नागरिकता विधेयक : कांग्रेस पदाधिकारी राष्ट्रपतिलाई भेट्न शीतल निवास जाँदै

लोकपथ
65
Shares

काठमाडौं । नागरिकता विधेयकलाई लिएर नेपाली कांग्रेसका पदाधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्न जाने भएका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस पदाधिकारी दिउँसो २ बजे राष्ट्रपति भवन शीतल निवास जाँदैछन् ।

संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले १५ दिनसम्म होल्ड गरी फिर्ता पठाएपछि सरकार र शीतल निवासबीच दूरी बढेको हो ।

नागरिकता विधेयककै विषयमा छलफल नेपाली कांग्रेसको पदाधिकारी टोली आज राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास जाँदैछ । प्रधानमन्त्री एवं कांग्रे सभापति शेरबहादुर देउवा नेतृत्वमा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहितको टोली शीतल निवास जान लागेका हुन् ।

बालुवाटार स्रोतका अनुसार नागरिकता विधेयक प्रमाणीकरणका लागि कांग्रेस टोलीले राष्ट्रपति भण्डारीलाई आग्रह गर्नेछ । नागरिकता विधेयककै कारण निर्वाचनको माहोल नबढेको निष्कर्षसहित कांग्रेसले राष्ट्रपतिलाई भेटेरै यसबारे छलफल गर्न लागेको हो । राष्ट्रिय सभाबाट विधेयक पारित भए पनि राष्ट्रपतिले ‘होल्ड’ मा राख्ने संकेत दिएपछि कांग्रेसले विधेयक प्रमाणीकरण गर्न पहल थालेको हो ।

यसअघि राष्ट्रपति भण्डारीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको टोलीसँग शीतल निवासमा छलफल गरेकी थिइन् । राष्ट्रपतिले नागरिकता विधेयकमा आफ्नो कुनै स्वार्थ नरहेको जनाउँदै आफूले संविधानअनुसार विधेयक सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएको स्पष्ट पारेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?