काठमाडौं । चावहिलस्थित सेन्ट लरेन्स कलेजले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच कक्षा ११ का विद्यार्थीहरुलाई लक्षित गरी अभिमुखिकरणका साथै परामर्श कार्यक्रम सम्पन्न भएको हो ।
कलेजका अध्यक्ष केशवप्रसाद दंगालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ११ मा भर्ना भएका ७ सय भन्दा बढी विद्यार्थीको सहभागिता थियो ।
कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदीले नव आगन्तुक विद्यार्थी तथा अतिथिलाई स्वागत गर्दै सेन्ट लरेन्सले गुणस्तरीय शिक्षा दिन कुनै कसर नराख्ने प्रतिवद्धता व्यक्त गरे । साथै, आफूलाई रुचि लागेको विषयहरु छनोट गरी दृढ विश्वासका साथ अध्ययन गर्न उनको सुझाव थियो ।
‘तपाईंहरु आफू के’मा सक्षम छु, के पढ्दा सफल भइन्छ र आफूले पढेको विषयले कुन क्षेत्रमा सफलता हासिल गर्न सकिन्छ भन्नेमा स्पष्ट हुनुहोस्,’ सुवेदी विद्यार्थीलाई सुझाव दिँदै थिए, ‘भर्ना हुँदा जुन विषयमा भर्ना भए पनि यदि विषय सच्याउन मन लागेमा केही दिन भित्रै सच्याउन सक्नुहुन्छ ।’
त्यसैगरी, कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनले सेन्ट लरेन्समा कक्षा ११ मा भर्ना हुन भएका विद्यार्थीलाई यो दुई वर्षको अध्ययन सम्झनलायक हुने बताए । ‘हामी भन्नेमात्र होइन गरेरै देखाउँछौं जुन कुरा हामीले हरेक वर्ष प्राप्त गरेको नतिजाले पनि पुष्टि गर्छ,’ महर्जन विद्यार्थीहरुलाई भन्दै थिए, ‘शान्त तथा अनुशासित वातावरणमा अध्यापन गराउने सेन्ट लरेन्समा २ वर्षको सिकाइले पक्कै पनि तपाईंहरुको उज्वल भविष्यको ढोका खोल्नेछ ।’
कार्यक्रमका विशेष अतिथिसमेत रहेका काठमाडौं महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले देशकै सेवामा लाग्न सक्ने जनशक्ति सेन्ट लरेन्सले उत्पादन गर्न सकोस् भन्दै शुभकामना दिए । ‘पछिल्लो समय संस्थागत विद्यालयहरुले विदेश पठाउने जनशक्ति उत्पादन गरिरहेको आरोप छ त्यसलाई सेन्ट लरेन्सले चिर्न सकोस्,’ सुवेदीले भने, ‘कलेजले उत्पादन गरेका विद्यार्थी नेपालमै स्वरोजगार, रोजगार र राज्यका विभिन्न निकायमा सेवा गरिरहेको सूचि पढ्न पाइयोस् ।’
त्यसैगरी, प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष बिमलकुमार होडाले शुभकामना दिँदै सेन्ट लरेन्सले अभिभावकीय जिम्मेवारी पुरा गर्दै विद्यार्थीलाई सत्मार्गमा लगाउने विश्वास व्यक्त गरे । ‘देशले आजका विद्यार्थीहरुबाट धेरै आश गरेको छ,’ होडाले भने, ‘अबका विद्यार्थीमा शिक्षामात्र होइन नैतिक शिक्षाको ठूलो आवश्यक छ जो शिक्षा सेन्ट लरेन्स दिन्छ भन्ने मलाई विश्वास छ ।’
कार्यक्रमका सभापति तथा कलेजका अध्यक्ष दंगालले विद्यार्थीहरुले जुन विश्वास गरेर सेन्ट लरेन्स रोजेका छन् त्यो विश्वासलाई कहिल्यै डगमगाउन नदिने प्रतिवद्धता व्यक्त गरे । ‘हामीले यो कार्यक्रम नव विद्यार्थीहरुमा उत्प्रेरणा भर्ने उद्धेश्यले गरेका हौं,’ उनले भने, ‘कलेजले दिने शिक्षा, यहाँका अतिरिक्त क्रियाकलाप, कक्षागत क्रियाकलापले विद्यार्थीहरुको सोचाईलाई फराकिलो बनाउँदै लैजानेछ ।’
साथै, कलेजले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गरी दक्ष जनशक्तिको रुपमा विकासमा जोड दिने उनले बताए ।
कार्यक्रममा प्रेरक वक्ता रबिन कट्वालले विद्यार्थीहरुमा जिवनोपयोगी ज्ञान प्रस्तुत गरेका थिए । विश्वका विभिन्न सफल व्यक्तिका सफलताका कथा सुनाउँदै उनले विद्यार्थीहरुमा उत्प्रेरणा भरेका थिए ।
यसैगरी, कार्यक्रममा सेन्ट लरेन्समा अध्ययन गरी विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
त्यस्तै, कक्षा १२ की छात्रा एलिशा श्रेष्ठले सेन्ट लरेन्सको अनुभव सुनाउँदै कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेकी थिइन् । त्यसैगरी, कक्षा ११ मा भर्ना भएकी आयुषा तिमल्सिनाले सेन्ट लरेन्स रोज्नुको औचित्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रमलाई कलेजका को–अर्डिनेटर मुकुन्द ढुंगानाले सञ्चालन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया