महोत्तरीमा झाडापखालाबाट थप एकको मृत्यु

बर्दिबास । महोत्तरीको जलेश्वर नगरपालिकामा झाडापखालाबाट थप एक जनाको मृत्यु भएको छ । 

जलेश्वर नगरपालिका–१२ नैन्हीमा तीन सातादेखि फैलिएको झाडापखालाको कारण ६० वर्षीया आइसा खातुनको मृत्यु भएको हो । 

यो सँगै महोत्तरीमा झाडापखालाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि चार वर्षीया बालिकाको मृत्यु भएको थियोे ।

महोत्तरीको गाउँमा सञ्चालित शिविरमा उपचारका लागि ल्याएको खाइसा खातुनको उपचार सम्भव नभएपछि आइतवार अञ्चल अस्पतालमा लगिएको थियो । 

अञ्चल अस्पताल लगिएको खातुनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सन्तोष कुमार ठाकुरले जानकारी दिए ।

मोहत्तरीमा तीन सातादेखि झाडापखाला फैलिएको छ । झाडापखाला नियन्त्रणमा आउन सकेको छैन । झाडापखालाबाट बस्ती नै प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?