नागरिक लगानी कोषको २७ औं वार्षिक साधारण सभा सम्पन्न

लोकपथ
13
Shares

काठमाडौं । नागरिक लगानी कोषले २७ औं वार्षिक साधारणभा कोष संचालक समितिका अध्यक्ष प्राध्यापक डाक्टर सूर्य बहादुर थापाको अध्यक्षतामा सम्पन्न गरेको छ । सभाले आर्थिक बर्ष २०७७/७८ को आम्दानी बाँडफाँड हिसाब बिवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथी छलफल गरी पारित गरेको छ । यो सँगै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ । सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्राध्यापक डा. थापाले कोषले सञ्चालन गरिरहेको सरकारी, गैर सरकारी एवम् नीजि प्रतिष्ठामा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूतिसहितको बचत कार्यक्रमले समेटने धारणा राखेका छन् ।

उनले कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजनाहरु, पूर्वाधार विकास तथा उत्पादनमुलक क्षेत्रहरु, सहभागीहलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटीहरु एवम् पुँजीबजारको विकास गरी लगानी विविधिकरण गरी प्रतिफल अभिवृिद्ध गर्न सकिने अवसरहरुको बारेमा जोड दिए । उनले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दे समस्या एवम् चुनौतीहरुलाई समाधान गरी लगानीको विविधीकरण गर्दे उत्पादनशील क्षेत्रमा लगानी गरी कोषलाई नाफामुलक बनाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको वस्तुस्थितीबारे जानकारी दिएका थिए । उनले शेयरधनीले राखेको जिज्ञासालाई सम्बोधन गर्दै आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब १७ अर्ब ३२ करोड २२ लाख रुपैँया पुगेको बताए । उक्त अवधिमा कोषले १ खर्व ९४ अर्व ९२ करोड लगानी गरेको छ ।

कोषले कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने तर्फ काम गरिरहेको छ । कोषद्वारा सञ्चालित सम्पूर्ण कार्यक्रममा एनएलके वेभ बेष्ड सफ्टवेयर पूर्ण रुपमा लागु गरिएको छ । साथै, सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा लिने कार्य सम्पन्न भएको छ । नयाँ सफ्टवेयर प्रयोगको लागि आवश्यक उपकरणहरु कोषको प्रणालीमा जडान गरि सकिएको छ ।

यो सँगै कोषमा आबद्ध भएका विभिन्न प्रतिष्ठान, संघ, संगठनहरुबाट रकम संकलन गर्ने कार्य अनलाइन प्रणालीबाट गर्ने व्यवस्था भइसकेको छ । सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा अशोक बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?