गण्डकीलाई फर्केर हेर्दा : कुन जिल्लामा कसको दबदबा ?

काठमाडौं । संघीय संरचनाअनुसार ११ वटा जिल्ला मिलेर बनेको छ–गण्डकी प्रदेश । राजनीतिक रुपमा यो प्रदेश सधैं चर्चाको शिखरमा रहन्छ । उसो त निर्वाचनका बेला यो प्रदेशले धेरैको ध्यान खिच्छ ।

सरकारले आगामी मंसिर ४ का लागि निर्वाचनको मिति घोषणा गरेसँगै प्रदेशमा राजनीतिक गतिविधि ह्वात्तै बढेको छ । गण्डकीमा आगामी निर्वाचनमा कसले कति सिट ल्याउला भन्ने विषयमा चोक, चौतारोदेखि राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ ।

गण्डकीका ११ जिल्लामा १८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् । २०७४ को निर्वाचनमा यो प्रदेशको प्रतिनिधि सभामा एमालेले एकछत्र कब्जा जमाएको थियो । तत्कालीन बाम गठबन्धन (एमाले–माओवादी) को तालमेलका कारण पनि एमालेलाई जित निकाल्न सहज भएको थियो । भने, त्यही बाम गठबन्धनको भुमरीमा परेर कांग्रेसले यो प्रदेशबाट एउटामात्र प्रतिनिधि सभा जित निकाल्यो ।

त्यतिबेला एमालेले १३, माओवादीले ३ र तत्कालीन नयाँ शक्तिले १ निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो । दुई ठूला कम्युनिष्ट पार्टी एकै ठाउँमा हुनुले पनि त्यतिबेला कांग्रेसलाई जित निकाल्न गाह्रो हुन स्वभाविकै हो । तर, अहिले परिस्थिति परिवर्तन भएको छ । त्यतिबेला एकै ठाउँमा उभिएका एमाले र माओवादी अहिले बेग्लाबेग्लै बाटोमा छन् ।

साथै, एमालेको एउटा समूह फुटेको छ । साथै, पाँच दलीय गठबन्धन निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सुरसारमा छ । त्यसैले ०७४ भन्दा ०७९ को निर्वाचन परिणाम फरक आउने अनुमान गरिएको छ ।

०७४ लाई फर्केर हेर्दा !

कास्की

०७४ को निर्वाचनमा कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा एमालेले जित हासिल गरेको थियो । क्षेत्र नं १ मा बाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका खगराज अधिकारीले विजयी भएका थिए । त्यस्तै, क्षेत्र नं २ बाट स्व.रविन्द्र अधिकारी र क्षेत्र नं ३ एमालेका जगतबहादुर विश्वकर्माले जित हासिल गरेका थिए ।

क्षेत्र नं २ बाट निर्वाचित अधिकारी हेलिकप्टर दुर्घटनामा मृत्यु भएसँगै उक्त क्षेत्रमा भएको उपनिर्वाचनमार्फत उनकी धर्मपत्नीसमेत रहेकी नेकपा एमालेकी विद्या भट्टराईले जित हासिल गरिन् । हालसालै सम्पन्न स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत परिणामलाई हेर्ने हो भने क्षेत्र नम्बर २ र ३ मा एमाले अघि छ ।

क्षेत्र नम्बर २ मा एमालेका वडाध्यक्ष उम्मेदवारहरुले २१ हजार १ सय ६४ मत ल्याएका छन् भने कांग्रेसको १९ हजार ८ मत छ । त्यस्तै, माओवादीको १ हजार १ सय ९८ मत हुँदा एकीकृत समाजवादीको २ हजार ५३ मत । यस्तै, क्षेत्र नम्बर ३ मा एमालेको २९ हजार ८ सय ५, कांग्रेसको २८ हजार ८ सय ४६, माओवादी २ हजार ४ सय, एकीकृत समाजवादीको ५ सय १ मत छ ।

यद्यपि, क्षेत्र नम्बर १ मा कांग्रेसका वडाध्यक्षहरुले पाएको मतपरिणाम बढी छ । जहाँ कांग्रेसले ३३ हजार ८ सय ३७ मत ल्याउँदा एमालेका वडाध्यक्षहरुले ३० हजार १ सय ९६ मत प्राप्त गरेका छन् ।

बागलुङ

दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा तत्कालिन बाम गठबन्धनका उम्मेदवारले जित हासिल गरेका थिए । जसमा क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार सूर्य पाठक र क्षेत्र नं २ मा माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेलले जित हासिल गरेका थिए ।

तर, आगामी निर्वाचनमा माओवादी कांग्रेससहितको गठबन्धन तालमेल गरेका अवस्थामा भने एमालेलाई असहज छ । किनकी, बाग्लुङ राष्ट्रिय जनमोर्चाको राम्रो पकड क्षेत्र हो । यद्यपि, स्थानीय निर्वाचनको मत परिणाम हेर्दा एमालेले प्राप्त गरेको मत बढी छ । क्षेत्र नम्बर १ मा एमालेका वडाध्यहरुले २१ हजार ९ सय ७८ मत ल्याउँदा कांग्रेसका १९ ज ५ सय १३ मै अड्किए ।

त्यस्तै, जनमोर्चाले ६ हजार ६७ मत ल्याउँदा माओवादीका वडाध्यक्षहरुले २ हजार ५ सय २९ मत ल्याएका छन् । त्यस्तै, एकीकृत समाजवादीले २ हजार ४ सय ५१ म्त ल्याएको छ ।
यस्तै, क्षेत्र नम्बर २ मा पनि १९ हजार ३० मत सहित एमालेका वडाध्यक्षले पाएको मत बढी छ । यता कांग्रेसले १७ हजार ७ सय ५१, माओवादी ९ हजार ७ सय ५१, जनमोर्चाका ६ हजार ६ सय ७८ र एसले ३ सय ८८ मत ल्याएका छन् ।

पर्वत

एउटा मात्र क्षेत्र रहेको पर्वतमा २०७४ को निर्वाचनमा तत्तकालिन बाम गठबनधनका उम्मेदवार एमालेका पदम गिरीले नेपाली कांग्रेसका अर्जुन जोशीलाई १३ हजारको मतान्तरसहित हराएका थिए ।

गत स्थानीय तहको निर्वाचन मतपरिणामलाई नियाल्दा पनि एमालेका वडाध्यक्ष पाएको मत धेरै छ । एमालेका उम्मेदवारले ३५ हजार ७ सय १६ मत ल्याउँदा कांग्रेसका उम्मेदवारहरुले ल्याएको मत २९ हजार ३ सय ४४ छ ।

गठबन्धनमा आवद्ध अन्य दलको मत जोड्दा समेत एमाले एक्लैले पाएको मत बराबर देखिन्छ । यसर्थ, पर्वतमा आगामी निर्वाचनमा एमाले र गठबन्धनबीचको प्रतिष्पर्धा रोचक हुने देखिएको छ ।

मनाङ

थोरै जनसंख्या रहेको मनाङको राजनीति भने अलि फरक छ । यहाँ २०७४ को निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार रहेका एमालेका पोल्देन छोपाङ गुरुङ विजयी भएका थिए । त्यतिबेला उनले २ हजार ३ सय मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका टेक बहादुर गुरुङले २ हजार २१ मत प्राप्त गरेका थिए ।

यता स्थानीय निर्वाचनमा पनि नेकपा एमालेका वडाध्यक्षले पाएको मत धेरै छ । एउटा मात्र क्षेत्र रहेको मनाङमा एमालेका वडाध्यक्षले पाएको मत १ हजार २ सय ५८ र नेपाली कांग्रेसका उम्मेदवारले पाएको मत १ हजार २ सय २० छ ।

मुस्ताङ

फरक परिवेशको राजनीति रहेको मुस्ताङमा गत निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका प्रेस प्रसाद तुलाचन ३ हजार ५ सय ४४ मतसहित विजयी भएका थिए । यता उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका रोमी गौचन थकाली ३ हजार १ सय ८१ मतमै सिमित भए ।

एउटा मात्र क्षेत्र रहेको मुस्ताङमा स्थानीय निर्वाचनमा पनि नेकपा एमालेबाट वडाध्यक्षहरुले ल्याएको मत धेरै छ । एमालेका उम्मेदवारले ३१२८ र कांग्रेसका उम्मेदवारले २७४२ मत प्राप्त गरेका छन् ।

गोरखा

आम निर्वाचन २०७४ मा २ वटा निर्वाचन क्षेत्र रहेको गोरखाको क्षेत्र नं १ मा बाम गठबन्धनबाट माओवादी केन्द्र र क्षेत्र नं २ बाट कांग्रेसको सहयोगमा नयाँ शक्ति नेपालले निर्वाचन जितेको थियो । क्षेत्र नं १ मा माओवादी केन्द्रका हरिप्रसाद अधिकारीले २९ हजार ८ सय ६० मत प्राप्त गरेका थिए, भने नेपाली कांग्रेसका उम्मेदवार चिनकाजी श्रेष्ठले २६ हजार ६ सय ४३ मत प्राप्त गरेका थिए ।

यता क्षेत्र नं २ मा नयाँ शक्ति नेपालका डा. बाबुराम भट्टराईले ३१ हजार ८ सय ७ मतसहित निर्वाचित भएका थिए भने बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले २४ हजार ९ सय ३३ मतसहित पराजित भएका थिए ।

यता स्थानीय निर्वाचनमा क्षेत्र नं १ मा नेपाली कांग्रेसका वडाध्यक्षहरुले पाएको मत धेरै छ । सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारले कुल २७ हजार ८४, नेकपा माओवादी केन्द्रका उम्मेदवारले २५ हजार ४ सय ७२, नेकपा एमालेका उम्मेदवारले १४ हजार ५ सय ६६ मत प्राप्त गरेका थिए ।

यता क्षेत्र नं २ मा माओवादी केन्द २२ हजार २ सय ५० मतसहित अग्रस्थानमा छ । यता नेपाली कांग्रेसका उम्मेदवारले २१ हजार १ सय ३६, नेकपा एमालेका उम्मेदवारले ७ हजार ९ सय २६ मत प्राप्त गरेका थिए ।

तनहुँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला भएका कारण पनि तनहुँको राजनीति सधैँ चर्चामा रहन्छ । तर २०७४ को निर्वाचनमा भने वरिष्ठ नेता पौडेलले आफ्नो जित जोगाउन सकेनन् ।

क्षेत्र नं १ मा बाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका उम्मेदवार कृष्ण कुमार श्रेष्ठ (हाल एस)ले ३४ हजार ४ सय ९२ मत ल्याएका थिए भने वरिष्ठ नेता पौडेलले २७,६९० मत प्राप्त गरेका थिए । क्षेत्र नं २ मा बाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका केदार सिग्देलले ३२ हजार ९ सय २४ मतसहित जित हासिल गरेका थिए ।

यता नेपाली कांग्रेसका शंकर भण्डारीले २९ हजार ६ सय ४५ मत प्राप्त गरेका थिए । गत स्थानीय निर्वाचनलाई हेर्दा क्षेत्र नं १ मा नेपाली कांग्रेसका वडाध्यक्षहरुले पाएको मत धेरै छ । कांग्रेसले ३३ हजार १ सय ६, एमालेले २२ हजार २ सय १०, माओवादी केन्द्रले ८ हजार ४ सय ७४ मत ल्याएका थिए ।

यता क्षेत्र नं २ मा थोरै मतान्तरसहित नेकपा एमालेका उम्मेदवारले पाएको मत धेरै छ । एमालेका वडाध्यक्षहरुले प्राप्त गरेको मत ३० हजार ९ सय ३२, नेपाली कांग्रेसले ३० हजार ६ सय ६, माओवादी केन्द्रले ६ हजार ८ सय ३६ मत प्राप्त गरेका थिए ।

लमजुङ

एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा २०७४ को निर्वाचनमा तत्कालिन बाम गठबन्धनका उम्मेदवारले जित हासिल गरेका थिए । लमजुङमा माओवादी केन्द्रका देव गुरुङले ३९ हजार ४ सय ६८ मत ल्याएका थिए भने नेपाली कांग्रेसका उम्मेदवार दिलबहादुर घर्तीले ३१ ह्जार ६७ मत प्राप्त गरेका थिए ।

तर, स्थानीय निर्वाचनमा भने माओवादी केन्द्रका वडाध्यक्षहरुले ल्याएको मत भने तेस्रो स्थानमा रहेको छ । लमजुङमा माओवादीले ६ हजार १ सय २७, नेकपा एमालेले ४० हजार १ सय ९७, नेपाली कांग्रेसले ३५ हजार २ सय ६७ मत ल्याएको थियो ।

यसरी हेर्दा कांग्रेस माओवादीसहितका दल गठबन्धन गरेर गएको अवस्थामा पनि एमालेसँगको प्रतिष्पर्धा त्यति सहज देखिँदैन ।

स्याङ्जा

२०७४ को निर्वाचनमा स्याङ्जाका दुवै क्षेत्रमा बाम गठबन्धनले जित हासिल गरेको थियो । क्षेत्र नं १ मा तत्कालीन बाम गठबन्धनका उम्मेदवार एमालेका नारायण प्रसाद मरासिनीले ३९ हजार २ सय २६ मतसहित जित हासिल गरेका थिए । भने, उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राजु थापाले २८ हजार ६ सय ६२ मत ल्याएका थिए ।

यता क्षेत्र नं २ मा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई हराउँदै गठबनधनबाट उम्मेदवार बनेकी एमालेकी पद्माकुमारी अर्याल निर्वाचित भएकी थिइन् । अर्यालले ३५ हजार १ सय ४२ मत ल्याउँदा श्रेष्ठ ३१ हजार ४ सय ३६ मतमै सिमित भए ।

गत स्थानीय तहको निर्वाचनमा भने दुवै क्षेत्रमा वडाध्यक्षहरुले पाएको मतका आधारमा कांग्रेस अघि छ । क्षेत्र नं १ मा वडाध्यक्षका उम्मेदवारले ३७ हजार ५ सय १०, एमालेले ३६ हजार ८ सय ४५, माओवादी केन्द्रले १ हजार ९ सय ८४ मत ल्याएका छन् ।

यता क्षेत्र नं २ मा वडाध्यक्षहरुले पाएको मतको आधारमा नेपाली कांग्रेस ३६ हजार ८ सय ६, एमाले ३४ हजार ८ सय ९ र माओवादी केन्द्रले १ हजार २ सय ४३ मत प्राप्त गरेका छन् ।

म्याग्दी

म्याग्दीमा पनि एउटामा प्रतिनिधि सभा क्षेत्र छ । जहाँ अघिल्लो निर्वाचनमा तत्कालिन बाम गठबन्धनका उम्मेदवार एमालेका भुपेन्द्रबहादुर थापाले २३ हजार ३ सय ८ मत ल्याएका थिए । यता उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका २० हजार ९ सउ ८० मत प्राप्त गरेका थिए ।

गत स्थानीय निर्वाचनमा पनि नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत धेरै छ । जसअनुसार नेकपा एमालेले २३ हजार २ सय १०, कांग्रेस २० हजार ३८, माओवादी केन्द्र ८ हजार ५ सय ९३ मत प्राप्त गरेका थिए ।

नवलपुर (पूर्व)

दुई वटा निर्वाचन क्षेत्र रहेको नवलपुर (पूर्व) को क्षेत्र १ मा नेपाली कांग्रेस र क्षेत्र नं २ मा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।

क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शशांक कोइराला ४० हजार ६ सय २० मतसहित निर्वाचित भएका थिए । यता उनका निकटतम प्रतिद्धन्दी बाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका भविसोर पराजुलीले ३६ हजार ५ सय ९६ मत प्राप्त गरेका थिए ।

क्षेत्र नं २ मा बाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका तिलबहादुर महत क्षेत्रीले ३९ हजार ५३ मतसहित जित हासिल गरेका थिए । भने, उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका विष्णुकुमार कार्कीले ३७ हजार ७ सय २० मत ल्याएका थिए ।

स्थानीय निर्वाचनको कुरा गर्ने हो भने क्षेत्र नं १ मा नेपाली कांग्रेसका वडाध्यक्षले पाएको मत बढी देखिन्छ । नेपाली कांग्रेसका उम्मेदवारले ४० हजार ५ सय ११, नेकपा एमालेले ३९ हजार ९ सय ५१, राप्रपाले २ हजार ३ सय ७३ मत प्राप्त गरेको छ, भने नेकपा माओवादी केन्द्रको उम्मेदवारले १ हजार ९ सय २१ मत प्राप्त गरेको छ ।

क्षेत्र नं २ मा वडाध्यक्षहरुको मतको आधारमा ३ हजारको मतान्तरसहित एमाले अघि छ । नेकपा एमालेले ४१ हजार ७ सय ९८, कांग्रेसले ३८ हजार ६ सय १९, राप्रपा २ हजार ३ सय ५५ र माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले १ हजार ७ सय ४२ मत प्राप्त गरेका थिए ।

यसरी हेर्दा आगामी निर्वाचनमा कांग्रेस माओवादीसहित गठबन्धन गरेर जाँदा एमालेसँगको प्रतिष्पर्धा रोचक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?