वैदेशिक रोजगारीमा गएका १ हजार ४७९ जनाले गुमाए ज्यान

लोकपथ
130
Shares

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीमा जानेहरुमध्ये अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ । वैदेशिक रोजगार बाेर्डका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएकामध्ये १ हजार ४७९ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको एकैवर्ष यति धेरैको मृत्यु यसअघि भएको थिएन ।

यसअघि अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा ठूलो संख्यामा नेपालीको मृत्यु विदेशी भूमीमा भएको थियो । सो वर्ष वैदेशिक रोजगारीमा गएकाहरुमध्ये १ हजार २४३ जनाले ज्यान गुमाएको बाेर्डले जनाएको छ । त्यसभन्दा अघि आर्थिक वर्ष २०७१/७२ मा वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढीको मृत्यु भएको थियो । उक्त वर्ष १ हजार ६ जना नेपाली कामदारको मृत्यु खाडी राष्ट्र तथा मलेसियामा भएको थियो ।

पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरुमध्ये १० हजार ९३२ जनाको मृत्यु भएको बाेर्डले जनाएको छ । सो अवधिमा ५० लाख ८३३ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशका पुगेका थिए । गत आर्थिक वर्ष २०७८/७९ मा हालसम्मकै सबैभन्दा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । विभागका अनुसार गत आर्थिक वर्ष ६ लाख ३० हजार ९७ जना श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?