बिवादमा प्रदेश ७ को राजधानी: धनगढीमा अनिश्चितकालीन बन्दको घोषणा

धनगढी । शनिबारबाट धनगढीमा अनिश्चितकालीन बन्दको आह्वान गरिएको छ । प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णयविरुद्ध बन्द आह्वान गरिएको हो ।

शनिबार (आज) बन्दको पहिलो दिन सर्वसाधरणमा आंशिक प्रभाव परेको छ । 

बिभिन्न स्थाबाट आउने रात्री बसहरुलाई जिल्लामा भित्रिन दिइएको भएपनि दिवा सेवाका लामो दुरीका कुनै पनि गाडीहरु चलेका छैनन् ।  बन्दकर्ताहरुले साँझ पाँच बजेपछि मात्रै लामो दुरीका गाडीहरु चल्न दिने निर्णय गरेका छन् । 

सार्वजनिक विदाको दिन प्राय उद्योग कलकारखाना र शिक्षण संस्था बन्द नै हुने भएकाले खासै कुनै असर परेको छैन । तर, धनगढी बजार भने बन्द छ ।

बन्दको बेला सुरक्षा व्यवस्था कडा पारिएको छ । सशस्त्र र नेपाल प्रहरीको टोली ठाउँ–ठाउँमा परिचालन गरिएको छ ।

प्रदेशसभामा शुक्रबार प्रदेश ७ को स्थायी राजधानी गोदावरी नगरपालिकाको वडानम्बर २ मा राख्ने र प्रदेशको नाम सुदूरपश्चिम राख्ने निर्णये दुई तिहाई मतले स्वीकृत गरेको थियो । 

शुक्रबार बसेको प्रदेशसभा बैठकमा नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित विशेष समितिका संयोजक तारा लामा तामाङले प्रतिवेदन स्वीकृत गरियोस भनी गरिएको प्रस्ताव र प्रदेशसभा सदस्य वीरमा चौधरी र शान्ति नेपाली समर्थनमा रहेको प्रतिवेदन दुई तिहाई बहुमतले स्वीकृत गरेको हो ।

प्रदेश ७ को राजधानी र नामका लागि मतदान हुँदा राजधानी गोदावरी नगरपालिकाको वडा नम्बर ४ र २ मा रहने तथा नाम सुदूरपश्चिम राख्ने पक्षमा ३८ मत परेको थियो  । विपक्षमा शून्य मत परेको थियो । 

५३ सदस्यीय यो प्रदेशमा नेकपाका ३९ जना,  नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना सांसद रहेका थिए । 

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना गरी १४ जना प्रदेशसभा सदस्यहरुले वैठक बहिष्कार गरेका थिए । प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले धनगढीमै राजधानी हुनुपर्ने भन्दै संसदमै नाराबाजी समेत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?