चर्चित अनुहार : ०७४ ले रोक्यो, ०७९ ले के गर्ला ?

प्रकाश पुडासैनी

यतिबेला नेपाली राजनीतिक वृत्तमा निर्वाचनको चटारोले छोपिसकेको छ । केही राजनीतिक दल गठबन्धनभित्रको तालमेल मिलाउन व्यस्त छन् भने केही पार्टी कहाँ कसलाई उम्मेदवार बनाउने भन्ने दौडधुपमा लागिरहेका छन् । उसो त मंसिर ४ गतेको प्रतिनिधि/प्रदेश सभा निर्वाचन निकै रोचक हुने देखिन्छ ।

यो सँगै राजनीतिक वातावरणमा उम्मेदवारहरुको आँकलनका हावासमेत चल्न थालिसकेको छ । २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्र र एमालेबीचको बाम गठबन्धनले यतिबेला सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस प्रत्यक्षतर्फ २३ सीटमा खुम्चिएको थियो । उसो त कांग्रेस त्यतिबेलाको बदला यतिबेला लिने दाउमा छ । त्यतिमात्र होइन २०७४ को आमनिर्वाचनमा कांग्रेसका शिर्षस्थ नेताहरुले नै पराजय व्यहोरे । साथै, अन्य पार्टीका पनि केही चर्चित अनुहारहरुले पराजित भए । हो, यहाँ तिनै नेताहरुको विगत र भविष्यबारे चर्चा गरिएको छ ।

यी हुन् पराजय व्यहोर्ने चर्चित अनुहार

कांग्रेस :  रामचन्द्र पौडेल, डा. प्रकाशशरण महत, डा. रामशरण महत, अर्जुनरसिंह केसी, विश्वप्रकाश शर्मा, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, सुनिलकुमार शर्मा, महेश आचार्य, रामहरी खतिवडा, विमलेन्द्र निधि, मोहनबहादुर बस्नेत, महालक्ष्मी उपाध्याय(डिना), पूर्णबहादुर खड्का, आरजु राणा देउवा, रमेश लेखक, एनपी साउद, बलबहादुर केसी, गोपालमान श्रेष्ठ

माओवादी केन्द्र : नारायण काजी श्रेष्ठ र झक्कु प्रसाद सुवेदी

राप्रपा प्रजातान्त्रिक : सुनील बहादुर थापा (हाल नेपाली कांग्रेस), पशुपति शमशेर ज.ब.रा, विक्रम पाण्डे र कमल थापा

यस्तो छ पराजित हुनेहरुको नालिबेली

रामचन्द्र पौडेल

नेपालको हरेक राजनीतिक परिवर्तनको साक्षी मात्र नभइ संघर्ष गरेका रामचन्द्र पौडेललाई २०७४ को आम निर्वाचनले नराम्ररी पछार्यो । २०४८ सालदेखि निरन्तर तनहुँबाट प्रतिनित्व गर्दै आइरहेका पौडेल गत निर्वाचनमा ६ हजार ४ सय १४ मतान्तरसहित पराजित भएका थिए । तनहुँ क्षेत्र नं १ मा तत्कालिन बाम गठबन्धनबाट (हाल एकीकृत समाजवादी) का उम्मेदवार किसानकुमार श्रेष्ठले ३४ हजार ४ सय ८९ मत प्राप्त गर्दै विजयी बनेको थिए भने पौडेलले २७ हजार ६ सय ७५ मत ल्याएका थिए । आगामी निर्वाचनमा दुवै (पौडेल र श्रेष्ठ) नेताहरु हालको गठबन्धनमा रहेका कारण गठबन्धनलाई सिट बाँडफाँटमा समस्या पर्ने देखिन्छ । तर, गत स्थानीय निर्वाचनको मत परीणामको आधारमा हेर्ने हो भने यो क्षेत्रमा गठबन्धन बलियो छ । यहाँ वडाध्यक्षहरुले पाएको मतका आधारमा कांग्रेसले ३३ हजार १ सय ६ मत, एमालेले २२ हजार २ सय १०, माओवादीले ८ हजार ४ सय ७४, एकीकृत समाजवादीले ८ सय ९२ मत प्राप्त गरेको छ ।

डा. शेखर कोइराला

२०७४ को निर्वाचनमा पराजित हुने अर्का चर्चित पात्र हुन्– कांग्रेस नेता डा. शेखर कोइराला । तत्कालिन बाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता लालबाबु पण्डितसँग झिनो मतान्तरसहित पराजित भएका थिए । मोरङ क्षेत्र नं ६ बाट उम्मेदवार बनेका कोइरालाले ३३ हजार २६६ मत प्राप्त गरेका थिए, भने पण्डितले ३३ हजार ९ सय ४१ मतसहित जित हासिल गरेका थिए । पहिलोपटक संघीय निर्वाचनमा प्रतिष्पर्धा गरेका कोइरालाको सांसद बन्ने सपनामा तुसारापात भए पनि अब भने उनलाई संसद छिर्न सहज देखिन्छ । जुन कुरा उनको निर्वाचन क्षेत्रमा गत स्थानीय निर्वाचनमा कांग्रेसका वडाध्यक्षले पाएको मत परिणामले पनि पुष्टि गर्छ । मोरङ ६ मा स्थानीय निर्वाचनमा कांग्रेसले २७ हजार ८६, एमाले २४ हजार ५ सय ५६, माओवादी ४ हजार ९ सय ९६, एकीकृत समाजवादीको २ हजार ३ सय ५५ मत रहेको छ ।

कृष्णप्रसाद सिटौला

२०७४ को संसदीय निर्वाचनमा पराजित हुने अर्का चर्चित पात्र हुन्–कृष्णप्रसाद सिटौला । झापा क्षेत्र नं ३ बाट सिटौलाले ३१ हजार १ सय ५९ मत ल्याएर पराजित भएका थिए भने वाम गठबन्धनको समेत समर्थन पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदावर राजेन्द्र लिङ्देनले ४४ हजार ६ सय १४ मत प्राप्त गरेका थिए ।

त्यसबेला सिटौलालाई समानुपातिकको एक नम्बरमा सूचीमा राखिएपनि सिटौला प्रत्यक्ष निर्वाचन लड्न गएका थिए । आगामी निर्वाचनमा पनि सिटौला सोही निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।

डा. रामशरण महत

२०६४ सालमा माओवादीको दबदबा रहेको समयमा समेत तत्कालिन नुवाकोट क्षेत्र नं २ बाट निर्वाचित भएका डा. रामशरण महत २०७४ को निर्वाचनमा पराजित भए । संघीय संरचनापछि नुवाकोट क्षेत्र नं १ बाट निर्वाचन लडेका डा. महत २०७४ को निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका हितबहादुर तामाङसँग पराजित हुन पुगेका थिए । महतले २७ हजार ९ सय २० मत ल्याउँदा तामाङले ३६ हजार ४ सय ७३ मत प्राप्त गरेका थिए । महत र तामाङबीचको मतान्तर ८ हजार र ५५३ मत रहेको थियो । तर, यसपालीको निर्वाचनमा भने महत उठ्ने तयारीमा छैनन् ।

अर्जुनरसिंह केसी

२०७४ को निर्वाचनमा कांग्रेस नेता अर्जुनरसिंह केसी नुवाकोट क्षेत्र नं २ बाट पराजित भए । तत्कालिन बाम गठबन्धनका उम्मेदवार नारायण खतिवडासँग १० हजार मतान्तरसहित पराजित भएका थिए । नेता केसीले २६ हजार ३ सय ३५ मत प्राप्त गरेका थिए, भने उनका प्रतिष्पर्धी नारायणप्रसाद खतिवडाले ३६ हजार ८ सय ९२ मतसहित निर्वाचित भएका थिए । आगामी निर्वाचनको घोषणापछि नेता केसीले सोही क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरेका छन् ।

विश्वप्रकाश शर्मा

पहिलोपटक संसदीय निर्वाचनमा प्रतिष्पर्धा गरेका विश्वप्रकाश शर्मा २०७४को निर्वाचनमा झापा क्षेत्र नं १ बाट पराजित हुन पुगे । तत्कालिन बाम गठबन्धनबाट उम्मेदवार बनेका राम कार्कीको नामबाट परिचित सुरेन्द्रकुमार कार्कीसँग थोरै मतान्तरसहित पराजित भएका हुन् । कार्कीले ३६ हजार १ सय ७३ मत ल्याउँदा शर्माले ३३ हजार ३ सय १० मत ल्याउँदै पराजित भएका थिए । कांग्रेस महामन्त्रीसमेत रहेका शर्मा आगामी निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचन लड्ने तयारीमा छन् । दुवै नेताहरु हाल एकै गठबन्धनमा भएका कारण गठबन्धनलाई सीट बाँडफाँटमा समस्या पर्ने देखिन्छ ।

विमलेन्द्र निधि

तत्कालिन कांग्रेस पार्टी उपसभापति समेत रहेका विमलेन्द्र निधि २०७४ को संसदीय निर्वाचनमा पराजित हुन पुगे । तत्कालिन राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेका राजेन्द्र महतोसँग २ हजार ३ मतान्तरसहित निधि पराजित भएका हुन् । निधिले २७ हजार ८ सय २८ मत प्राप्त गरेका थिए । भने महतोले ३० हजार ७ सय ४२ मत प्राप्त गरेका थिए । राजपाका महतोलाई तत्कालिन बाम गठबन्धनको समेत साथ रहेका कारण निधि पराजित भएका हुन् ।

पूर्णबहादुर खड्का

२०७४ सालको संसदीय निर्वाचनमा पराजय भोग्ने अर्को चर्चित अनुहार हो– पूर्णबहादुर खड्का । तत्कालिन समयमा कांग्रेस महामन्त्री रहेका खड्का हाल पार्टीका उपसभापति हुन् । खड्का अघिल्लो चुनावमा एमालेका ध्रुवकुमार शाहीसँग पराजित हुन पुगे । सुर्खेत क्षेत्र नम्बर १ मा शाही ३६ हजार ७ सय ६९ मतका साथ निर्वाचित हुँदा खड्काले ३३ हजार ३ सय ७७ मत ल्याएका थिए । यसरी हेर्दा खड्का र शाहीबीचको मतान्तर ३ हजार ३ सय ८२ देखिन्छ ।

डा. प्रकाशशरण महत

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको खास पात्र हुन्– प्रकाशशरण महत । तर, २०७४ सालको निर्वाचनमा भने महतले आफ्नो जितलाई जोगाउन सकेनन् । महतले ०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचन पराजय भोगे । तत्कालिन बाम गठबन्धनका उम्मेदवार ईश्वर पोखरेलसँग निर्वाचनमा महतले ९ हजार ८ सय ६० मतान्तरले पराजित भए । पोखरेलले २३ हजार २९ मत ल्याउँदा महतले १३ हजार १ सय ६९ मत प्राप्त गरेका थिए । महत आगामी निर्वाचनमा पनि काठमाडौंको सोही क्षेत्र वा आफ्नो गृह जिल्ला नुवाकोट मध्ये एक ठाउँबाट निर्वाचन लड्ने तयारी गरिरहेका छन् । निर्वाचन होस् वा पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भए पनि महतलाई सभापति देउवाले सधैं जिम्मेवार पदमा राख्ने गरेका छन् ।

प्रदीप पौडेल

२०७४ को निर्वाचनमा पराजित हुनेमध्येका अर्का चर्चित व्यक्ति हुन् नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेल । अघिल्लो निर्वाचनमा तनहुँ क्षेत्र नं २ ९क० बाट थोरै मतले पराजित भएका थिए पौडेल । धेरै आशा गरिएका र निर्वाचनमा सबैको केन्दबिन्दुमा परेका पौडेल ५ मतले पराजित भएका थिए । पौडेल तत्कालिन बाम गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादीकी आशा कोइरालासँग पराजित भएका थिए । कोइरालाले १६ हजार ६ सय ४६ मत ल्याएकी थिइन् भने पौडेलले १६ हजार ६ सय ४१ मत प्राप्त गरेका थिए । सो क्षेत्रमा ४२ मत फर्जी भेटिएपछि पौडेलले पुनः निर्वाचनको माग गर्दै सर्वोच्चमा रिट समेत दायर गरेका थिए । तर आगामी निर्वाचनमा नेता पौडेल तनहुँबाट प्रतिनिधिसभामा लड्ने तयारीमा रहेका छन् । २०७४ को निर्वाचनमा पराजयपश्चात नेता पौडेल आगामी निर्वाचनको तयारीमा लागेका थिए । त्यसैगरी गत मंसिरमा सम्पन्न नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीका उम्मेदवार समेत बनेका थिए पौडेल । विद्यार्थी संगठनदेखि पार्टीका विभिन्न जिम्मेवारीमा काम गरेर आएका पौडेल आगामी निर्वाचन मार्फत संघीय निर्वाचनमा लड्नुपर्ने चर्चा कांग्रेसमा चल्न थालेको छ ।

मोहनबहादुर बस्नेत

२०७४ को संसदीय निर्वाचनमा पराजित हुने अर्का पात्र हुन्– सिन्धुपाल्चोक १ का मोहनबहादुर बस्नेत । उनी सभामुख अग्निप्रसाद सापकोटासँग पराजित भएका थिए । तत्कालिन बाम गठबन्धनबाट उम्मेदवार बनेका सापकोटाले बस्नेतलाई १० हजार ७ सय ६ मतान्तरसहित पराजित गरेका थिए । सिन्धुपाल्चोक–१ बाट सापकोटा ४० हजार ५ सय ९ मत ल्याएका थिए भने बस्नेतले २९ हजार ७ सय ९८ मत पाए । हाल दुवै नेताहरु गठबन्धनमा रहेका कारण सो क्षेत्रमा सिट बाँडफाँटमा सकस पर्ने देखिन्छ ।

आरजु राणा देउवा

अघिल्लो निर्वाचनमा पराजित हुने चर्चित नेतामा आरजु राणा देउवाको नाम नआउने त कुरै भएन । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी आरजु कैलाली क्षेत्र नम्बर ५ मा बाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका नारदमुनी रानासँग पराजित भएकी हुन् । रानाले २७ हजार २ सय २ मतका साथ निर्वाचित हुँदा राणाले २२ हजार ३ सय २२ मत पाएकी थिइन् । आगामी निर्वाचनमा आरजु सोही क्षेत्रबाट निर्वाचन लड्ने तयारीमा छिन् ।

रमेश लेखक

२०७४ को निर्वाचनमा कांग्रेसबाट निर्वाचनमा पराजित हुने अर्का पात्र हुन् रमेश लेखक । कन्चनपुर क्षेत्र नम्बर ३ मा लेखक झिनो मतान्तरले पराजित भएका थिए । एमालेका दीपक प्रकाश भट्ट २६ हजार ३ सय ६४ मतका साथ निर्वाचित हुँदा लेखकले २६ हजार १ सय ६ मत पाएका थिए । उनीहरुबीचको मतान्तर २ सय ५८ मात्रै रहेको छ । लेखक यसपाली पनि सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने तयारीमा छन् ।

महेश आचार्य

सफल अर्थमन्त्रीको रुपमा पहिचान बनाएका कांग्रेस नेता महेश आचार्य २०७४ को संसदीय निर्वाचनमा पराजित भए । दुईपटक अर्थमन्त्री भएका आचार्य २०७४ सालको संसदीय निर्वाचनमा माओवादी केन्द्रका अमनलाल मोदीसँग पराजित भएका हुन् । मोदीसँग उनी ६ हजार ७२९ मतान्तरले पराजित भएका हुन् । मोदी र आचार्य एकै क्षेत्रबाट प्रतिनिधित्व गर्ने हुँदा टिकट वितरणमा भने समस्या देखिएका छ ।

महालक्ष्मी उपाध्याय (डिना)

०७४ को निर्वाचनमा पराजित हुने अर्को चर्चित अनुहार हो – कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय(डिना) । डिना तत्कालिन बाम गठबन्धनका उम्मेदवार एमालेका विरोध खतिवडासँग पराजित भएकी थिइन् । मकवानपुर–२ मा खतिवडा ४६ हजार ४ सय ८१ मतका साथ निर्वाचित हुँदा उपाध्यायले ३४ हजार ९० मत पाएकी थिइन् । यसरी हेर्दा उनीहरुबीचको अन्तर १२ हजार ३ सय ९१ देखिन्छ । तत्कालिन समयमा एमालेमा भए पनि खतिवडा हाल गठबन्धनमा आवद्ध दल नेकपा एकृकीत समाजवादीमा रहेकाछन् । यसरी दुवै नेताहरु एकै क्षेत्रबाट प्रतिनिधित्व गर्ने हुँदा गठबन्धनलाई सिट बाँडफाँटमा सकस पर्ने देखिन्छ ।

गोपालमान श्रेष्ठ

०७४ को निर्वाचनमा पराजित हुने अर्का व्यक्ति हुन् नेपाली कांग्रेसका गोपालमान श्रेष्ठ । तत्कालिन समयमा श्रेष्ठ बाम गठबन्धनबाट उम्मेदवार बनेकी एमालेकी पद्मा अर्यालसँग ३ हजार ७ सय ६ मतान्तरले पराजित भएका हुन् । अर्यालले ३५ हजार १ सय ४२ मत ल्याएकी थिइन् भने श्रेष्ठले ३१ हजार ४ सय ३६ मतसहित पराजित भएका थिए ।

रामहरि खतिवडा

२०७४ को संसदीय निर्वाचनमा बाम गठडबन्धनसँग पराजित हुने अर्का पात्र हुन् कांग्रेसका– रामहरि खतिवडा । ओखलढुंगा क्षेत्र नम्बर १ मा कांग्रेसबाट उम्मेदवार बनेका खतिवडालाई एमालेका यज्ञराज सुनुवारले पराजित गरेका थिए । सुनुवारले ३२ हजार ५ सय ८० मत ल्याउँदा खतिवडाले २७ हजार ३ सय २७ मत पाएका थिए । यसरी हेर्दा उनीहरुबीचको मतान्तर ५ हजार २ सय ५३ देखिन्छ । आगामी निर्वाचनमा पनि खतिवडा सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।

सुनिलकुमार शर्मा

२०७४ को संघीय निर्वाचनमा पराजित हुने अर्का चर्चित पात्र हुन् नेपाली कांग्रेसका उम्मेदवार शुनिल कुमार शर्मा । विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल र काठमाडौं सिनामंगलस्थित काठमाडौं मोडल अस्पतालका सञ्चालकसमेत रहेका शर्मा मोरङ क्षेत्र नम्बर ३ मा एमालेका भानुभक्त ढकालसँग पराजित भएका थिए ।

शर्मा ढकालसँग एक हजार ९०७ मतान्तरले पराजित भएका हुन् । ढकालले ४२ हजार ४ सय १३ ल्याएर विजयी हुँदा शर्माले ४० हजार ५०७ मत प्राप्त गरेका थिए । आगामी निर्वाचनमा शर्मा र ढकाल दुवैबीच प्रतिष्पर्धा हुने देखिन्छ ।

नारायणप्रकाश साउद (एनपी)

०७४ को निर्वाचनमा पराजित हुने कांग्रेसका अर्का नेता हुन्– एनपी साउद । साउद अघिल्लो निर्वाचनमा कन्चनपुर क्षेत्र नं २ बाट तत्कालिन बाम गठबन्धनका उम्मेदवार नरबहादुर धामीसँग पराजित भएका हुन् । धामीले ३३ हजार २ सय २० मत ल्याउँदा साउदले २४ हजार ८ सय ९३ मत प्राप्त गरेका थिए ।

बलबहादुर केसी

२०७४ सालको निर्वाचनमा पराजित हुनेमध्येका अर्का कांग्रेस नेता हुन् बलबहादुर केसी । केसी अघिल्लो निर्वाचनमा सोलुखुम्बु क्षेत्र नं १ बाट बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका होमकुमार राइसँग पराजित भएका हुन् । केसीले १७ हजार २ सय ९४ मत प्राप्त गरेका थिए । भने राईले २० हजार ७ सय ४७ मत प्राप्त गरेका थिए ।

नारायणकाजी श्रेष्ठ

२०७४ को निर्वाचनमा बाम गठबन्धनको साथ भए पनि माओवादी केन्द्रबाट पराजित हुने पात्र हुन्– नारायणकाजी श्रेष्ठ । तत्कालिन समयमा तत्कालिन नयाँ शक्तिका संयोजक रहेका डा. बाबुराम भट्टराईसँग ६ हजार ८ सय ७४ मतसहित पराजित भएका थिए । गोरखा क्षेत्र नं २ बाट भट्टराईले ३१ हजार ८ सय ७ मत प्राप्त गर्दा र श्रेष्ठले २४ हजार ९ सय ३३ मतमै सिमित भए । प्रतिनिधिसभामा हारे पनि तत्कालिन नेकपाले श्रेष्ठलाई राष्ट्रिय सभा सदस्य बनाएको थियो । अब यो क्षेत्रमा बाबुरामले माओवादीकै चुनाव चिन्हबाट निर्वाचन लड्ने लगभग सहमति भइसकेको छ ।

झक्कुप्रसाद सुवेदी

त्यस्तै गत निर्वाचनमा पराजित हुने माओवादीका अर्काे चर्चित अनुहार हो– झक्कुप्रसाद सुवेदी । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं २ बाट एमालेका तत्कालिन महासचिव माधव नेपाललाई फराकिलो मतान्तरले पराजित गरेका थिए ।
तर, तिनै सुवेदी २०७४ को निर्वचनमा हालको काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेसका भिमसेन दास प्रधानसँग १ हजार ३ सय मतान्तरले पराजित हुन पुगे । प्रधानले १६ हजार ७८५ मत पाउँदा सुवेदीले १५ हजार ४ सय ८५ मत पाएका थिए ।

बामदेव गौतम

२०७४ को संघीय निर्वाचनमा बाम गठबन्धनको साथ भए पनि पराजित हुने पात्र हुन्–बामदेव गौतम । अघिल्लो निर्वाचनमा गौतम बर्दियाको क्षेत्र नम्बर १ मा कांग्रेसका संजय कुमार गौतमसँग पराजित भएका थिए । सो निर्वाचनमा सञ्जयले ४४ हजार ८ सय २९ मतका साथ निर्वाचित हुँदा बामदेवले ४४ हजार ७६ मत प्राप्त गरेका थिए । प्रतिनिधि सभामा हारेका गौतमलाई २०७७ साल असोज १ गते राष्ट्रिय सभा सदस्यमा मनोनित गरिएको थियो । हाल नेकपा राष्ट्रिय एकता अभियान नाम दल दर्ता गराएका गौतमको पार्टीले माओवादीको हँसिया हथौडाबाट निर्वाचन लड्दैछ । गौतम यसपाली प्यूठानबाट निर्वाचन लड्ने तयारीमा छन् ।

रवीन्द्र मिश्र

पत्रकारिता छोडेर वैकल्पिक राजनीति भन्दै राजनीतिमा होमिएका रवीन्द्र मिश्र २०७४ को निर्वाचनका लागि सबैको चासोका साथ हेरिएका पात्र थिए । छोटो समयमा नै जनताको मनमा बस्न सफल भएका उनले निर्वाचन भने जित्न सकेनन् । काठमाडौं क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका मिश्र झिनो मतान्तरले कांग्रेसका प्रकाशमान सिंहसँग पराजित हुन पुगे । सिंहले १० हजार ९३६ मतका साथ निर्वाचित हुँदा मिश्रले १० हजार ११८ मत पाए । उनी ८१८ मतान्तरले पराजित हुन पुगेका हुन् ।

कमल थापा

२०७४ को निर्वाचनमा पराजित हुने अर्को चर्चित अनुहार हो – कमल थापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तत्कालिन अध्यक्ष समेत रहेका थापा मकवानपुर–१ मा एमालेका कृष्णप्रसाद दाहालसँग ५ हजार ९७३ मतान्तरले पराजित भएका थिए ।
दाहालले ४० हजार ६ सय ३१ मत पाउँदा थापाले ३४ हजार ६ सय ५८ मत पाएका थिए । हाल पुनः एक भएको राप्रपाबाट राजीनामा दिएर राप्रपा नेपाल गठन गरेका थापा आगामी निर्वाचनको तयारीमा रहेका छन् ।

विक्रम पाण्डे

२०७४ को आम निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” लाई टक्कर दिएर चर्चामा रहेका पात्र हुन् तात्कालिन राप्रपा (प्रजातान्तिक)का विक्रम पाण्डे । यद्यपि, उनको नाम पराजयको सूचीमा लेखियो ।
चितवन–३ बाट निर्वाचनमा होमिएका पाण्डे प्रचण्डसँग ९ हजार ३ सय ४१ मतान्तरले पराजित भएका थिए । पूर्वमन्त्री समेत रहेका पाण्डेले ३८ हजार ९३५ मत पाउँदा प्रचण्डले ४८ हजार २ सय ७६ मत पाएका थिए । आगामी निर्वाचनमा प्रचण्ड सोही क्षेत्रबाट निर्वाचन लड्ने तयारीमा छन् । भने, पाण्डे पनि सोही क्षेत्रबाट निर्वाचन लड्ने तयारीमा रहेको बुझिएको छ ।

सुनिलबहादुर थापा

२०७४ को निर्वाचनमा पराजित हुने चर्चित अनुहार तत्कालिन राप्रपा प्रजातान्त्रिक नेता हुन्– सुनिल बहादुर थापा । अघिल्लो निर्वाचनमा धनकुटा क्षेत्र नं १ बाट थापा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईसँग पराजित भएका थिए । राईले ३७ हजार ३ सय ३३ मत प्राप्त गरेका थिए भने, पराजित थापाले २६ हजार ८ सय ७४ मतमै सिमित भए । थापा हाल नेपाली कांग्रेसमा छन् । आगामी निर्वाचनमा कांग्रेसले सोही क्षेत्रबाट टिकट दिने तयारी गरेको छ ।

पशुपति शमशेर जबरा

२०७४ को निर्वाचनमा पराजित हुने अर्का चर्चित पात्र हुन्– राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपति शमशेर जबरा । अघिल्लो निर्वाचनमा जबरा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट बाम गठबन्धनका उम्मेदवार एमालेका शेरबहादुर तामाङसँग पराजित भएका थिए । नेपाली कांग्रेसको समेत साथ र समर्थनमा निर्वाचनमा होमिएका राणाले ३० हजार ३ सय ८९ मत प्राप्त गरेका थिए भने तामाङ ३८ हजार ४ सय १ मतसहित निर्वाचन विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?