केराले बजार नपाएपछि भैँसीलाई कुँडो

खोटाङ । खोटाङका स्थानिय किसानहरु केराले बजार नपाएपछि चिन्तित बनेका छन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका किसान सडक असुविधाका कारण उत्पादन गरेको केरा बिक्री गर्नबाट वञ्चित छन् । 

विजयखर्कको बसेरी ढकालबेँसी क्षेत्रमा पर्याप्त मात्रामा केरा उत्पादन हुन्छ । केराले बजार पाउन सकेको छैन । केरा पकेट क्षेत्रमा नगरपालिकाको  तीन लाख तथा स्थानीयवासीको पाँच लाख बराबरको श्रमदानमा सात हजार बिरुवा रोपिएको छ । त्यहाँ तीन प्लाष्टिक पोखरी निर्माण गरिनाका साथै चिस्यानको समेत व्यवस्था गरिएको छ । 

केरा उत्पादनलाई व्यावसायिक तथा आम्दानीमूलक बनाउन नगरपालिकाबाट पारित भएको कृषि पकेट क्षेत्रको अवधारणाअनुरुप उक्त क्षेत्रलाई केरा पकेट क्षेत्र निर्धारण गरिएको छ । 

स्थानीयरुपमा गठित दुई कृषक समूहको पहलमा सो क्षेत्रलाई गत वैशाखमा केरा उत्पादन पकेट क्षेत्र निर्धारण गरिएको थियो । परम्परागत खेती प्रणालीबाट केरा पर्याप्त उत्पादन हुने सो क्षेत्रमा श्रम र लगानी बढाए उत्पादनमा वृद्धि गर्न सकिने कृषक समूहका अध्यक्ष वाणिबेलास ढुङ्गानाले बताए । 

बजारको अभावमा उत्पादित केरा भैँसीको कुँडो बनाउन प्रयोग गरिँदै आएको छ । बजारकै चिन्ताले कतिपयले केरा खेती घटाउँदै गएका छन् । “चार घण्टा पैदल हिँडेर केरा बिक्री गर्न दिक्तेल बजार पुर्‍याउँछौँ,” ढुङ्गानाले भने । 

विजयखर्कको बसेरीमा पर्याप्त मात्रामा केरा उत्पादन हुन्छ । नगरपालिकाका उपप्रमुख विणादेवी राईको संयोजकत्वमा हालै पकेट क्षेत्रको अनुगमन गरिएको थियो । “केरा बिक्रीका लागि सङ्कलन केन्द्र निर्माणको योजना बनाएका छौँ,” उनले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?