अनुशासन तोड्नेलाई दण्डित नगर्ने हो भने पार्टी कम्युनिष्ट पार्टी जस्तो रहँदैन : प्रचण्ड

लोकपथ
104
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताएका छन् । सोमबार गत स्थानीय निर्वाचनमा पार्टीमाथि अन्तर्घात गर्ने नेताहरुको छानबिन गर्न गठित टंक राई नेतृत्वको समितिको प्रतिवेदन बुझ्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले पार्टीलाई अनुशासनमा चलाउनका लागि समिति गठन गरेर अन्तर्घातको छानबिन गरिएको बताए । उनले राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रो काम गर्नेलाई दण्डित नगर्ने हो भने पार्टी कम्युनिष्ट पार्टी जस्तो नरहने बताए । अध्यक्ष दाहालले पार्टीलाई विधिसम्मत् रुपमा चलाउने पनि बताए । उनले भने, ‘यो कुरा कुनै खास ठाउँमा भएका अनियमितता वा गढबडीहरुलाई सच्याउने कुरासँग मात्रै सम्बन्धित छैन ।

यो पार्टीलाई विधिसम्मत तरिकाले र अनुशासनमा राखेर चलाउने विषयसँग बढी सम्बन्धित छ । त्यसकारण राम्रो गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रो गर्ने, अनुशासन तोड्ने र अराजकतातिर जानेहरुलाई दण्डित गर्ने यो प्रक्रिया अगाडि नबढाउने हो भने कम्युनिष्ट पार्टी, कम्युनिष्ट पार्टी जस्तो रहँदैन । त्यसकारण हाम्रो उद्देश्य पार्टी निर्माण प्रक्रियालाई व्यवस्थित पार्नेसँग सम्बन्धित छ ।’

उनले छानबिन नगरी दोषीलाई कारबाही गर्ने प्रक्रिया अगाडि नबढाइकन पार्टी निर्माण, कम्युनिष्ट आन्दोलन पुनर्गठनको सपना र समाजवादी यात्रा, सम्भव नहुने बताए । उनले पार्टीले समग्र रणनीतिक विषयलाई सैद्धान्तिक रुपले विचार गरेर नै छानबिन समिति बनाएको बताए ।

उनले छानबिन समितिले विभिन्न नेता कार्यकर्तालाई निलम्बन, निष्काशन र चेतावनी दिनुपर्ने निष्कर्ष निकालेको भन्दै प्रतिवेदनको सम्बन्धमा पार्टीको पदाधिकारी र स्थायी कमिटी बैठकमा छलफल गरेर आवश्यक कारबाही गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?