एमाले पार्टी नभई कर्पोरेट हाउस हो, केपी ओली त्यसका सीईओ – वर्षमान

लोकपथ
0
Shares

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले एमाले पार्टी नभई कार्पेरेट हाउस भएको टिप्पणी गरेका छन् ।
एमाले राजनीतिक पार्टीको चरित्र गुमाएर कर्पोरेट हाउसजस्तो भएको र त्यसको सीईओ केपी ओली भएको आरोप लगाए । अरु नेताहरु डाइरेक्टर र डेपुटी डाइरेक्टरको भूमिकामा रहेको पुनले कटाक्ष गरे। ओली मुख्य नेतृत्वमा आएपछि एमालेलाई नीति, विचार, सिद्धान्त र कार्यक्रमविहीन कम्पनीमा रुपान्तरण गरेको उनको जिकिर थियो ।

अधिकांश एमालेजन पार्टी पार्टीजस्तो नभई कर्पोरेट कम्पनी भएकोबारे जानकार भए पनि नाफाका लागि उनीहरु एमालेमै बसिरहेको उल्लेख गरे । ‘एमाले पार्टी होइन, कर्पोरेट हाउस हो । ओली कर्पोेरेट हाउसमा सिईओ र अरु नेताहरु डाइरेक्टर, डेपुटी डाइरेक्टरजस्ता छन्’, पार्टीको बागमति प्रदेशअन्तर्गतका सबै जिल्लाका समन्वय समिति संयोजक र गाउँपालिका र नगरपालिका अध्यक्षहरुको संगठनात्मक कार्यशालालाई बुधबार साँझ राजधानीमा सम्बोधन गर्दै पुनले भने ।

एमाले विचार र सिद्धान्तमा नभई नाफा र स्वार्थका लागि चलेको आरोप उनले लगाए । उनले कर्पोरेट संस्कारमा हुर्किएका कारण एमाले कार्यकर्ताले केपी ओलीले दुईपटकसम्म संविधान मिचेर प्रतिनिधिसभा विघटन गर्दा र व्यवस्थामाथि नै प्रहार बोल्दा पनि बोल्न नसकेको टिप्पणी उनको थियो ।
तर, माओवादी केन्द्र भने विचार, राजनीति र सिद्धान्त आधारित समाजवादी कार्यदिशा बोकेको पार्टी भएको दाबी पुनले गरे । उनले विचारलाई बोक्न सक्ने संगठन पनि आफूहरुसँग रहेको बताए । जनयुद्धका बेला पार्टीले सेना र संयुक्त मोर्चाको नेतृत्व गरेको भन्दै उनले आजको प्रतिस्पर्धात्मक राजनीतिमा समाजवादको आधार निर्माण गर्ने पार्टी चाहिएको बताए ।

फरक प्रसंगमा पुनले गठबन्धन आवद्ध अरु दललाई बाँडेर बाँकी रहेको सिटमध्ये ६० प्रशितमा काँग्रेस र ४० प्रतिशत स्थानमा माओवादीले लिने गरी एक/दुई दिनभित्रै सिट बाँडफाँटको टुंगो लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?