जलविद्युत सस्तो वा महँगो बनाउने सरकारको नीतिमा भरपर्छ : कुलमान घिसिङ

लोकपथ
13
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात नहुने बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाका सम्बन्धमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय जलविद्युत आयोजना बनाउने क्रममा सरकारको नीति नियमको कारण परियोजना महँगो हुँदै गएको बताए । निर्देशक घिसिङले जलविद्युत आयोजना निर्माण गर्दा प्राकृतिक स्रोत प्रयोग गर्न नपाउने, वनको जग्गा प्राप्तिमा अर्बौ रुपैयाँ आयोजनाले खर्च गर्नुपर्ने भएकाले आयोजनाको लागत बढ्ने विद्युत महँगो हुने बताए ।

उनले नेपालको इनर्जिको स्रोत भनेकै जलविद्युत भएकाले जलविद्युत सस्तो वा महँगो बनाउने सरकारको गतिविधिले निर्धारण गर्ने बताए । घिसिङले जलविद्युत महँगो हुँदा जनतालाई समेत महँगो पर्ने बताए । उनले जलविद्युत उत्पादन गरेर जति सस्तो बनाउन सकियो त्यति नै भारत र बंगलादेशमा निर्यात हुने दाबी गरे । बंलादेशमा विद्युत निर्यात गर्नको लागि भारतको भन्दा सस्तोमा विद्युत दिन सक्नुपर्ने बताए ।

घिसिङले ५० अर्बको तनहुँ जलविद्युतमा करिब ३ अर्ब वन र सरकारी जग्गा र निजी जग्गामा ३ अर्ब गरी ६ अर्ब रुपैयाँ मुआब्जामा नै खर्च भएको बताए । उनले सरकारकै जग्गाको लागि आयोजनाको ६ प्रतिशत लागत बढ्नु भनेको आयोजनाबाट उत्पादन हुने विद्युत महँगो हुनु भएको बताए ।

उनले भने,‘ नेपालको इनर्जिको स्रोत भनेकै जलविद्युत हो । जलविद्युतलाई नेपालले कति सस्तो बनाउने भन्ने कुरा नेपाल सरकारकै गतिविधिले गर्छ । जलविद्युत सस्तो भयो भने जनताले सस्तोमा पाउँछ । जलविद्युत सस्तो भयो भने भारत र बंगलादेशमा निर्यात हुन्छ । भारतको भन्दा नेपालको जलविद्युत महँगो भयो भने निर्यात हुँदैन । त्यसैले नेपालको जलविद्युत सस्तो बनाउनेकी महँगो बनाउने हाम्रो गतिविधिले गरिरहेको छ ।’

निर्देशक घिसिङले सरकारले नै आयोजनाहरु महँगो बनाउँदै जाने हो भने जलविद्युत जनतालाई समेत महँगो पर्ने बताए । उनले नेपालको विद्युत महँगो भएमा विदेशमा निर्यात हुनपनि गाह्रो रहेको बताए । घिसिङले प्राकृतिक स्रोत प्रयोग गरे मात्रै जलविद्युत सस्तोपर्ने भन्दै स्रोतहरुको प्रयोग गर्ने नीति आवश्यक रहेको बताए ।

उनले कालिगण्डकीको कुनैपनि स्रोत प्रयोग गर्न नपाए कालिगण्डी करिडोरमा कुनैपनि परियोजना सस्तोमा बन्न नसक्ने बताए । घिसिङले परियोजना बनाउने स्थानमा भएका स्रोतको आवश्यकता अनुसार प्रयोग गरे मात्रै त्यसबाट पैसा आउने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?