चुनावमा होमियो एमाले : चुनावी घोषणा पत्रको मस्यौदा तयार पार्दै

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन् ।

पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख समेत रहेका सचिव भट्टराईले संघ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले आगामी निर्वाचनको तयारी गरिरहेको बताए । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनका लागि आफ्नो पार्टीले जनताको आकांक्षा अनुरुपको घोषणा पत्र निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

त्यसका लागि पार्टीका सबै विभागहरुले विज्ञहरुसँग छलफल गरेर सो घोषणा पत्रको मस्यौदा तयार पार्ने योजना अनुसार काम भईरहेको पनि सचिव भट्टराईले जानकारी दिए । उनले पार्टीले तयार पार्ने चुनावी घोषणा पत्र मुलुकमा विद्यमान आजको चुनौतिहरुलाई सामना गर्न सक्ने, जनपक्षीय र नेपालको राष्ट्रिय हितलाई सम्वोधन गर्न सक्ने खालको हुने पनि बताए ।

सचिव भट्टराईले भने, ‘नेकपा एमाले, जोसँग विगतमा सरकार संचालन गरिसकेको अनुभव छ । र, आउने दिनमा पनि नेकपा एमाले बहुमत ल्याएर प्रदेश र संघको सरकार संचालन गर्ने त्यो आकांक्षाका साथ हामी चुनावमा जाँदैछौं । त्यसो हुँदा हाम्रो घोषणा पत्र बढि व्यवहारिक, बढि उपयोगी, गर्न सकिने अनावश्यक पपुलारिटीको हिसाबले होइन्, एउटा राजनीतिक दलको हिसाबले भोली गर्न सकिने मुद्धाहरुमा केन्द्रित हुँदै व्यवहारिक मुद्धाहरुमा केन्द्रित हुँदै र विश्वव्यापी हाम्रा कमिटमेन्टहरुलाई पनि सम्वोधन गर्दै अगाडि जाने घोषणा पत्र हामी बनाउनेछौं ।

उनले विषय विज्ञहरुसँग आवश्यक छलफल गरेर सो घोषणा पत्र तयार गरिने बताए । ‘जनपक्षीय, नेपालको राष्ट्रिय हितलाई सम्बोधन गर्ने, आजका चुनौतिहरुलाई सम्बोधन गर्न सक्ने आज जनताको आकांक्षा अनुरुपको घोषणा पत्र बनाउन आमी सक्षम हुनेछौं । उनले भने’ सचिव भट्टराईले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले आगामी निर्वाचनको लागि बनाउन लागेको घोषणा पत्रको मस्यौंदाका लागि आवश्यक सुझाव दिन पनि विज्ञहरुलाई आग्रह गरे ।

एमालेले पार्टीका सबै विभागलाई यही भाद्र १५ गते भित्र चुनावी घोषणा पत्रका लागि मस्यौदा तयारी पारी पार्टीमा बुझाउन निर्देशन दिएको छ । सोही अनुसार सबै विभागहरुले आफ्नो कामलाई अघि बढाएको पनि सचिव भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?