बिस्कुट खुवाएर लुट्ने एक युवा पक्राउ

लोकपथ
182
Shares

काठमाडौं । धनमाल चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई समातेको छ । सार्वजनिक सवारी साधनमासँगै यात्रा गरिरहेका यात्रुलाई बिस्कुट खान दिएर बेहोस बनाउने र चोरी गर्ने गरेको भन्दै सिन्धुपाल्चोककाे लिशंखुपाखर गाउँपालिका वडा नं. ७ का एक युवालाई पक्राउ गरेको हो ।

प्रकाउ पर्नेमा ४९ वर्षीय राम बहादुर परियार रहेका छन् । उनलाई आज (शुक्रवार) बिहान करिब साढे ६ बजेको समयमा काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुङ्गा चेकप्वाइन्टमा प्रहरी टोलीले सवारी साधन तथा यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा पक्रेको हो ।

पोखराबाट काठमाण्डौतर्फ आउँदै गरेको ग. १ ख. ९७१५ नम्बरको यात्रु बाहक बसको साइड (ए) को ७ नम्बर सिटमा सवार भएका परियारले आफूसँगै सिटमा सवार पर्बत चित्रे भञ्ज्याङ गाउँपालीका २ बस्ने बर्ष ४८ वर्षीय कमलार्से गुरुङलाई बिष्कुटमा स्लिपिङ्ग ट्याबलेट मिसाएर खुवाई बेहोस बनाएको र धनामाल चोरी गरेको अवस्थामा प्रहरीले पक्रेको हो ।

परियारबाट प्रहरीले ओरिओ बिष्कुट आधा खाएको अबस्थाको तीन प्याकेट, चालु अवस्थाको हाते घडी चार थान, पर्स दुई थान, एटीएम कार्ड दुई थान, १४ हजार ५ सय २० रुपैयाँ नगद, सुनचाँदी पसलको बिल दुई थान, चार वटा मोबाइल, एक थान पावर बैंक, सिम कार्ड चार थान र स्लिपिङ ट्याब्लेट (५ ट्याब्लेटसहित) को पत्ता दुई थान बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक दिनेश राज मैनालीले जानकारी दिए ।

हाल घटनाको सम्बन्धमा परियार उपर मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–२० को “चोरी तथा डाँका सम्बन्धी कसूर” मा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको मैनालीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?