपति कहाँ पुगैकै छैन । जब राष्ट्रपति कहाँ पुगेकै छैन भने त्यो विषयमा राष्ट्रपतिको कुरा के–कस्तो भन्ने कुरा आम सञ्चार माध्याममा जो आएको छ, त्यो तर्कको कुरा हो ।

विधेयक अहिले पनि विचाराधिन अवस्थामा छ । जबसम्म राष्ट्रपतिको टेवलमा पुग्दैन, त्यतिबेलासम्म विधेयकको सन्दर्भमा के गर्ने भन्ने प्रश्न चाँही आउँछ जस्तो मलाई लाग्दैन ।’
महासचिव पोखरेलले नेपाली राजनीतिलाई सही बाटोमा ल्याउनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्नु परेको बताए ।

जनताको पक्षमा काम गरेको नेतालाई घेराबन्दी गरिएकाले त्यस्ताहरुलाई दण्डित गर्न पनि पार्टीले ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर निर्वाचनमा होमिएको उनले बताए । महासचिव पोखरेलले आगामी निर्वाचनमा बहुमत ल्याउनका लागि आफ्नो पार्टीले पार्टीका हरेक सदस्यलाई दुई मत थप गर्ने गरी अघि बढने रणनीति तय गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?