एक/दुई दिनभित्रै सिट बाँडफाँटकाे टुंगो लगाउँछौँ : महासचिव गुरुङ

लोकपथ
0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा एक/दुई दिनभित्रै सिट बाँडफाँटको टुङ्गो लाग्ने बताएका छन् ।

उनले अहिले त्यसको लागि गठबन्धनका शीर्ष नेताहरूबीच छलफल चलिरहेको बताए । राजधानीमा आयोजित साक्षात्कारमा उनले भने, ‘अहिले सिट बाँडफाँटबारे गठबन्धनमा गृहकार्य चलिरहेको छ । शीर्ष नेताहरूबीच पनि छलफल चलिरहेको छ । कार्यदलले पनि पर्याप्त होमवर्क गरेर काम गरेको छ ।

शीर्ष नेताहरूसँग अन्तरकुन्तर गृहकार्य चलिरहेको छ भनेर कार्यदलका संयोजक कृष्ण सिटौलाजीले भन्नुभएको छ । अब एकाध दिनमा गृहकार्य सकिन्छ । सिट बाँडफाँड टुङ्गोमा पुग्छ ।’उनले आफ्नो दलमा पर्ने सिटको भागअनुसार सोहीअनुसार उम्मेदवार उठाउने सवालमा मापदण्ड तय गरिने सुनाए ।

उनले भने,‘हाम्रो दलको भागमा जे/जति सिट पर्छ । अहिले उम्मेदवारको मापदण्ड बनाएका छैनौँ । पार्टीमा खटिरहेका र दृढतापूर्वक लागेकाहरूलाई प्राथमिकता दिनुपर्छ । महिलाहरूलाई अधिकतम रूपमा सिट दिनुपर्छ । दलित, मधेसी, जनजातिलाई प्राथमिकता दिएका छौँ । अब उम्मेदवार दोहोरिने र नदोहोरिनेको सवालमा, यही गर्नुपर्छ भन्ने छैन ।

आवश्यकताको अवस्था हेर्नुपर्छ । जिल्लाले उम्मेदवारको बारेमा प्रदेश पार्टीलाई सुझाव दिन्छ । प्रदेश पार्टीले निर्णय गर्छ । एक, दुई र तीन गरेर तीन जनाको नाम सिफारिस गर्छ । सोहीअनुसार पार्टीले निर्णय गर्छ ।’ उनले गठबन्धनमा सिट बाँडफाँट गर्दा स्पष्ट रूपमा मापदण्ड बनाइने पनि विश्वास दिलाए । उनले भने,‘हामी ग्राउण्ड रियालिटी पनि हेरौँ । सिद्धान्तको आधारमा सिट तय गर्न जोड गरेका छौँ ।

१/२ दिनमा सिट तय हुन्छ ।’ उनले पार्टीका पदाधिकारी समावेशी नभएको स्वीकारे । उनले भने,‘विकासको यात्रामा, कम्युनिस्ट पार्टी निर्माणको यात्रामा, विकासको चरणमा, समानुपातिक तथा समावेशीको मुद्दामा अधिकतम रूपमा सम्बोधन गर्न प्रयास गरिरहेका छौँ ।

अहिले पदाधिकारीमा नमिलेको भए पनि तल्लो कमिटीबाट प्रक्रिया चलाइरहेका छौँ । केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सुनिश्चितता गरेका छौँ । पदाधिकारीको सवालको सन्दर्भमा, त्यो चाहन्थ्यौँ । तर, अहिलेको चरणमा त्यो गर्न सकेनौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?