स्वास्थ्य क्षेत्र सुधारमा दीर्घकालीन योजना बनाउन आवश्यक छ : राष्ट्रपति भण्डारी

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि अल्पकालिन र दीर्घकालीन योजनाहरु बनाउने काममा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेकी छन् ।

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको ६३ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

उनले अस्पतालहरुको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारलाई नियालेर स्वास्थ्य सेवाको विशिष्ट आवश्यकताको पहिचान गरी सोही अनुरुपको जनशक्ति तयार पार्नुपर्ने बताइन् । सो अवसरमा उनले मुलुकसामू विद्यमान चुनौतिको सामना गरेर अघि बढन अस्पतालहरुको अनुभव अति उपयोगी हुने पनि स्पष्ट पारिन् ।

उनले सो अस्पतालको सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने काममा थप सफलता मिल्ने विश्वास समेत व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले सो अस्पतालले बाल मृत्युदर घटाउन समेत उल्लेख्य योगदान दिएको पनि स्मरण गराइन् ।

उनले भनिन्, ‘स्वास्थ्य सेवाको विशिष्ट आवश्यकताको पहिचान गरी सोही अनुरुपको जनशक्ति तयार गर्नु मुलुकको सामू विद्यमान ठूलो चुनौति हो । स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा अल्पकालिन र दीर्घकालीन योजनाहरु निर्माण गर्न अस्पतालको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारबाट महत्वपूर्ण सहयोग प्राप्त हुनेछ । नेपाल सरकारमा सम्वद्ध संस्थाहरुले यसतर्फ आवश्यक पहल र समन्वय गर्न विशेष ध्यान दिने मैले अपेक्षा गरेको छु ।’

उनले अस्पतालको सेवालाई अझ प्रभावकारी र सर्वसुलभ बनाउनका लागि आवश्यक व्यवस्थापकीय एवम् प्राविधिक सुधार गर्दै गुणस्तरीय सेवा प्रदान गर्न सफलता मिल्ने विश्वास व्यक्त गरिन् । कठिन परिस्थितिमा समेत कर्तव्यनिष्ठ भई निरन्तर रुपमा विरामीको सेवामा समर्पित अस्पतलमा कार्यरत सम्पूर्ण डाक्टरहरु, नर्सहरु, स्वास्थ्यकर्मी एवम् कर्मचारीहरुको उत्तरोत्तर प्रगतिको कामना गरिन् ।

राष्ट्रपति भण्डारीले कोभिडको कठिन घडीमा पनि बिरामीहरुको उपचारको काममा कमी हुन नदिएको भन्दै सो अस्पतालका चिकित्सकहरु सहितका स्वाथ्यकर्मीहरुको पनि प्रसंशा गरिन् । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले आम जनताले सेवा पाउने गरी सो अस्पतालको सेवा सबै जिल्ला र प्रदेशहरुमा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेन् । उनले त्यसका लागि सरकारले आवश्यक अत्याधुनिक मेसिनहरु नेपाल भित्र्याउने कामलाई अघि बढाएको पनि बताइन् ।

राज्यमन्त्री केसीले भने, ‘निकट भविष्यमा विश्वमा रहेका अत्याधुनिक मेसिनहरु, औजारहरु भित्र्याउने र सेवा विस्तार गरेर त्यसलाई सर्वसुलभ बनाउने मन्त्रालयले योजना बनाएको छ । आम जनतालाई सो सेवा पाउने गरी सबै जिल्ला र प्रदेशहरुको प्रसुति सेवासहितको अवस्पतालको व्यवस्था गरिनेछ ।’ राज्यमन्त्री केसीले स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन सरकार प्रयासरत रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?