सत्ता गठबन्धन बैठक : सिट बाँडफाँटमा जुट्ला सहमति ?

लोकपथ
130
Shares

काठमाडौं । आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

बिहीबार बिहान बैठक बस्न लागेको कार्यदलका सदस्य मिहलाल पूरीले जानकारी दिएका छन् । कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला भने बैठकमा अनुपस्थित रहनेछन् । कोरोना भाइरसको संक्रमण भएका कारण उनी बैठकमा अनुपस्थित हुने भएका हुन् ।

कार्यदलको बैठक बालुवाटारमा पटक पटक बस्दै आएपनि सत्तारुढ दलहरुबीच सिट बाँडफाँटमा कुरा मिल्न सकेको छैन । सहमतिका आधारहरु बारे यसअघि गठबन्धन कार्यदल र पाचदलीय शीर्ष नेताहरुको बैठक बस्दै आएको भएपनि निष्कर्ष बिहिन बन्दै आएको छ । हिजै साँझ बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं बाहिर रहेकोले आज बिहानलाई सरेको थियो । आजको बैठकमा सिट बाँडफाँटको टुंगो लगाउने तयारी छ ।

कार्यदलस्तरबाट सिट बाँडफाँट टुंगो लाग्न नसकेपछि शीर्ष तहमा पुगेको एक सातायता निरन्तर छलफल भइरहेको छ । तर, शीर्ष तहमा पनि सिट बाँडफाँटको सन्दर्भमा कुरा  मिलेको छैन । कार्यदलले सिट बाँडफाँटको मापदण्ड भने तयार गरेको छ ।

यद्यपि उक्त मापदण्डमा ०७४ को चुनावी परिणाम आधार मानेर त्यतिबेला निर्वाचित सिट कायम राख्नुपर्ने माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको अडानमा कांग्रेस असन्तुष्ट रहँदै आएको छ । गठबन्धनले भदौको पहिलो साताभित्रै सिटको बाँडफाँट टुंगो लगाइसक्ने बताएको थियो । तर, अहिलेसम्म कुरा मिल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?