काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनको तयारीस्वरुप ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
‘जनताको साथी कांग्रेस’ भन्ने अभियानसहित देशभर खटाइएका प्रतिनिधिहरुलाई कांग्रेसले गोप्य सर्कुलर समेत जारी गरेकाे छ ।
जसमा पार्टी अधिवेशनको क्रममा विभिन्न तहको प्रतिष्पर्धाका क्रममा भएका असमझादारीहरुलाई छलफलबाट मिलाउनेदेखि पार्टी र स्थानीय प्रशासनबीचको सम्बन्धका बारेमा अध्ययन गर्न समेत निर्देशन दिइएको छ ।
साथै, पार्टीको अधिवेशनका क्रममा कुनै पनि व्यक्तिसँग असमझदारी भएको अवस्थामा अनौपचारिक रुपमा भेटघाट र छलफलका माध्यमबाट वातावरण सहज बनाउन सहजीकरण गर्न निर्देशन दिइएको छ ।
‘पार्टी अधिवेशनमा विभिन्न तहको प्रतिष्पर्धा क्रममा पार्टीका साथीहरुबीच कतिपय जिल्ला, क्षेत्र या स्थानीय तहमा केहि असमझादारी बाँकी छन् भने अनौपचारिक भेटघाट र छलफलको माध्यमद्वारा वातावरण सहज बनाउन सहजीकरण गर्ने,’ कांग्रेसद्वारा जारी सात बुँदे विशेष दायित्वमा उल्लेख गरिएकाे छ ।
त्यसैगरी, आफ्नो जिम्मेवारी रहेको जिल्लामा अग्रजहरुसँग समन्वय गरी पार्टीलाई बलियो र विजयी गराउन अभिभावकीय भूमिका निर्वाह गराउने वातावरण बनाउने विषयमा निर्देशन दिइएको छ ।
आगामी निर्वाचनमा केन्द्रले गठबन्धन गरेर जाने निर्णय गरेको अवस्थामा जिल्लागत आधारमा के कस्तो अवस्था रहेको छ त्यसबारेमा रिपोर्टिङ गर्न समेत आग्रह गरिएको छ ।
‘आगामी निर्वाचनमा तालमेल गरेर जाने सर्वसम्मत निर्णय पार्टीको साउन २ मा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले गरिसकेको स्थितिमा गठबन्धनमा रहेका जिल्ला भित्रका दलहरुबीच अन्तरसंवाद र सहज वातावरण निर्माण हुन आवश्यक छ । अतः जिल्लामा यसबारेमा के कस्तो स्थिति र वातावरण छ त्यसलाई केन्द्रीय प्रतिनिधिले थप सहज बनाउन ध्यान पुर्याउने,’ दायित्वमा उल्लेख छ ।
त्यसैगरी, पार्टी र स्थानीय प्रशासनबीचको सम्बन्धका बारेमा समेत बुझ्न र सम्बन्ध बिग्रिएको भएमा त्यसलाई सुधार गरि हार्दिकता प्रदान गर्न आग्रह गरिएको छ ।
साथै, पार्टी र स्थानीय प्रशासनबीच समन्वयको अवस्था के कस्तो छ, सो बुझी निर्वाचनको निष्पक्षता कायम गर्न गराउन पार्टी र प्रशासनबीचमा हार्दिक सम्बन्ध विकासमा विशेष ध्यान पुर्याउनेबारे पार्टीले प्रतिनिधिहरूलाई दायित्व सुम्पिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया