निर्वाचन पद्धतिबारे विश्वास अभिवृद्धि गराउन प्रमुख आयुक्त थपलियाको आग्रह

लोकपथ
52
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद्धतिबारे मतदाताको विश्वास अभिवृद्धि गराउन र मतदानमा आम सहभागिता बढाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा निर्वाचन विषय हेर्ने पत्रकारसँग आइतबार आयोगले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रमुख आयुक्त थपलियाले लोकतन्त्रको जीवन्त पक्ष नै आवधिक निर्वाचन भएकाले यसबारे नियमित बहस र सम्प्रेषण गराउन आग्रह गरे ।

उनले संवैधानिक व्यवस्थाअनुसार विद्यमान निर्वाचन प्रणालीमा दलले नै उम्मेदवारी दिने र उसैले जित्ने तथा हार्ने कुरालाई स्थापित गर्नुपर्ने बताए । प्रमुख आयुक्त थपलियाले जसरी पनि जित्नै पर्छ भनेर गलत हर्कत गर्ने अभ्यास स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि उपयुक्त नहुने उल्लेख गर्दै गत स्थानीय तहको निर्वाचनमा मतदाता नामावली, बदर मत, मतपत्रको ढाँचा आदि विषयमा देखिएका कतिपय कमजोरीबाट यस पटकको निर्वाचनमा पाठ सिकिने जनाए ।

उनले आउँदो निर्वाचनमा एकीकृत सूचना प्रवाहको संयन्त्र खडा गरिने तथा मतदानका दिन सवारी साधनको आवागमनलाई आवश्यकतानुसार खुकुलो बनाइने स्पष्ट पारे । सबै निर्वाचन आयुक्त र आयोगका सचिव सहभागि कार्यक्रममा पत्रकारले सूचना व्यवस्थापन र प्रवाहको प्रणालीलाई अझ व्यवस्थित, एकीकृत र छिटो छरितो एवं आधिकारिक बनाउन सुझाव दिएका थिए ।

कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्सिर ४ गते हुने निर्वाचनको तयारी र व्यवस्थापनबारे तथा सञ्चार विज्ञ किरण चापागाईँले गलत सूचना, दुष्प्रचार र निर्वाचनबारे प्रस्तुतीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?