नेपालमै टेलिभिजन उद्योगको खेल्दै सामसुङ

लोकपथ
13
Shares

काठमाडौं । विश्वकै एक अग्रणी इलेक्ट्रोनिक्स र स्मार्टफोनहरुको ब्राण्ड सामसुङले नेपालमा टेलिभिजन उद्योगको स्थापना गर्ने भएको छ । हिम इलेक्ट्रोनिक्सको सहकार्यमा सामसुङले नेपालमा टेलिभिजन उद्योगको स्थापना गर्ने भएको हो ।

नेपाल सरकारको स्थानीय उत्पादन क्षमताहरु वृद्धि गर्ने नीति बमोजिम नयाँ कारखानाको स्थापना गर्न लागिएको हो । नेपालमा विगत धेरै वर्षदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा सामसुङले नवलपरासीमा एक टिभी कारखाना स्थापना गर्ने बताइएको छ । जसको परम्परागत धार्मिक विधि अनुसार हिजो (बुधवार) कारखानाको शिलान्यास कार्य सम्पन्न भएको छ ।

शिलान्यास समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु र सामसुङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा (सीएफओ) एचके पार्कको उपस्थिति रहेको थियो । यसैगरी समारोहमा लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही, गोल्छा समुहका अध्यक्ष र प्रबन्ध निर्देशक शेखर गोल्छा, सामसुङ दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवम् सिइओ केन काङ, मित्रराष्ट्र दक्षिण कोरीयाका महामहीम राजदूत पार्क चोँग सुक, रामग्राम नगरपालिकाका प्रमुख जिल्ला अधिकारी (सिडीओ) श्रवणकुमार पोखरेललगायत स्थानीयको उपस्थिति रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै सामसङ दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवम् सिइओ केन काङले भने “हाम्रो लामो समयदेखिको साझेदार हिम इलेकट्रोनिक्ससँग मिलेर हामीले नवलपरासीमा स्थापना गर्न लागेको यो नयाँ एलइडि टिभी कारखाना नेपाली जनता प्रतिको हाम्रो निरन्तर प्रतिबद्धताका साथै सामसुङका उत्पादनहरु प्रति उपभोक्ताहरुले देखाएको बढ्दो विश्वास एवम् मायाको प्रतिक हो । हामीलाई नेपाल सरकार र स्थानीय निकायहरुले दिएको साथ र सहयोगको प्रति आभार व्यक्त गर्दछौं ।”

सोही समारोहलाई सम्बोधन गर्दै गोल्छा अर्गनाइजेसनका अध्यक्ष एवम् प्रबन्ध निर्देशक शेखर गोल्छाले “यो नयाँ टिभी कारखाना नेपालको लागि एउटा कोसेढुङ्गा साबित हुने बताए । ” उनले कारखानाको स्थापनाले देशमा उद्योगधन्दाको विकाससँगै दक्षता र उत्पादकत्वमा पनि वृद्धि भएर विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । सामसङसँगको २२ वर्ष लामो सहकार्यको सुखद परिणाम हो ।

यो कारखानाले नेपालको उत्पादन यात्रामा एक महत्वपूर्ण अध्यायको शुरुवात गर्नेछ र स्थानीय उद्यम, नवीन सीप र दक्षता, आविष्कारहरु तथा रोजगारीका साथ देशमा इलेक्ट्रोनिक्सको क्षेत्रलाई रुपान्तरण गर्ने सम्भावनाहरु व्यापक बनाएको छ । यसले प्रभावकारिता र उत्पादकत्व वृद्धि गर्न, थप रोजगारीका अवसरहरु सिर्जना गर्न र देशमा एक बलियो इलेक्ट्रोनिक्स उत्पादन गर्ने वातावरण बनाउन मद्दत पुग्नेछ ।

कारखानाले सन् २०२३ देखि उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ । नेपालमा सन् १९९७ देखि सामसुङले प्रवेश पाएको हो र आज देशमा यो ब्राण्ड घरेलु नाम बनिसकेको छ । हाल यसले आफ्नो साझेदार मार्फत् नेपालमा उपभोक्तामुखी इलेक्ट्रोनिक्स उत्पादनहरु टेलिभिजन, रेफ्रिज्रेटर, वासिङ्ग मेसिन, माइक्रोवेव र स्मार्ट फोनहरु बिक्री वितरण गर्दै आइरहेको छ । नेपालमा ५ सय भन्दाबढी इलेक्ट्रोनिक्स रिटेल स्टोरहरु र ग्राहक सेवा केन्द्रहरुको बलियो सञ्जालमार्फत् सामसुङले सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?