सुदूरपश्चिम सडक दुर्घटना : २ वर्षमा ३८३ जनाको ज्यान गयो, २ हजार ९७ जना घाइते

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । सरकारी तथा अन्य सरोकारवाला निकायले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा रणनीति, योजना तथा कार्यक्रम लागू गरेपनि दुर्घटनाको संख्यामा कमी आउन भने सकेको छैन ।

प्रदेश अन्तर्गतका ९ वटै जिल्लाको पछिल्लो दुई वर्षको सवारी दुर्घटनाको अभिलेख हेर्दा सवारी दुर्घटना र दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा बढ्दै गएको पाइएको हो । प्रदेश प्रहरीको पछिल्लो तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७८/७९ मा सवारी दुर्घटना वृद्धि भएको सुदूपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । प्रहरीकाअनुसार यो आर्थिक वर्षमा मात्रै ६ सय ७३ सवारी दुर्घटनाबाट १ सय ९६ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो दुई वर्षमा १ हजार ४ सय ५७ सवारी दुर्घटनाबाट ३ सय ८३ जनाको मृत्यु भएको अत्तरियाका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक रणबहादुर विष्टले बताए । उनकाअनुसार उक्त दुर्घटनाबाट ९ सय ८२ जना गम्भीर घाइते र १ हजार १ सय १५ जना सामान्य घाइते भएका थिए ।

आर्थिक वर्ष ०७७/७८ मा ५ सय ६२ सवारी दुर्घटना हुँदा १ सय ८७ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ५८७ गम्भीर र ५ सय ९ सामान्य घाइते भएको कार्यालयले जनाएको छ । यस्तै, आव ०७८/७९ मा ५ सय १ सवारी दुर्घटनाबाट १ सय ९६ जनाको मृत्यु भएको छ  । जसमा ३ सय ९५ जना गम्भीर घाइते हुँदा ६ सय ६ जना सामान्य घाइते भएको प्रहरी निरीक्षक विष्टले बताए ।

आर्थिक वर्ष ०७७/७८ र आर्थिक वर्ष ०७८/०७९ मा कोभिड–१९ रोकथामका लागि भएको लकडाउनका कारण सवारी दुर्घटना संख्यामा केही कमी आएको प्रहरी निरीक्षक विष्टको भनाइ छ । सुदूरपश्चिममा सडक दुर्घटनामा तुलनात्मक रूपमा साना सवारी साधनको संख्या बढी छ  ।

पछिल्लो दुई वर्षमा ७ सय ८३ मोटरसाइकल, १ सय ३५ ट्रयाक्टर, १ सय ८३ जिप तथा कार, ७१ वटा बस, १० वटा डोजर/लोडर तथा स्काभेटर, ११ वटा माइक्रो मिनिबस, ट्रक/ट्यांकर ७० वटा, टिपर २८ वटा, टेम्पो ५७ वटा, र अन्य १४ वटा सवारी दुर्घटना भएको कार्यालयले जनाएको छ ।

सुदूरपश्चिममा धेरैजसो तीव्र गतिले सडक दुर्घटनाको जोखिम बढीरहेको प्रहरीको भनाइ छ । यान्त्रिक कारणले पनि प्रदेशमा सडक दुर्घटना बढेको विष्ट बताउँछन् । सवारी दुर्घटनामा कमी ल्याउन ट्राफिक प्रहरीले विभिन्न प्रयाससमेत गरेको भएपनि दुर्घटनाको जोखिम भने घट्न सकेको छैन । प्रहरी निरीक्षक विष्टले सडक सुरक्षाका लागि यात्रु तथा चालकहरुसँग दैनिक ट्राफिक नियमसम्बन्धी सचेतना सन्देश दिने गरिएको बताए ।

त्यस्तै,सडक लेनसम्बन्धी जानकारी, हाइवे चेकजाँचमा कडाइ र अत्तरियादेखि डडेल्धुरासम्म टाइम कार्ड लागू गरिँदै आएको उनले बताए ।

यस्ता छन् दुर्घटना बढ्नुका कारण

सडकमा वर्षेनी सवारी दुर्घटनाको संख्या बढ्दै जानुमा सवारी साधन, चालकको लापरबाही, भौगोलिक अवस्था, सडक पूर्वाधार, सडक चेतनाको कमी र खराब मौसमका कारण हुने गरेको सडक यातायातसम्बन्धी विज्ञ आशिष गजुरेल बताउँछन् ।

‘सुरक्षित सडक पूर्वाधारको अभाव, सवारी नियम अवज्ञा, जथाभावी ढोका खुल्ला राख्नु, ओभरटेक, तीव्र गति, चालक निदाउनु, मादक पदार्थ सेवन गर्नु, मोबाइल चलाउनु हो,’ गजुरेलले औंल्याए ।

यस्तै, सवारीका कारण हुने दुर्घटनामा सवारी साधनमा आउने यान्त्रिक गडबडी, ओभरलोड, ब्रेकफेल, टायर पन्चर, सवारीको बत्ती पनि कारण छन् । कतिपय दुर्घटनाका कारण नागरिकमा सडक सचेतना सम्बन्धी ज्ञान नहुनुले पनि दुर्घटनाको जोखिम बढ्ने गरेका छन् । यात्राका क्रममा यात्रु स्वयम्ले होसियारी तथा सावधानी अपनाउन नसक्दा पनि दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।

जस्तै, चढ्दा र ओर्लंदा ख्याल नगर्दा, झुण्डिएर तथा छतमा यात्रा गर्दा र बाटो काट्दा होश नपुर्‍याएर पनि दुर्घटना भएका छन् । सडकका कारण हुने दुर्घटनामा भने खाल्डाखुल्डी, साँघुरो बाटो, बाटोमा हुने निर्माण सामग्री, उकालो–ओरालो, घुम्ती र मोड, ढल, जीर्ण सडक लगायत छन् । यस्तै हुस्सु, कुहिरो, बाढी–पहिरो र हावाहुरीका कारण पनि दुर्घटना भएको पाइएको छ ।

कसरी हुन्छ, दुर्घटना न्यूनीकरण ?

सडक यातायात सम्बन्धी विज्ञ गजुरेल दुर्घटना न्यूनीकरण गर्न सरोकारवाला निकाय बढी जिम्मेवार बन्नुपर्ने बताउँछन् । ‘दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा योजना, चालकलाई काउन्सिलिङ गर्न जरुरी छ,’ उनी भन्दै थिए, ‘नियम, कानूनको कडाईका साथ पालना गरिनुपर्ने, सडक सुरक्षालाई मध्यनजर गर्दै नयाँ सडक निर्माणमा डिजाईन गरेर निर्माण गर्नुपर्ने लगायतका कुरामा ध्यान दिन सके नागरिकले सडक सुरक्षाको अनुभूति गर्न सक्थे ।’

वर्षमा झण्डै १ लाख सवारी कारबाहीमा

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले एक वर्षको अवधिमा ९७ हजार १ सय ७ सवारी साधन कारबाहीमा परेका छन् । योसँगै ५४ करोड १९ लाख ४ हजार रुपैयाँ राजश्वसमेत संकलन भएको छ ।

यो रकम अघिल्लो आर्थिक वर्षमा संकलन भएको भन्दा ८ करोड ४२ लाख ७ हजार रुपैयाँले बढी हो । कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा ३३ करोड १९ लाख ९ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको थियो भने, आर्थिक वर्ष २०७७/०७८ मा ४५ करोड ७६ लाख ७ हजार रुपैयाँ  राजश्व संकलन गरेको थियो ।

त्यसैगरी, सुदूपश्चिम ट्राफिक प्रहरी कार्यालयकाअनुसार आर्थिक वर्ष २०७६/०७७ मा ५६ हजार १ सय ५३सवारी साधनहरू कारबाहीमा परेका थिए । आर्थिक वर्ष २०७७/७८ मा ७९ हजार ८९ वटासवारी साधन कारबाहीमा परेका छन् ।

सुदूपश्चिम प्रदेश अन्तर्गतका जिल्लामा सबैभन्दा बढी जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले राजश्व संकलन गरेको छ । कैलालीले आर्थिक वर्ष २०७६/०७७ मा १४ करोड ५२ लाख ६ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा १९ करोड ३१ लाख ४ हजार ५ सय रुपैयाँ र २०७८/०७९ मा २३ करोड ३७ लाख ८ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।

सबैभन्दा कम राजश्व संकलन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुला र बाजुरा रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले आर्थिक वर्ष आर्थिक वर्ष २०७६/०७७ मा ९७ लाख ५ हजार ५ सय राजश्व संकलन गरेको छ भने, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले आर्थिक वर्ष २०७७/०७८ मा ९६ लाख ७ हजार र आर्थिक वर्ष २०७८/०७९ मा १ करोड २८ लाख ६ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?