काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. १ मुडाबजार नजिकै पूर्व–पश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला परेको छ । आज दिउँसो करिब २ बजेको समयमा टिफिनको बट्टामा कालो प्लाष्टिकले बेरेर बाहिर तार निकालेको अबस्थामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उक्त स्थानमा प्रहरी निरीक्षक महेशबिक्रम शाहीको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएको छ । नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
आज बिहान अत्तरिया चौराह १ र वडा नम्बर ६ हरैया आबास नगरको गेट नजिक प्रेसर कुकर जस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो । दुवै ठाउँका शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ ।
कैलालीमा बजार आंशिक रूपमा खुला रहेका छन् भने अटो, मोटरसाइकल चलेको छ । विद्यालयहरू पनि बन्द रहेका छन् । मंगलबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले नेपाल बन्दको घोषणा गरेका थिए ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज देशव्यापी बन्दको घोषणा गरेको थियो । सरकारसँग वि.सं.२०७७ फागुन २० गते भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग गर्दै बन्दको घोषणा गरिएकाे हाे ।
नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका हुन् । बन्दको प्रभाव खासै नदेखिएपनि देशका अन्य विभिन्न भूभागमा भने सवारीसाधन तोडफोड र शंकास्पद वस्तु फेला परेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया