रुकुम पश्चिममा आधुनिक ल्याब तथा एक्स–रे सेवा सञ्चालन

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आधुनिक ल्याब तथा एक्स–रे सेवा सञ्चालनमा ल्याएको छ । सो ल्याब र एक्स–रे सेवाको प्रतिनिधिसभाका सांसद एवं नेकपाका नेता जनार्दन शर्माले एक कार्यक्रमबीच शनिबार उद्घाटन गरेका थिए ।  

उनले चुनावको बेला जनतासमक्ष गरेका प्रतिबद्धतामध्ये एउटा प्रतिबद्धता पूरा भएको बताए । “हामीले चुनावमा गरिएका धेरैमध्ये एक प्रतिबद्धता पूरा गरेका छौँ”, उनले भने, “अब यहाँका नागरिकले ल्याब र एक्स–रे सेवाका लागि टाढा जानुपर्ने र यसकै लागि धेरै पैसा खर्च गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ, अब हाम्रो मुख्य काम भनेको शिक्षा, स्वास्थ्य र उत्पादनमा जोड दिने हुनेछ ।” 

गाउँपालिकावासीलाई स्थानीय तहमै भरपर्दो स्वास्थ्य सेवा दिने अभियानअन्तर्गत ल्याब र एक्स–रे सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका अन्तर्गतको सिम्ली स्वास्थ्य चौकीमा आधुनिक ल्याब तथा सादा एक्स–रे सेवा शुरु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक लोकेन्द्रबहादुर डाँगीले जानकारी दिए । गाउँपालिकाको रु १५ लाख बजेटबाट ल्याब र एक्स–रे सेवा सञ्चालनमा ल्याइएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?