को- को परे समानुपातिकमा ?

काठमाडौँ, ३१ असोज- समानुपातिक सांसदका लागि हतारमा सूची बुझाएका दलहरूले अधिकांश नाम फेरबदल गर्दै निर्वाचन आयोगमा बुझाउने भएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्रसहित प्राय: सबै दलले बुझाएको सूची ‘डमी’ मात्र भएको नेताहरूले प्रतिक्रिया दिएका छन्  ।एमालेको ११ जना स्थायी समितिका सदस्यमध्ये ५ जना समानुपातिकतर्फ उम्मेदवार भएका छन् । आयोगमा आइतबार बुझाइएको समानुपातिक सूचीमा स्थायी समिति सदस्यहरू मुकुन्द न्यौपाने, अमृत बोहरा, डा. पुष्प कँडेल, सोमनाथ प्यासी र केशव बडाल रहेको पार्टी स्रोतले जनायो । अन्य नाम बुझाइए पनि स्थायी समितिले पास नगरेकाले व्यापक फेरबदल हुने भएको छ ।कांग्रेसका शीर्षदेखि अधिकांश केन्द्रीयस्तरका नेता प्रत्यक्षबाटै चुनाव लड्ने भएका छन् । कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहित अधिकांश केन्द्रीय सदस्य प्रत्यक्षमा लड्दै छन् । यसअघि समानुपातिकबाट उम्मेदवार रहेकाहरू पनि धेरैजसो प्रत्यक्षमै चुनाव लड्ने भएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिले अपवादबाहेक यसअघिका समानुपातिक सांसदलाई उम्मेदवार नबनाउने निर्णय लिएको थियो । यस्तो अपवादमा धेरैजसो महिला नेत्री परेका छन् ।कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने यसपटक समानुपातिक उम्मेदवारमा छन् । कांग्रेसमा यसअघि रुपन्देही ३ बाट झिनो मतले चुनाव जितेका बालकृष्ण खाँड यसपटक समानुपातिक उम्मेदवारमा छन् । आफू चुनाव हाँक्नका लागि समानुपातिकमा बसेको खाँडले बताए । पार्टी कोषाध्यक्ष सीतादेवी यादवसमेत यसपटक समानुपातिकमा छिन् । उनी सिरहा ३ बाट यसअघि निर्वाचित थिइन् । केन्द्रीय सदस्य सुजाता कोइराला, महालक्ष्मी उपाध्याय डिना यसपटक पनि समानुपातिकमै परेका छन् ।केन्द्रीय सदस्यहरू कुलबहादुर गुरुङ, दिलेन्द्र बडु, किशोर राठौर, बहादुर लामा, पार्वती डीसी चौधरी, मानबहादुर विश्वकर्मा, सीता गुरुङ, पुष्पा भुसाल, लक्ष्मी परियार र सुजाता परियार पनि समानुपातिकमा छन् । राष्ट्रिय जनता पार्टीले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नाम एक नम्बरमै राखेर समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । राजपका ६ जना अध्यक्षहरूमा ठाकुरको नाम मात्र प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीमा समेटिएको छ । संघीय समाजवादी फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र उपाध्यक्ष रेणु यादवसहितका केही वरिष्ठ नेतालाई समानुपातिकको सूचीमा राखेको खबर कान्तिपुरमा छापिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?