बोर्ड खरिदमा अनियमितता भएको छैन, अध्यक्षलाई लगाइएको आरोप निराधार : तारकेश्वर गाउँपालिका

लोकपथ
3.4k
Shares

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकाले एलईडी बोर्ड (डिजिटल बोर्ड) खरिदमा भएको भनिएको अनियमितताका सन्दर्भमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ ।

केही दिनदेखि निरन्तर गाउँपालिकाको प्रमुखको नाम जोडेर अनियमितता भएको भन्ने खबर बाहिरिएसँगै गाउँपालिकाले आज त्यस विषयमा थप प्रस्ट पार्दै सत्यतथ्य छानबिनका लागि आग्रह समेत गरेको छ ।

मंगलबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले विज्ञप्ति जारी गर्दै सार्वजनिक खरिद प्रक्रिया विशुद्ध प्रशासनिक विषय भएकोले त्यसमा पालिकाका अध्यक्ष लगायत कुनै पनि पदाधिकारीको संलग्नता नरहेको समेत स्पष्ट पारेका छन् ।

‘सार्वजनिक खरिद प्रक्रिया विशुद्ध प्रशासनिक विषय भएकाले त्यसमा पालिका अध्यक्ष लगायत कुनै पनि पदाधिकारीको संलग्नता नरहेको तथा खरिद प्रक्रियामा कर्मचारीबाट कुनै अनियमितताजन्य कार्य भएको प्रमाण भएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक तथा कानुनी संरचनाहरुलाई सत्यतथ्य छानबिनका लागि पुनः अनुरोध गर्दै त्यसमा कार्यालयको पूर्ण सहयोग रहने प्रतिवद्धता पनि कार्यालय व्यक्त गर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

हालै स्थानान्तरण भएको कार्यालयमा एलईडी बोर्ड राख्न बजेट सुनिश्चित भए पश्चात् सार्वजनिक खरिद ऐन, नियमावली तथा अन्य प्रचलित कानुन बमोजिम १० लाखसम्मको खरिद सोझै खरिद गर्न पाउने प्रावधान बमोजिम खरिद कार्य अघि बढाइएको समेत स्पष्ट पारिएको छ ।

हाल खरिद गरिएको बोर्डमा सामान्य किसिमको बोर्डमा भन्दा थप विशेषताहरु रहेकाले मूल्य केही बढेको उनको भनाइ छ । प्रश्न उठिसकेपछि तत्कालका लागि सामान आपूर्तिकर्तालाई रकम भुक्तान रोक्का गरिएको विज्ञप्तिमा उल्लेख छ ।

केही दिन अघि गाउँपालिकाको वडा नं ३ का अध्यक्ष सूर्यमान श्रेष्ठ (गणेश)ले गाउँपालिका अध्यक्ष शिव अधिकारी एकपछि अर्को आर्थिक अनियमितता र भ्रष्टाचारजन्य कार्यमा लागेको आरोप लगाएका थिए । तर गाउँपालिका अध्यक्ष अधिकारीले यसअघि नै आफूमाथि लगाइएका आरोप निराधार रहेको भन्दै स्पष्टीकरण दिइसकेका छन् । उनले राजनीतिक प्रतिशोध साँधेर आफूमाथि आरोप लगाइएको र त्यसलाई पुष्टि गर्न चुनौती समेत दिएका थिए ।

केही दिन अघि गाउँपालिकाले कार्यालयमा डिजिटल बोर्ड राख्नका लागि भ्याटसहित डिजिटल बोर्डमा ५ लाख ९६ हजार ६४० रुपैयाँमा खर्च गरेर बोर्ड खरिद गरेको बिल सार्वजनिक भएको थियो ।

सो बिल सार्वजनिक भएसँगै वडाध्यक्ष श्रेष्ठले गाउँपालिका अध्यक्ष अधिकारीले निर्वाचित भएर आएसँगै भ्रष्ट्राचार मौलाएको भन्दै निराधार आरोप लगाएका थिए ।

काठमाडौंको अनामनगरस्थित इनोभेटिभ मिडिया एण्ड मल्टिपल बिजनेस प्रालि मार्फत खरिद गरिएको बोर्डमा आर्थिक चलखेल भएको वडाध्यक्ष श्रेष्ठ लगायतको दाबी रहेको थियो ।

गाउँपालिकाले खरिद गरिएको उक्त बोर्डमा अन्य बोर्डमा भन्दा थप विशेषताहरु रहेकाले मूल्य केही बढेको स्पष्ट पारेको छ । साथै उक्त बोर्डको प्रकरणमा प्रश्न उठिपछि तत्कालका लागि सामान आपूर्तिकर्तालाई रकम भुक्तान रोक्का गरिएको समेत गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?