लुम्बिनीमा गठबन्धनकाे सिट बाँडफाँट सहज रुपमा हुन्छ : सभापति पुन

लोकपथ
65
Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धन दलहरुबीच सिट बाँडफाँट सहज रुपमा गर्ने नेताहरुले प्रतिबद्धता जनाएका छन् । उनीहरुले दलहरुको सांगठनिक हैसियत र विगतमा पाएको मतका आधारमा सिट बाँडफाँट गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गठबन्धनभित्रको दलको संगठनिक हैसियत बुझ्ने र जित्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाइने बताए । आगामी चुनावमा गठबन्धनमा जान नेपाली कांग्रेस तयार रहेको तर, सबै ठाउँमा दलहरुको हैसियतको आधारमा सिट बाँडफाँट गर्दा जित्न सकिने उनको भनाइ छ ।

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष एवम् प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले पाँच दलीय गठबन्धन एमालेसँग एक्लै लड्न नसक्ने अवस्थामा रहेकाले बाध्य भएर गठबन्धन बनाएको बताए । उनले देश र जनताको पक्षमा गठबन्धन नरहेको पनि जिकिर गरे । नेता श्रेष्ठले नागरिता ऐन, एमसीसी, एसपीपीजस्ता कुरालाई गठबन्धनले बढवा दिएर देशका लागि अहितपूर्ण काम गरेको आरोप लगाए ।

एमाले बलियो भएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । उनले एमालेले बहुमत ल्याउने जिकिर पनि गरेका छन् । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्तीले नेपाली राजनीतिमा विश्वासको संकट भएको बताए । उनले अघिल्लो स्थानीय तहको चुनावलाई हेर्दा पार्टीभित्र र गठबन्धनमा विश्वासघात भएको केलाउँदै गठबन्धन भित्रका दलहरुले विश्वासको वातावरण सिजर्ना गर्नुपर्ने बताए ।

साक्षात्कारमा नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सचिव राजु गुरुङले एउटै दलका नेताले चुनाव जित्दा अहंकार बढ्दै गएको बताउँदै आगामी चुनावमा युवा पुस्तालाई जिताउनु पर्ने औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?