सत्तारुढ गठबन्धनकाे बैठक बस्नुअघि प्रचण्ड र माधवबीच भेटवार्ता

लोकपथ
143
Shares
file photo

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्नुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सत्तारुढ गठबन्धनको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ३ बजे गठबन्धन बैठक बस्न लागेको हो ।

सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो बनिरहेका बेला प्रचण्ड र नेपालबीच हात्तिवनस्थित एक अपार्टमेन्टमा भेटवार्ता भएको हो । दुई दलका शीर्ष नेताबीच भेटवार्तामा गठबन्धनमा आफ्नो पार्टीले दाबी गर्ने सिट र चुनाव लड्ने नेताहरुका बारेमा कुराकानी भएको बुझिएको छ । साथै वाम एकताका लागि एकता संयोजन समिति बनाउने विषयमा समेत नेताहरुबीच कुराकानी भएको बुझिएको छ ।

यसअघि गएको साउन अन्तिमसम्म सिट बाँडफाँटको विषय टुग्याउन सत्ता गठबन्धनको कार्यदललाई अख्तियारी दिइएपनि निष्कर्ष भएको थिएन । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको थियो ।

निर्वाचनका लागि सिट बाँडफाँट र तालमेलको मोडालिटी तय गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलले भदौ पहिलो साता प्रतिवेदन तयार गरेर शीर्ष नेतालाई बुझाउने भनेपनि सहमति जुट्न नसक्दा सिट बाँडफाँट पेचिलो बन्दै आएको छ । स्रोतका अनुसार तोकेको समयमा कार्यदलले प्रतिवेदन तयार पार्न नसकेपछि थप एक साता समय माग्ने तयारी कार्यदलको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?