आज कुशे औंसी : यस्तो छ यसदिनको महत्व

लोकपथ
13
Shares

काठमाडौं । आज भाद्र कृष्ण अमावश्य । हिन्दूधर्ममा आजको दिनको विशेष महत्व छ । भाद्र कृष्ण अमावश्यलाई कुशे औंसी, पितृतर्पणी औंसी/गोकर्ण औंसी र बुबाको मुख हेर्ने दिनको रुपमा पनि लिइन्छ ।

आज बिहान सबेरै नुहाएर शुद्ध भई घरमा कुश भित्र्याउनुको साथै श्रद्धापूर्वक आफ्नो बुबाप्रति सम्मान व्यक्त गरिन्छ । जसलाई आमी बाबुको मुख हेर्ने पनि भन्छौं ।

आजको दिनलाई विशेषगरी देवता, दिवंगत पितृ र आफ्नो बुबाप्रतिको सम्मानको रुपमा मनाइन्छ ।

आज गरिएको दान तथा तर्पणले मृत पिताको आत्माले शान्ति प्राप्त गर्ने जनविश्वास रहेको छ ।

कुशे औंसी

आजको दिन ब्राम्हणले मन्त्रोच्चारण गर्दै कुश उखलेर यजमानको घर–घरमा पु¥याउँछन् । कुशलाई धार्मिक एवम् पितृकार्यका निम्ति अतिआवश्यक र पवित्र वस्तु मानिएको छ ।

विभिन्न हिन्दूशास्त्रमा कुशको उत्पत्तीबारे फरक–फरक दृष्टान्तहरु पाईन्छ ।

कुशको उत्पत्ति

स्वस्थानी, श्रीमद्भागवत महापुराण, विष्णु पुराण आदिमा जालन्धरको पत्नी वृन्दाले भगवान विष्णुलाई दिएको चार श्रापमध्ये घाँस हुनपरोस् भन्ने श्राप पनि एक थियो । वृन्दाकै श्रापअनुसार भगवान विष्णु घाँसको रुपमा कुश भएको मानिन्छ । त्यसैले कुशलाई भगवान विष्णुको स्वरुप मानिन्छ ।

त्यस्तै दानव र असुर मिलेर गरेको समुन्द्र मन्थनका क्रममा कुशको उत्पत्ति भएको पनि विश्वास गरिन्छ ।

सृष्टिको सुरुवातमै कुशको पनि उत्पत्ति भएको हो भन्ने अर्को मान्यता पनि छ । कुशमा ब्रह्मा, विष्णु र महेश्वरको बास रहेको हुन्छ भन्ने धार्मिक विश्वास पनि छ । कुशकोे फेदमा ब्रह्मा, माझमा विष्णु र सबैभन्दा माथि शिवजीको बास रहेको मानिन्छ । त्यसैले पनि कुशलाई उखेल्दा जरासहितै उखेल्नु राम्रो मानिन्छ ।

कुशको वैज्ञानिक महत्व

कुशको धार्मिक महत्वको साथै वैज्ञानिक महत्व पनि उत्तिकै छ । वैज्ञानिकहरुको विभिन्न शोधले कुशमा विकिरण परावर्त गर्ने क्षमता रहेको तथ्यलाई प्रमाणित गरेको छ ।

साथै, विभिन्न ओषधोपचारमा पनि कुशको प्रयोग हुँदै आएको छ भने पहिरो रोकथाममा पनि कुश प्रभावकारी मानिन्छ । कुशको जराले माटोलाई बलियोसँग समाउने हुँदा पहिरो रोकथाममा यो प्रभावकारी मानिन्छ ।

गोकर्ण औंसी/पितृतर्पणी औंसी

आजको दिनलाई पितृतर्पणी औंसीको रुपमा पनि मनाइन्छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पितृ श्राद्ध गर्नेको आज ठूलै भिडभाड देख्न सकिन्छ ।

आफ्ना पितृहरुको मृत्युभएको दिन थाहा नहुनेहरुले पनि आजकै दिन गोकर्णमा गएर पितृहरूको श्राद्ध गर्छन् । गोकर्णमा गएर पितृतर्पण तथा श्राद्ध गर्ने भएका कारण पनि पितृतर्पणी औंसीलाई गोकर्ण औंसी पनि भनिएको हो ।

बुबाको मुख हेर्ने दिन

बुबाको मुख हेर्नेभन्दा पनि बाबुप्रति श्रद्धा गर्ने दिन हो आज । पिता अर्थात् बुबाको शब्दिक अर्थ रक्षक भन्ने हुन्छ । त्यसैले आज आफ्नो रक्षकको रुपमा रहेका बाबुप्रति सम्मान व्यक्त गरिन्छ ।

नेपालका कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन धार्मिकभन्दा पनि एउटा सँस्कारको रुपमा विकसित भएको छ । यस दिन सबै नेपालीहरु फलफूल, मिठाइ, कपडा तथा बाबुलाई मनपर्ने वस्तु लिएर आफ्नो बुबालाई भेट्न जान्छन् । यही बुबा आफैसँगै छन् भने पनि बुबाप्रतिको यो सम्मान समान रुपले व्यक्त गरिन्छ ।

यस पर्वले पारिवारिक सहिष्णुता र सम्मानको भावनालाई पनि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?