चिकित्सा शिक्षा विधेयकमा अवरोध गरेको भन्दै डा. केसीले मागे शिक्षामन्त्री पोखरेलको राजीनामा

काठमाडौं । डा .गोविन्द केसीले आज राजधानीमा पत्रकार सम्मेल गर्दौ शिक्षामन्त्री गरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन्  ।

डा. केसीले आफ्नो १५ औं अनशनका क्रममा प्रधानमन्त्रीसँग भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको चिकित्सा शिक्षा विधेयकमा अवरोध गरेको भन्दै शिक्षामन्त्री पोखरेलको राजीनामा माग गरेका हुन् । 

‘अध्यादेशलाई तोडमोड गरेर संसदमा विधेयक प्रस्तुत गर्नु र चिकित्सा शिक्षा ऐन बनाउने दायित्व बोकेका सरकारी विभागीय मन्त्री नै प्रधानमन्त्री स्वयंको पहलमा भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको विधेयकमा अवरोध गर्नु गैरजिम्मेवारपूर्ण भएकाले शिक्षामन्त्री पोखरेल सो पदमा रहिरहनु नैतिक रुपमा अशोभनीय हुन्छ’ केसीको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

डा. केसीले चिकित्सा शिक्षा ऐन पारित नगरी संसद अधिवेशन अन्त्य गरेकोमा पनि विरोध जनाएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले केसीसँग सम्झौता गरे पनि कार्यान्वयन भने हुन सकेको छैन् । 

उनले भने , ‘जनप्रतिनिधिले जनताका लागि बनाउनुपर्ने वृहत्तर जनहितका नीति नियम बनाउन अझै पनि आफूले लडेर बनाउन बाध्य गर्नुपर्ने अवस्था छ । ’ यो लज्जाजनक हो , उनले थपे । 
केसीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली र त्रिविका उपकुलपति तीर्थ खनियाँलाई राष्ट्रपतिबाट मान पदवी दिएकोमा पनि आपत्ति जनाएका छन् ।

केसीले सरकारको यस्तै गतिविधि गरेमा विना जानकारी अनसन बस्ने पनि चेतावनी दिएका छन् । 

सहमति कार्यान्वयन नगरे कार्तिक १६ गतेदेखि १६ औँ अनसन बस्ने चेतावनी दिएका डा. केसीको रहेको छ । पूर्व सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक जारी नभए १६ औं अनशन थाल्ने चेतावनी यसअघि नै दिइसकेका छन् ।  

सरकारले केसीले उठाउँदै आएको चिकित्सा शिक्षा सुधार सम्बन्धी अघि सारेका माग र प्राध्यापक केदारभक्त माथेमाको संयोजकत्वमा गठित चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ लाई कार्यान्वयन गर्ने सहमति गरेपछि केसीले आफ्नो १५ औं अनसन गत साउन १० गते तोडेका थिए । तर, संसदले उक्त विधेयक पास गरेको छैन । 

१५ औं पटक केसी २७ दिनका अनसन बसेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?