गिरीको निधनमा कांग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

लोकपथ
208
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनको शोकमा कांग्रेसले तीनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र श्रद्धान्जली बाहेकका अरु कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

भोलि सोमबार केन्द्र र मातहतका सबै कार्यालय बन्द हुनेछ भने, १३ दिनसम्म कार्यालयहरुमा शोक पुस्तिका राख्ने कांग्रेसले जनाएको छ । १६ गते केन्द्र र सबै जिल्लामा शोक सभा गर्ने कांग्रेसको निर्णय छ । कांग्रेस सांसद गिरीको शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको थियो । बैठकले गिरीको निधनमा शोक प्रस्तावसमेत पारित गरेको छ ।समाजवादी चिन्तक गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९.३० बजे निधन भएको हो ।

गिरीको पार्थिव शरीरलाई आज बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा र बिहान ११.३० बजेदेखि दिउँसो २.०० बजेसम्म कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने पार्टी कार्यालयले जनाएको छ ।

यसपछि उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उनलाई गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?