काठमाडौं । नेकपा एमालेको पोलिट ब्यूरोको बिहीबार बसेको दोस्रो बैठकले भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने एजेण्डाबारे निर्णय गरेको छ । बैठकको निर्णय एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका हुन् ।
१० र ११ भदौमा पार्टीको केन्द्रीय कार्यालयमा हुने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने गरी एक दर्जनभन्दा बढी एजेण्डा पोलिटब्यूरो बैठकले तयार गरेको छ । जसअनुसार पहिलो एजेण्डा राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिसँग सम्बन्धित रहेको प्रमुख गुरुङको भनाइ छ ।
यस्तै, सत्ता गठबन्धनको गलत क्रियाकलाप, त्यसका निर्णयहरूबाट नेपाली राजनीतिमा हुनसक्ने दुरगामी प्रभावबारे छलफल गर्ने निर्णय पनि भएको छ । सरकारका कारण भष्ट्राचार मौलाएको, अनियमितता र अराजकता फैलिएको विषयमा पनि छलफल गर्ने निर्णय भएको छ । सत्ता गठबन्धनले लोकतन्त्रलाई कमजोर बानाएको निष्कर्षसहित केन्द्रीय कमिटीमा छलफल गर्ने तयारी छ ।
यस्तै, मुद्रास्फिति र मुल्यवृद्धि बढेको विषयमा केन्द्रीय कमिटीमा छलफल हुनेछ । प्रमुख गुरुङका अनुसार आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी बारेमा पनि छलफल हुनेछ । गत स्थानीय तह निर्वाचनको समीक्षा पनि हुनेछ ।
आजको बैठकमा राजनीतिक प्रतिवेदनको सारांश बताउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका कारण स्थानीय तह निर्वाचनमा सिट संख्याका हिसाबले एमाले दोस्रो भएपनि लोकप्रियताका हिसाबले पहिलो पार्टी बताएका थिए ।
प्रमुख गुरुङकाअनुसार भोलिको बैठकमा पहिलो एजेण्डाका रुपमा पार्टी अध्यक्षको लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ । प्रतिवेदनमाथि छलफल र समूहगत छलफलपछि आवश्यक निर्णय लिइनेछ । दोस्रो एजेण्डाका रुपमा स्थायी कमिटीको बैठकले केन्द्रीय सदस्यमा मनोनीत गरेका चार जना व्यक्तिलाई सपथग्रहण गराएर बैठकमा सहभागि गराइनेछ । तेस्रो एजेण्डाका रुपमा यसअघि पार्टी सचिवालयले गरेका सबै निर्णयहरू अनुमोदनका लागि प्रस्तुत गरिनेछ ।
चौथो एजेण्डामा आगामी निर्वाचनका उम्मेदवारको छनौट प्रक्रिया र मापदण्ड तयार गर्ने रहेको छ । यी एजेण्डा पारित गरेर चुनावमा लाग्ने गुरुङले बताए । पाँचौ एजेण्डा स्थानीय तह निर्वाचनका सम्बन्धमा प्राप्त उजुरीहरुको छानबिन गरेर पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले तयार पारेको रिर्पोट बैठकमा प्रस्तुत हुनेछ ।
संगठित सदस्यहरूको सदस्यता नम्बर दोहोरिएकोबारे पनि व्यवस्थापन गर्ने गरी बैठकमा प्रताव गरिनेछ । यस्तै, भोलिको बैठकमा पार्टीका तीन आयोगको रिर्पोट पनि पेश हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया